२०८२ माघ १८ गते आइतवार
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रणालीमा सुधार गर्न सही कानुन बनाउनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उनले स्टन्ट गरेर सुधार गर्न नसकिने बताएका हुन् ।
उनले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन स्टन्ट र चटक देखाएर नभई सही कानुन र प्रक्रिया निर्माण गरेर मात्र सम्भव हुने बताए ।
सभापति थापाले नेपाली काँग्रेस प्रणाली र प्रक्रियामार्फत सुधार गर्ने कुरामा विश्वास राख्ने पार्टी भएको उल्लेख गरे । विश्वविद्यालय तथा संवैधानिक निकायमा हुने भागबण्डाको अन्त्य गर्ने दाबी गरे । निजामती कर्मचारीमा हुने राजनीतिकरणको पनि बन्द गर्ने उनको भनाई छ ।
उनले भने ‘हाम्रा सार्वजनिक संस्थाहरूबाट, निकायहरूबाट हुने कारोबारमा कुनै पनि आर्थिक लेनदेन नहोस् भन्ने कुरा हामी सबैले चाहेका छौँ नि । तर त्यसको परिणाम आउनको निम्ति जादु गर्छु, चटक गर्छ, डण्डा बोकेर जान्छु, म स्टन्ट देखाउँछु भनेर हुँदैन । सिस्टम बनाउनुपर्नेछ । ठिक कानुनहरू बनाउनुपर्नेछ, प्रक्रियाहरू बनाउनुपर्नेछ । काँग्रेस यो सिस्टम बनाउने कुरामा विश्वास गर्छ, प्रक्रियाहरू बनाउने कुरामा विश्वास गर्छ । हामी यहाँबाट परिणाम दिन चाहन्छौँ । हामी सबै ठाउँमा जहाँ पार्टीले हस्तक्षेप गरेको छ, चाहे विश्वविद्यालयमा भागवण्डा गरेको होस्, चाहे संवैधानिक निकायमा भागबण्डा गरेको होस् । चाहे निजामती कर्मचारीको राजनीतिकरण गरेको होस् । हामी सबै कुराहरू बन्द गर्छौ । यो काँग्रेसको संकल्प हो ।’
उनले सुधार र सुशासनमार्फत परिणाम दिन काँग्रेस प्रतिबद्ध रहेको पनि बताए । उनले सुधारको लागी आफूहरूले योजना बनाएको पनि जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij