२०८२ माघ १९ गते सोमवार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत र नायब सुब्बासहित तीनजना कर्मचारीलाई घुस रकम र स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखाका नायब सुब्बा छविप्रसाद रिसाल छन् ।
कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना र उजुरीका आधारमा आयोगको टोलीले उनीहरूलाई डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रूपैयाँ र स्रोत नखुलेको ४० हजार ३५० रूपैयाँ बरामद भएको छ । साथै, उनको साथबाट थप ९६ हजार ७० रूपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ।
त्यस्तै, नायब सुब्बा छवि प्रसाद रिसालको साथबाट घुसवापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी जम्मा ३८ हजार ८४८ रूपैयाँ बरामद भएको छ।
आयोगले उनीहरूको साथबाट स्रोत नखुलेको थप रकमसहित कुल २ लाख ६८ हजार २८८ रूपैयाँ र विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ थान मोबाइल सेटसमेत बरामद गरेको जनाएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नियन्त्रणमा लिइएका तीनै जनामाथि अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij