Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

श्रद्धालुको आस्थाको केन्द्र 'दन्तकाली मन्दिर'

श्रद्धालुको आस्थाको केन्द्र 'दन्तकाली मन्दिर'


  • 477
    Shares

    श्रद्धालुको आस्थाको केन्द्र 'दन्तकाली मन्दिर'

    धरान । धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ । दन्तकाली मन्दिरमा शुद्ध मनले मागेका र चिताएका कुरा पूरा हुने विश्वास रहीआएको छ ।

    पौराणिक महत्त्वको दन्तकाली मन्दिरमा हाल दैनिक रूपमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको मन्दिरका मूलपुजारी विश्वराज खनालले जानकारी दिए । उनका अनुसार पौष शुक्ल पूर्णिमादेखि सुरु भई एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण यस अवधिमा भक्तजनको उल्लेख्य घुइँचो लाग्ने गर्दछ ।

    स्वस्थानी व्रतकथाअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा सहन नसकी यज्ञकुण्डमा हामफालेर प्राण त्याग गरेपछि महादेव शोकाकुल भई सतीदेवीको शव काँधमा बोकेर भौँतारिँदा शरीरका अंग जहाँ–जहाँ पतन भए, त्यहाँ शक्तिपीठ स्थापना भएको विश्वास छ । यही क्रममा विजयपुर पर्वतखण्डमा सतीदेवीको दाँत पतन भएकाले उक्त स्थान दन्तकालीका नामले प्रसिद्ध भएको व्रतकथामा उल्लेख छ ।

    मन्दिरमा असोज, माघ, चैत र असारमा चारवटा नवरात्रमा विधिवत् पूजाअर्चना गरिन्छ । विशेष गरी विजयादशमीको नवरात्रमा घटस्थापनादेखि अष्टमी, नवमी र दशमीसम्म भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यस समयमा पूजा आराधना गर्दा मनोकामना पूरा हुने, रोगव्याधि नास हुने र दुःख हट्ने जनविश्वास छ ।

    दन्तकाली मन्दिरको स्थापना कहिले भयो भन्ने यकिन नभए पनि स्वस्थानी व्रतकथा र पुराणमा उल्लेख भएकाले यसलाई पौराणिक तथा धार्मिकस्थलका रूपमा लिइन्छ । दन्तकाली मन्दिरमा सयौँ वर्षदेखि खनाल थरका पुजारीले पूजा गर्दै आएका छन् । हालका मूलपुजारी विश्वराज खनाल आठौँ पुस्ताका पुजारी हुन् । मन्दिरसँग सम्बन्धित १८६८ सालमा राजा गीर्वाणयुद्धविक्रम शाहबाट प्राप्त ताम्रपत्र र लालमोहर पनि सुरक्षित छ ।

    धरान भ्रमणमा आउने पर्यटकले प्रायः धरानको मुख्य बजार भानुचोकबाट उकालो लागेपछि दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर मन्दिरको दर्शनसँगै विजयपुर डाँडाको अवलोकन गर्ने गरेका छन् । दर्जनौँ मठमन्दिर रहेको विजयपुर डाँडा धार्मिक तथा ऐतिहासिकस्थलका रूपमा परिचित छ ।

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - ०६:४९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij