२०८२ माघ २२ गते बिहिवार
रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सवार गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चुनावी प्रचारप्रसारका क्रममा रहेको उम्मेदवार सगिर आलम चढेको गाडीले ठक्कर दिँदा बिहीबार दिउँसो एक बालिकाको ज्यान गएको हो।
मृत्यु हुनेमा इशनाथ नगरपालिका–४ मठिया निवासी ४ वर्षीया बालिका अल्फा खातुन रहेकी छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दिउँसो करिब २:३० बजेको समयमा चुनावी घरदैलोका लागि जाँदै गरेको बा १५ च ४२४४ नम्बरको कारले ती बालिकालाई ठक्कर दिएको थियो। तीव्र गतिमा रहेको भनिएको उक्त सवारीको ठक्करबाट बालिका गम्भीर घाइते भएकी थिइन्।
दुर्घटनालगत्तै चालकले नै घाइते बालिकालाई उपचारका लागि सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल पुर्याएका थिए। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेलगत्तै चालक अस्पताल परिसरबाटै फरार भएका छन्। अस्पताल स्रोतका अनुसार बालिकाको टाउको र शरीरका भित्री भागमा गम्भीर चोट लागेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णुप्रदीप बस्यालले घटनाको पुष्टि गर्दै दोषीको खोजी भइरहेको जानकारी दिए। 'ठक्कर दिने गाडीलाई हामीले नियन्त्रणमा लिएका छौँ,' डिएसपी बस्यालले भने, 'चालक फरार रहेकाले उनको तीव्र खोजी भइरहेको छ। उम्मेदवारसँग पनि यसबारे सोधपुछ गरिनेछ।'
घटनापछि मठिया क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। निर्वाचनका बेला उम्मेदवारहरूले सवारी साधन तीव्र गतिमा चलाउँदा दुर्घटना बढेको भन्दै उनीहरूले दोषीलाई कडा कारबाहीको माग गरेका छन्। रास्वपा उम्मेदवार सगिर आलमले भने यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।
प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखेको छ भने पीडित पक्षले क्षतिपूर्तिको माग राख्दै आन्दोलनको तयारी गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij