२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता र उत्पीडित समुदायका अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताएका छन् । २८६२ औँ सोनाम ल्होसारका अवसरमा तामाङ समुदायलाई शुभकामना दिँदै उनले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त राख्न तामाङ समुदायको ठुलो योगदान रहेको उल्लेख गरे ।
तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति र डम्फु–टुङ्नाको धुनले नेपालको विविधतालाई झल्काउने भन्दै प्रचण्डले यही विविधता नै राष्ट्रिय एकताको बलियो आधार भएको स्पष्ट पारे । उनले सोनाम ल्होसारले विभेदविरुद्ध एकजुट हुन र सुशासन, समृद्धि एवं जनताको शासन स्थापना गर्ने अभियानमा लाग्न सबैलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
ल्होसारलाई केवल नयाँ वर्षको उत्सवका रूपमा मात्र नभई पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीकका रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए । डुक ल्हो (सर्प वर्ष) लाई बिदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गरिने यस पर्वले परिवर्तन, गति र नयाँ सङ्कल्पको सन्देश दिने उनको भनाइ छ । शुभकामना सन्देशमार्फत उनले तामाङ समुदायसहित सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सम्मानपूर्ण जीवनको कामना समेत गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij