२०८२ माघ २२ गते बिहिवार
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताएका छन् । पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममाउनले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दाबी गरेका हुन् ।
देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गरे । उनले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गरे ।
उनले प्रधानमन्त्रीको छनौट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्ने बताए । उनले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको उनको भनाइ छ ।
नयाँ ऊर्जा र जोशसहित अघि बढेको पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर थप सशक्त भएको जानकारी दिए । अध्यक्ष घिसिङका अनुसार दुवै पार्टी जेनजी आन्दोलनको भावना र माग बोकेका पार्टी हुन् । उनले यी दुबै पार्टीहरू भाषण गरेर नभई समाजमा काम गरेर आएको पार्टी भएको बताए । उनले अबको निर्वाचनमा भाषण गर्नेलाई नभई काम गरेर डेलिभरी दिने व्यक्ति र पार्टीलाई मत दिनुपर्ने आवश्यकता औंल्याए । भाषण गरेर देशमा रुपान्तरण नहुने उनको भनाइ छ ।
उनले आफूहरुले विगतमा पनि काम गरेको र आगमी दिनमा पनि गर्ने बताउँदै आफूहरुलाई मतदान गर्न आग्रह समेत गरे ।
उनले भने, ‘उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापित सबैभन्दा नयाँ पार्टी हो । नयाँ उर्जा र जोश लिएर आएको पार्टी हो । उज्यालो नेपाल पार्टीसँग राष्ट्रिय परिवर्तन पार्टी पनि एकता भएको छ । यी दुवै पार्टी जेनजी आन्दोलन पछि स्थापना भएका पार्टी हुन् । राष्ट्रिय परिवर्तन पार्टी जेनजी आन्दोलनका घाइतेहरुको पार्टी हो । दुवै पार्टीले जेनजी आन्दोलनको भावना र मागलाई बोकेको छ । यो पार्टी नै नयाँ हो र यसले नै देशको परिवर्तन गर्छ । हामी काम गरेर, डेलिभरी गरेर आएका मान्छेहरु यो पार्टीमा छौँ । हामी डेलिभरी दिनका लागि आएका हौँ । अबको भोट भनेको डेलिभरि दिनेलाई, काम गर्नेलाई हो, भाषण गर्नेलाई होइन । काम गरेर देखाउने पार्टीलाई, व्यक्तिलाई भोट दिनुपर्छ ।’
उनले थप भने, ‘समाज परिवर्तन गर्नुपर्छ, देशको आर्थिक रुपान्तरण गर्नुपर्छ । हाम्रो पार्टी डेलिभरि दिने पार्टी हो । अरु भनेको भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होइन । डेलिभरी दिएर अर्गानिक रुपमा स्थापित भएको पार्टी हो । हामी छोटो समयमा आएका छौँ । तर यो पार्टीले नै यो देशको नेतृत्व गर्नेछ । प्रधानमन्त्री हामी नै हुन्छौँ । हामी यो देशको नेतृत्व गर्न आएको हो । हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होइन । हामी आफैँ प्रधानमन्त्री बनेर यो देशको परिवर्तन गर्न आएका हौँ । भाषण गरेर मात्रै प्रधानमन्त्री बनिँदैन, कामले प्रधानमन्त्री बनिन्छ, जनताले छानेपछि प्रधानमन्त्री हुने हो ।’
उज्यालो नेपाल पार्टीले मधेस प्रदेशमा घरदैलो अभियान सुरु गरेको छ । अध्यक्ष घिसिङका अनुसार मधेस प्रदेश धेरै जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्वपूर्ण प्रदेश हो, जहाँ पार्टीको सशक्त उपस्थिति रहेको छ । प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उनले धेरै क्षेत्रमा प्रतिष्पर्धामा रहेको र उल्लेखनीय संख्यामा सिट जित्ने दाबी गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij