२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले निर्वाचन आयोग र गगन थापा पक्षविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई वैधानिकता दिने गरी गरेको निर्णय बदरको माग गर्दै देउवा पक्ष अदालत गएको हो।
रिट निवेदनमा नेपाली कांग्रेसको विधान र प्रचलित कानुन विपरीत बोलाइएको विशेष महाधिवेशन अवैध रहेको जिकिर गरिएको छ।
निवेदक देउवा र पूर्णबहादुर खड्का समेतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल २०८२ माघ मसान्तसम्म थप गरिएको अवस्थामा, बीचमै अवैध तरिकाले विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नु लोकतान्त्रिक मूल्य मान्यता र पार्टी विधानको धारा १७, २७ र ४३ विपरीत रहेको दाबी गरेका छन्।
उक्त विशेष महाधिवेशनमा कोरम नपुगेको, प्रतिनिधिहरूको हस्ताक्षर दुरुपयोग गरिएको र प्रक्रिया नै पूरा नगरी नेतृत्व घोषणा गरिएको देउवा पक्षको ठहर छ।
देउवा पक्षले आफूहरू नै कांग्रेसको वैध पदाधिकारी रहेको दाबी गर्दै आयोगको निर्णय कार्यान्वयन नगर्न र गगन थापा नेतृत्वको समितिलाई कुनै पनि काम कारबाही गर्न नदिन अन्तरिम आदेशको समेत माग गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij