Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 1.5K
    Shares

    आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. हिमाली क्षेत्रमा फागुन २१ को निर्वाचन ‘नाटक’ मात्रः ओली

    नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ अग्रसर नरहेको आरोप लगाउनुभएको छ । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले एउटा पनि राम्रो काम नगरेको, नराम्रो कामको डंगुर बनेको र फागुन २१ गते घोषित प्रतिनिधि सभा निर्वाचन उच्च हिमाली तथा पहाडी क्षेत्रमा व्यावहारिक नभएको आरोप लगाउनु भयो । उहाँले निर्वाचनको मिति तोकिए पनि यसको व्यावहारिकता शंकास्पद रहेको बताउनु भयो । अध्यक्ष ओलीले शहरी क्षेत्रमा जस्तो हिमाली तथा पहाडी क्षेत्रमा निर्वाचनको प्रभाव कम हुने र त्यहाँ राजनीतिक दलहरू बलिया भए पनि भोट खस्ने सम्भावना न्युन रहेको जिकिर गर्नुभयो ।

    २. सरकार स्वास्थ्य क्षेत्रबाट भाग्न मिल्दैनः प्रदीप पौडेल

    नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसँगको भेटपछि महामन्त्री पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य बीमालाई उच्च प्राथमिकता दिएको स्मरण गर्दै हाल केही स्थानमा बीमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले सरकारले स्वास्थ्य सेवा दिन नसक्ने अवस्था आएमा वैकल्पिक स्रोत जुटाउने स्पष्ट खाका आफूहरूले पहिल्यै प्रश्तुत गरेको बताउनु भयो । पूर्वप्रधानमन्त्रीलाई पटक–पटक आग्रह गर्दा पनि उक्त योजना पूरा हुन नसकेको उल्लेख गर्दै पछिल्ला सरकारहरूले पनि बीमा कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । हाल स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको छ । सेवा प्रदायक अस्पतालहरूले वक्यौता भुक्तानी नभएको भन्दै सेवा बन्द गर्ने घोषणा गरेका छन् । 

    ३. सबै काम पूरा गर्न सकिन होला तर बिगारेको केही छैनः महामन्त्री पौडेल

    नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी काँग्रेसले आत्मसात गरेको दाबी गर्नुभएको छ । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसमक्षको भेटघाट कार्यक्रमाा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजकता मात्रै भएको दाबी आफूहरुले नगरेको भन्दै युवा पुस्ताको आन्दोलनलाई आफूहरुले आत्मसात गरेको जिकिर गर्नुभयो । महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु नहुने बताउनु भयो । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको उहाँको दाबी छ । आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको बताउनु भयो । सरकारमा रहेर आफूले समस्या र समाधानका उपायहरु केलाएको बताउनु भयो । 

    ४. संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना वा निर्वाचनसम्बन्धी फैसला अविलम्व गर्न सर्वोच्च अदालतलाई आग्रह गर्नुभएको छ । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दल र संसदका अधिकांश सांसदहरूले सर्वोच्च अदालतमा असंवैधानिक कार्यविरुद्ध निवेदन दिएको सन्दर्भ जोड्दै अदालतलाई मौन बस्न नमिल्ने बताउनु भयो । उहाँले भदौ २३ र २४ गते भएको उत्पात (जनआन्दोलन÷जेन–जी विद्रोहपछि उत्पन्न अराजकता) लाई लिएर देशलाई भयानक संकटमा पारिएको, राज्य संयन्त्र कमजोर बनाइएको तथा असंवैधानिक ढंगले सरकार गठन गरी संसद् विघटन र चुनावको मिति तोकिएको आरोप लगाउनु भयो । अदालतको मौनताले संवैधानिक संस्थामाथि प्रश्न उठ्ने बताउनु भयो । 

    ५. बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन

    नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गर्नुभएको छ । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अहिले लडाईं देश जलाउने की देश बनाउनेहरुको बीचमा रहेको बताउनु भयो । साह झापा ५ मा आफूसँग ठुटे सिंङ लिएर सिंगौरी खेल्न पुगेको टिप्पणी गर्नुभयो ।  उहाँले नेकपा एमाले देश बनाउन शक्ति भएको बताउँदै देश जलाउने शक्तिहरु कहिल्यै सफल नहुने बताउनु भयो । उहाँले उनीहरुले देश जलाएको पनि स्वीकार गरिसकेको बताउनु भयो । अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानूनको राज बनाउँदै जाने भन्ने हिसाव आगामी निर्वाचनले गर्ने बताउनु भयो । ओखलढुंगाबाट अस्मिता थापालाई विजयी गराएर पठाउनेमा आफू विश्वस्त रहेको बताउँदै अध्यक्ष ओलीले अस्मिता हार्नु एउटा ठाउँमा देश हार्नु सरह भएको जिकिर गर्नुभयो । 

    ६. प्रदेश र स्थानीय निर्वाचन भन्दा अगाडि नै अधिवेशन भइसक्छः सभापति थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिला नै काँग्रेसको नियमित महाधिवेशन भइसक्ने बताउनुभएको छ । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर गर्नुभयो । उहाँले प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने बताउनु भयो । पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै विगतको जस्तो ६०÷४० को भागबण्डा अब सकिएको बताउनु भयो । काँग्रेसले पार्टीभित्र पनि भागबण्डा नगर्ने र बाहिर पनि नगर्ने घोषणा गर्नुभयो । सबैलाई समान व्यवहार गर्नेगरीकन पार्टी चल्ने बताउनु भयो । 

    ७. प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस्ः उपराष्ट्रपति

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ । शनिवार सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार भएको बताउनु भयो । यसका लागि सञ्चारमाध्यमहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । 

    ८. देश तरकारी छानेको जस्तो होइन, भरपर्दो पार्टी र व्यक्तिलाई चुन्न नसके प्रयोगशाला बन्छः प्रवक्ता चालिसे

    नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले भरपर्दो मानिस र पार्टीलाई देश सुम्पिन नसके प्रयोगशाला बन्ने निश्चित रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी कहिल्यै पुरानो नहुने बताउनु भयो । अहिले नेपाली काँग्रेस नयाँ अनुहार, नयाँ सिद्धान्त र नीति बोकेर अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ वटामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको पनि बताउनु भयो । उहाँले अहिले भरपर्दो भविष्य हेर्ने बेला भएकाले कोही पनि उत्तेजनामा नआउन आग्रह गर्नुभयो । देश तरकारी चाखेको जस्तो नभएको भन्दै भरपर्दो पार्टीलाई सुम्पिनुपर्ने बताउनु भयो । कुनै कुरा मन परेन भन्दैमा आफ्नो भविष्य खाल्डोमा हाल्न नहुने बताउनु भयो । 

    ९.दलहरुलाई नजी क्षेत्रको आग्रहः मनोबल उच्च बनाउन नीतिगत स्थायित्व र सुरक्षा सुनिश्चितता होस्

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी निर्वाचनमा राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा निजी क्षेत्रका मुद्दालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । शनिवार आयोजित पत्रकार सम्मलेका क्रममा उहाँले निजी क्षेत्र बिना मुलुकको आर्थिक स्थायित्व, सुशासन र दीर्घकालीन समृद्धि सम्भव नहुने बताउनु भयो । अध्यक्षले निजी क्षेत्रले नेपालको अर्थतन्त्रमा करिव ८१ प्रतिशत योगदान दिइरहेको र ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्नुभयो । तर यो क्षेत्रलाई उपेक्षा गर्दा समग्र आर्थिक पुनरुत्थान चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ । निजी क्षेत्रलाई रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता र सम्पती निर्माणकर्ताको रूपमा सम्मान गरी मनोबल उच्च राख्नुपर्नेमा जोड दिनुभयो ।

    १०. तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देश युक्रेन बनाउँदैछन्ः राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देश युक्रेन बनाउने बताउनुभएको छ ।  नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस्ता गतिविधिले मुलुकलाई युक्रेनको जस्तो संकटपूर्ण बाटोमा धकेल्न सक्ने खतरा रहेको बताउनु भयो । उहाँले विभिन्न भ्रम र लाञ्छना फैलाइरहे पनि मतदातालाई अलमलिन नहुने आग्रह गर्नुभयो । डा. भट्टराईले यस्ता कुराहरूबाट मुलुकलाई जोगाउन विवेकपूर्ण मतदान आवश्यक रहेको जोड दिनुभयो । 

    ११ काठमाडौं–तराई द्रुतमार्गः साढे आठ वर्षको पर्खाइबीच सुरुङ र अग्ला पुलमा देखियो रहरलाग्दो प्रगति

    मुलुकको संघीय राजधानी काठमाडौंलाई तराई–मधेससँग जोड्ने सबभन्दा छोटो र रणनीतिक महत्व बोकेको राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं–तराई÷मधेस द्रुतमार्ग’ निर्माणले लामो सुस्ततापछि अब लय समातेको देखिन्छ । आयोजनाको जिम्मेवारी नेपाली सेनाले सम्हालेको साढे आठ वर्ष र निर्माण कार्य विधिवत रूपमा शुरु भएको साढे चार वर्षको सेरोफेरोमा आइपुग्दा आयोजनाले ४५.१६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । जनस्तरमा आठ वर्ष बित्दा पनि आधा काम नसकिएको भन्दै आलोचना भइरहँदा निर्माण स्थलमा ठडिएका गगनचुम्बी पुल र पहाड छिचोल्दै बनेका सुरुङमार्गले भने विकासको एक भव्य र आशालाग्दो तस्बिर पेश गर्न थालेका छन् । 

    १२. काठमाडौं ४ का काँग्रेस उम्मेदवार तिमलसेना भन्छन्ः राम पाँच वर्ष मिसनमा जानुभएको छ, भरत बनेर अयोध्या सम्हाल्छु

    नेपाली काँग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सचिन तिमलसेनाले रोजगारीको अवसर सिर्जना र युवाहरुलाई उद्यमशिलतामा नजोडेसम्म युवाहरु विदेश पलायन हुनबाट नरोकिने बताउनुभएको छ । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मेहनतका साथ आफूले काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले युवा रोजगारीमा विशेष काम गर्ने बताउनु भयो । उहाँले यसअघि सोही क्षेत्रबाट निर्वाचित गगनकुमार थापा विशेष कारणले मिसनमा जानुभएको टिप्पणी गर्दै अबको पाँच वर्ष आफूले भरत बनेर अयोध्यारुपी निर्वाचन क्षेत्र नम्बर ४ लाई सम्हाल्ने जिकिर गर्नुभयो । 

    १३. काँग्रेसको चुनावी घोषणापत्र छोटो, मिठो र सबैले अपनत्व लिने किसिमको हुनेछः प्रवक्ता चालिसे

    नेपाली काँग्रेसले सबैले अपनत्व लिनेगरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिवद्धता जनाएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले यस्तो बताएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्र सबैले अपनत्व लिने हिसावले तयार पारिरहेको बताउनु भयो । त्यसका लाग विज्ञहरुसँग सुझाव लिएको र नागरिकका आवाज पनि संकलन गरिएको बताउनु भयो । काँग्रेसको घोषणापत्र सानो, छोटो र मिठो हुने उहाँको भनाइ छ । सबैले सहज रुपमा बुझ्नसक्ने हुने र केही दिनपछि नै सार्वजनकि गर्ने बताउनु भयो । 

    १४. ओखलढुंगा एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार थापा भन्छिन्ः आसन, भाषण र शासनमा महिलाहरुलाई पु¥याउन देशव्यापी नेतृत्व गर्नेछु

    नेकपा (एमाले) की केन्द्रिय सदस्य तथा ओखलढुंगा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार अस्मिता थापाले जिल्लाको विकास र युवा र महिला सशक्तीकरण आफ्नो प्राथमिकतामा पर्ने बताउनुभएको छ । शनिवार नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ओखलढुंगा अब आफैं नेतृत्व गरेर सीमानाका सडकहरू निर्माण गर्दै पालिका–पालिकामा कालोपत्रे गर्ने गरी अघि बढ्ने बताउनु भयो । उहाँले । एउटा गाउँपालिकाको व्यक्ति तीनवटा जिल्ला हुँदै सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनु भयो । उहाँले शैक्षिक समस्या सम्बोधन गर्दै विद्यालय–विद्यालयमा गएर सही काउन्सिलर उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । 

    १५. अपाङ्गतामैत्री पूर्वाधारतर्फ वागमती प्रदेशको कदम, नमूना पालिका विकास गर्ने योजना

    वागमती प्रदेश सरकारले प्रदेशभित्र निर्माण हुने सबै सार्वजनिक भौतिक संरचनाहरूलाई पूर्ण रूपमा अपाङ्गतामैत्री र सबै नागरिकको सहज पहुँचयोग्य बनाउन ‘सार्वजनिक पूर्वाधारमा सर्वसुलभ (युनिभर्सल) डिजाइन’ निर्देशिका बनाउने प्रक्रिया औपचारिक रूपमा शुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार हेटौंडामा आयोजना गरेको विशेष कार्यशाला तथा कार्यदलको पहिलो बैठकसँगै यो प्रक्रिया अघि बढेको हो । सरकारले तत्काल मन्त्रिपरिषद्बाट निर्देशिका जारी गरी कार्यान्वयनमा लैजाने तयारी गरेको छ । यसका लागि मन्त्रालयले सीआरएस नेपालसँग प्राविधिक सहयोगसम्बन्धी सम्झौतासमेत गरेको छ । कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले संसदबाट ऐन निर्माणको प्रक्रिया लामो हुने भएकाले विकास निर्माणलाई रोक्न नहुने बताउनु भयो । 

    १६. अमेरिका–इरान तनाव उत्कर्षमाः इरानद्वारा सैन्य सतर्कता र १ हजार ड्रोन प्रदर्शन

    संयुक्त राज्य अमेरिकासँगको तनाव बढ्दै जाँदा इरानले सम्भावित सैन्य कारबाहीको चेतावनी दिँदै आफ्नो सैन्य तयारीलाई तिब्र पारेको छ । इरानले हालै आफ्नो सेनामा १ हजार स्वदेशी रणनीतिक लडाकु ड्रोनहरू समावेश गरेको छ । स्ट्रेट अफ हर्मुजमा सैन्य अभ्यासको घोषणा गरेको छ । साथै इरानको इस्लामिक रिभोलुसन गाड्र्स कप्र्सले स्ट्रेट अफ हर्मुजमा लाइभ–फायर अभ्यास गर्ने प्रेस टीभीले जनाएको छ । यी पछिल्ला घटनाक्रमहरू यसै हप्ताको शुरुमा अमेरिकाले मध्य पूर्वमा विमानवाहक युद्धपोत नेतृत्वको स्ट्राइक ग्रुप परिचालन गरेपछि आएका हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक विशाल आर्मडा इरानतर्फ गइरहेको र तेहरानलाई सम्झौतामा पुग्न समय घर्किँदै गएको चेतावनी दिएका थिए । 

    १७. अस्ट्रेलियामा सार्वजनिक अस्पतालका लागि ५ वर्षीय बजेट सम्झौता

    अस्ट्रेलियाका सङ्घीय र राज्य सरकारहरूबीच सार्वजनिक अस्पतालहरूको सुधारका लागि पाँच वर्षको ऐतिहासिक कोष सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत सङ्घीय सरकारले आगामी जुलाईदेखि २१९.६ अर्ब अस्ट्रेलियन डलर खर्च गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले नयाँ पाँच वर्षीय सम्झौता अन्तर्गत सङ्घीय सरकारले सार्वजनिक अस्पताल र स्वास्थ्य सेवाका लागि कीर्तिमानी २१९.६ अर्ब अस्ट्रेलियन डलर (१५३.८ अर्ब अमेरिकी डलर) खर्च गर्ने घोषणा गर्नुभयो । यो सम्झौता आगामी जुलाई महिनादेखि कार्यान्वयनमा आउनेछ । अल्बानिजका अनुसार यो रकम अघिल्लो सम्झौताको तुलनामा अतिरिक्त २५ अर्ब अस्ट्रेलियन डलर (१७.५ अर्ब अमेरिकी डलर) बढी हो । यो सम्झौतासँगै लामो समयदेखि चल्दै आएको वार्ताको अन्त्य भएको छ ।

    १८. आंशिक सरकारी कामकाज ठप्प हुने जोखिमका बीच अमेरिकी सिनेटमा बजेट प्याकेज असफल

    अमेरिकी सिनेटले अध्यागमन नीतिका विषयमा उत्पन्न विवादका बीच बजेट प्याकेज अघि बढाउन असफल भएको छ । जसले आंशिक सरकारी कामकाज ठप्प हुने (सटडाउन) जोखिम बढाएको छ । माथिल्लो सदनमा भएको प्रक्रियागत मतदानमा प्रश्तावको पक्षमा ४५ र विपक्षमा ५५ मत परेको थियो । जुन तल्लो सदनबाट स्वीकृत बजेट प्याकेजलाई अघि बढाउन आवश्यक ६० मतको थ्रेसहोल्डभन्दा कम हो । सिनेटमा डेमोक्र्याटहरूको ४७ सिट रहेको अवस्थामा, मतदानको नतिजाले केही रिपब्लिकन सदस्यहरूले पनि उक्त योजनाको विपक्षमा मतदान गरेको देखाएको छ । 

    १९. क्षेत्रीय तनावलाई लिएर इरान र अजरबैजानका विदेशमन्त्रीबीच छलफल

    इरान र अजरबैजानका विदेशमन्त्रीहरूले अमेरिकी सैन्य गतिविधि र क्षेत्रीय सुरक्षाबारे संवाद गरेका छन् । जसमा अजरबैजानले आफ्नो भूमि इरान विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र उनका अजरबैजानी समकक्षी जेहुन बायरामोभले अमेरिकी सैन्य निर्माणका कारण उत्पन्न क्षेत्रीय तनावका बारेमा विचार आदानप्रदान गरेका हुन् । दुवै देशका परराष्ट्र मन्त्रालयकाअनुसार टेलिफोन वार्तामा अराघचीले क्षेत्रीय विकास, अमेरिकी विनाशकारी हस्तक्षेपबाट उत्पन्न खतरा र इजरायलका दमनकारी कार्यहरूको बारेमा व्याख्या गरेका थिए । शान्ति र स्थिरताका विरुद्धका खतराहरूको सामना गर्न सबै क्षेत्रीय राष्ट्रहरूको सामूहिक जिम्मेवारी रहेको कुरामा जोड दिएका छन् । 

    २०. घानाका राष्ट्रपतिद्वारा अफ्रिकाभर सुदृढ क्षेत्रीय मूल्य श्रृङ्खला निर्माणमा जोड

    घानाका राष्ट्रपति जोन ड्रामानी महामाले उत्पादन र व्यापारमा प्रतिष्पर्धी लाभ हासिल गर्न अफ्रिकी महाद्वीपलाई सुदृढ क्षेत्रीय उत्पादन मूल्य श्रृङ्खलाहरू निर्माण गर्न आग्रह गर्नुभएको छ ।  दुई दिने अफ्रिका व्यापार शिखर सम्मेलनका क्रममा महामाले महाद्वीपले सीमापार प्रतिष्पर्धी उद्योगहरू निर्माण गर्ने समय आएको बताउनु भयो । जहाँ कच्चा पदार्थ, मध्यवर्ती वस्तु र अन्तिम उत्पादनहरू क्षेत्रहरूभित्र सहज रूपमा आवागमन हुन सकोस् । उहाँका अनुसार अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्रमार्फत १.३ अर्बभन्दा बढी मानिसहरूको एकल बजारको सिर्जनाले महाद्वीपलाई एक सक्षम उत्पादन र लगानी गन्तव्यमा रूपान्तरण गर्न आवश्यक दायरा प्रदान गर्दछ । 

    २१. दक्षिण कोरियाको नर्थ चुङच्योङ प्रान्तमा कारखाना आगलागी, एक नेपालीसहित २ कामदार फसेको आशंका

    दक्षिण कोरियाको उमसेओङ काउन्टीमा रहेको एक घरेलु सामान उत्पादन गर्ने कारखानामा शुक्रबार दिउँसो भीषण आगलागी हुँदा एक नेपालीसहित दुई कामदार फसेको बताएएका छन् । कारखानाका कुल ८३ कर्मचारीमध्ये ८१ जनालाई तुरुन्तै सुरक्षित रूपमा निकालिएको छ । बेपत्ता हुनेहरूमा २० वर्षका एक नेपाली युवक र ५० वर्षका उज्वेकिस्तानका एक पुरुष रहेका छन् । अग्नि नियन्त्रकहरूले आपतकालीन प्रतिक्रियालाई लेभल २ मा बढाएर आगलागी नियन्त्रण र खोजी कार्य जारी राखेका छन् । कारखानाले वेट वाइप्स र डायपर उत्पादन गर्दछ र त्यहाँ कुनै पनि हानिकारक रसायनहरूको प्रयोग नगरिने बताइएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि आगलागीको कारण र क्षतिको अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन् । 

    २२. रफाह नाका पुनः सञ्चालनमा आउने चर्चासँगै गाजाका बासिन्दाहरूमा चिन्ता

    इजिप्टसँग जोडिएको रफाह सीमा नाका पुनः खुल्ने चर्चा चुलिएसँगै गाजाका बासिन्दाहरूमा आशा र आशंका उत्पन्न भएको छ । इजरायलले सन् २०२४ मेमा यस नाकालाई आफ्नो नियन्त्रणमा लिएपछि बन्द गरिँदा मानवीय संकट झनै गहिरिएको छ । गाजा पट्टीमा इजिप्टसँगको रफाह सीमा नाका पुनः सञ्चालनमा आउनसक्ने चर्चाले त्यहाँका बासिन्दाहरूमा चिन्ता बढाएको छ । विनाशकारी युद्धको दुई वर्षपछि पनि त्यहाँका अपरेसनहरू र यात्रीहरूमाथि लगाइने सम्भावित प्रतिबन्धका बारेमा अनिश्चितता कायमै छ । सन् २०२४ मे महिनामा इजरायलले यस नाकालाई आफ्नो नियन्त्रणमा लिएर यात्रा रोकेपछि गाजा एक्लिएको थियो । जसले गर्दा त्यहाँको मानवीय संकट अझ गहिरिएको छ । रफाह नाका गाजाबासीका लागि, विशेष गरी बिरामीहरूका लागि आवतजावतको प्रमुख बिन्दु हो । 

    २३. काँग्रेसले नेतृत्व मात्रै होइन, सोच, संकल्प र शैली बदलेको छः गगन थापा

    नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेसले केवल नेतृत्व मात्र परिवर्तन नभई सोच, संकल्प, शैली र काम गर्ने तरिका पनि परिवर्तन गरेको बताउनुभएको छ । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा नेतृत्वसँगै नितिमा पनि परिवर्तन गरेको बताउनुभएको हो । उहाँले देश परिवर्तन गर्छु भन्नेले पहिला आफू परिवर्तन हुनुपर्ने बताउनु भयो । देश बदल्नले औजार बदलिएमा मात्रै बदलिएको औजारले नयाँ परिणाम दिनसक्ने उहाँको भनाई छ । उहाँले आफूहरुले काँग्रेसभित्र जोखिम उठाएर पार्टीलाई रूपान्तरण गर्ने संकल्प गरिएको र त्यो सफल भएको बताउनु भयो । सभापति थापाले अब काँग्रेसको कार्यशैली, नीति तथा त्यसबाट आउने परिणाम समेत नयाँ हुने दाबी गर्नुभयो ।

    २४. काठमाडौ–सोलु जोड्ने दु्रतमार्गको लागि संसदमा आवाज उठाउँछुः असिम राई

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुका प्रतिनिधिसभा सदस्यका उम्मेदवार असिम राईले काठमाडौं–सोलुखुम्बु जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि संसदमा सशक्त आवाज उठाउने बताउनुभएको छ । सोलु–काठमाडौ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उहाँले काठमाडौँ–सोलुखुम्बु जोड्ने द्रुतमार्ग निर्माणको लागि निरन्तर संघर्ष गर्ने बताउनुभएको हो । काठमाडौंदेखि खुम्बुसम्म द्रुतमार्ग निर्माण भएमा ५० लाख पर्यटक नेपाल भित्रिने बताउनुभयो । यसले सोलुखुम्बु मात्र नभएर समग्र देशको आर्थिक विकासमा सहयोग गर्ने उहाँको भनाई छ । राईले आफू निर्वाचित भएर प्रतिनिधि सभामा पुगेमा जिल्लाका जनताको शिर उँचो हुनेगरी आफ्नो विधायिकाको भुमिका निर्वाह गर्ने बताउनु भयो । 

    २५. नेपाली कम्युनिष्ट पार्टी नै कम्युनिष्ट आन्दोलनको मूलधारः नेता खतिवडा

    नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले वर्तमान कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी नै भएको दाबी गर्नुभएको छ । सोलु–काठमाडौ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उहाँले विचार, सिद्धान्त र समाजवादको लक्ष्यमा आधारित पार्टी नै नेपाली कम्युनिष्ट पार्टी भएको बताउनुभएको हो । उहाँकाअनुसार नेपाली कम्युनिष्ट पार्टी समाजवादको लक्ष्य हासिल गर्न दौडने शक्तिहरूको संयोग हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति इंगित गर्दै आफूलाई क्रान्तिकारी दाबी गर्ने शक्तिहरुले साम्राज्यवादी शक्तिको आडमा जेन–जी आन्दोलनलाई दुरुपयोग गरेको आरोप लगाउनु भयो । साम्राज्यवादी शक्तिको आडमा राष्ट्रिय शक्ति, जनताको एकता र देशभक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेको उहाँको दाबी छ । 

    २६. रास्वपा लक्षित थापाको टिप्पणीः ‘चुनाव जित्न मात्रै दायाँबायाँ फर्किएकाहरु एक भएका छन्’

    नेपाली काँग्रेसका सभापति गगन थापाले निर्वाचन जित्ने प्रायोजनका लागि मात्रै केही पात्रहरु एक ठाउँमा उभिएको टिप्पणी गर्नुभएको छ । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै उक्त टिप्पणी गर्नुभएको हो । उहाँले चुनाव जित्नका लागि मात्र विगतमा दायाँबायाँ फर्किएका पात्रहरु एकै ठाउँमा जम्मा भएको आरोप लगाउनु भयो । उहाँकाअनुसार निर्वाचन जित्नका लागी हिजो दायाँ–बायाँ फर्किएका, काँग्रेस, एमाले वा माओवादी छाडेर आएका व्यक्तिहरू एउटै उद्देश्यका लागि जम्मा हुनु नयाँपन होइन । नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो ? उहाँको प्रश्न छ । उहाँले नयाँ भनिएका दलहरुसँग दृष्टिकोण र प्रतिबद्धता नभएको बताउनु भयो ।  – न्युज एजेन्सी नेपाल 

    प्रकाशित मिति :माघ १७ २०८२ शनिवार - २०:५३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij