काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले निर्वाचन जित्ने प्रायोजनका लागि मात्रै केही पात्रहरू एक ठाउँमा उभिएको टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०प्रति लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन् ।
उनले चुनाव जित्नका लागि मात्र विगतमा दायाँबायाँ फर्किएका पात्रहरू एकै ठाउँमा जम्मा भएको आरोप लगाए । उनकाअनुसार निर्वाचन जित्नका लागी हिजो दायाँ–बायाँ फर्किएका, काँग्रेस, एमाले वा माओवादी छाडेर आएका व्यक्तिहरू एउटै उद्देश्यका लागि जम्मा हुनु नयाँपन होइन । नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो रु उनको प्रश्न छ ।
उनले नयाँ भनिएका दलहरूसँग दृष्टिकोण र प्रतिबद्धता नभएको बताए । सभापति थापाले नयाँ अनुहार हुँदैमा नयाँपन नहुने जिकिर गरे । उनले यसपटक पुरानो पार्टीलाई भोट नदिने र नयाँलाई दिने भन्यो भने ‘पुरानो र नयाँको परिभाषा के हो रु’ भनेर प्रश्न गर्नुपर्ने बताए । समयक्रममा हरेक कुरा नयाँबाट पुरानो हुने उल्लेख गर्दै उनले नयाँ र पुरानोबीचको वास्तविक भिन्नता विचार, दृष्टिकोण र प्रतिबद्धतामा हुने बताए ।
उनले काँग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी भएको दाबी गरे । महाधिवेशनपछि काँग्रेस बदलिएको र नयाँ ऊर्जासहित अघि बढेकोले आजको दिनमा काँग्रेसभन्दा नयाँ अरू पार्टी नभएको जिकिर गरे । उनले देश बनाउनका लागि सुझबुझ, धैर्यता र जिम्मेवारीबोध आवश्यक पर्ने बताए । काँग्रेससँग मात्रै देश सम्हाल्ने क्षमता रहेको उनको दाबी छ । उनका अनुसार आगो लगाउन सजिलो हुने भएपनि देश बनाउन चेतना, धैर्यता र होसमा भएको शक्ति चाहिन्छ ।
उनले भने ‘यदि तपाईँलाई कसैले यो पटक म पुरानो पार्टीलाई भोट दिन्न, म नयाँलाई दिन्छु भन्छ भने तपाई एकछिन् अडिएर उसलाई एउटा प्रश्न सोध्नुहोस् । पुरानो र नयाँको परिभाषा के हो ? प्रत्येक कुरा पहिला नयाँ हुन्छ, समयक्रममा त्यो पुरानो हुन्छ । पुराने र नयाँ बीचको भेद के हो ? तपाईँहरू अडिएर त्यहाँ प्रश्न गर्नुपर्छ । यदि नयाँ नै खोजेको हो भने आजको दिनमा फागुन २१ गते चुनावको मैदानमा आउँदै गर्दा नेपालको सबैभन्दा नयाँ पार्टी माघ ६ गते अधिवेशन गरेर गगन थापालाई सभापति बनाएर आएको पार्टी काँग्रेस नेपालको सबैभन्दा नयाँ पार्टी हो । यो भन्दा नयाँ पार्टी कुन चाहिँ छ अहिले ? नयाँ भनेको अनुहार नयाँ होइन, यो बदलेर आएको पार्टी हो । पार्टीहरू रातारात जम्मा एउटा प्रयोजनको लागी हिजोसम्म दायाँ र बायाँ फर्किएको मान्छे जम्मा एउटा प्रयोजनको लागी एक ठाउँमा आएको छ, त्यो जम्मा एउटा उद्देश्य छ, चुनाव जित्ने हो । त्यही हो नयाँको परिभाषा ? चुनाव जित्नको लागि हिजो काँग्रेस छाडेर आएको मान्छे भए पनि भयो, एमाले छाडेर आएको मान्छे भए पनि भयो, माओवादी छाडेर आएको मान्छे भएपनि भयो । नयाँको परिभाषा के हो ? नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो ? चुनाव जित्न त माओवादीले पनि जित्यो नि । नयाँ भएर जित्यो । तर त्यो होइन नि, कमिटमेन्ट के हो ? दृष्टिकोण के हो ? यो प्रश्न घर घर लिएर जानुपर्छ । नयाँ खोजेको हो भने काँग्रेस हो । यो पुरानो काँग्रेस होइन, बदलिएको काँग्रेस हो । तपाईँहरूले घरघर गएर बताउनुपर्छ यो काँग्रेसले देश समाल्छ, देश समाल्ने शक्ति चाहिएको छ । आगो लगाउन बडो सजिलो हुन्छ, भाद्र २४ गते लाग्यो त एकै दिनमा । के बाँकी छ, खरानी भएको छ । तर बनाउनलाई सुझबुझ भएको शक्ति चाहिन्छ । बनाउनलाई होसमा भएको शक्ति चाहिन्छ । बनाउनलाई समाल्ने शक्ति चाहिन्छ, धैर्यता चाहिन्छ, चेतना चाहिन्छ । यो काङ्ग्रेससँग त्यो ऊर्जा पनि छ, काँग्रेससँग आँखामा सपना पनि छ । पेटमा भोक पनि छ, आगो पनि छ । ’
काङ्ग्रेससँग देश बनाउने ऊर्जा, सपना र प्रतिबद्धता रहेको र यही सन्देश घरघरमा पुर्याउन उनले कार्यकर्तालाई आग्रह गरे ।