Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

होम आइसोलेसनमा बसेका संक्रमितको घरमै पुगेर उपचार

होम आइसोलेसनमा बसेका संक्रमितको घरमै पुगेर उपचार


  • 5.0K
    Shares

    होम आइसोलेसनमा बसेका संक्रमितको घरमै पुगेर उपचार

    बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखाकी नितु खड्काले संक्रमणको जोखिमका बेला होम आइसोलेसनमा पुगेर बिरामीको सेवा थालेकी छन् । उनी स्टाफ नर्सकी विद्यार्थी हुन् ।

    धेरै संक्रमित होम आइसोलेसनमा भएकाले आवश्यक परामर्श नपाएमा जटिल समस्या आउन सक्ने भन्दै खड्का बिरामीको उपचार र मनोपरामर्शमा खटिएकी हुन् ।

    उनले घर नजिकका संक्रमित एक वृद्ध र दुई महिलाबाट नियमित उपचार र परामर्श थालेकी थिइन् । अहिले पत्रकार महासंघको आइसोलेसन कक्ष र वडा २ र ३ मा समेत पुगेर सेवा दिन थालेकी छन् । ‘होम आइसोलेसनमा बसेका केही निको भए । केहीको सुधार भइरहेको छ,’ खड्काले भनिन्, ‘खोकी निको भएको, अक्सिजन बढेको र अन्य समस्या पनि सुधार भइरहेको छ ।’ उनीमार्फत ६५ वर्षीया वृद्धसहित अन्य तीन जनाले पनि स्वास्थ्य लाभ पाइसकेका छन् ।

    स्वास्थ्यकर्मी आएर सेवा दिएको पाएपछि बिरामीमा हौसला थपिएको उनले अनुभव सुनाइन् । ‘दैनिक घरमा पुगेर परामर्श गर्दा ३ दिनमा धेरै सुधार भएको पाएँ,’ उनले भनिन्, ‘परिवारका सदस्यले पनि चासो दिएर स्याहार्न थालेका छन् ।’ संक्रमित भनेपछि परिवारका सदस्यले पनि बेवास्ता गर्ने गरेको उनले बताइन् । खड्काको नियमित परामर्शपछि वडा १ कै संक्रमित २ महिलाको पनि स्वास्थ्यमा सुधार आएको परिवारका सदस्यले जानकारी दिए । उनको सेवालाई वडा १ का अध्यक्ष दुर्गाबहादुर सार्कीले प्रशंसा गरे ।

    एक वर्षसम्म ताराखोला गाउँपालिकाको कोभिड नर्सका रूपमा काम गरेको अनुभवलाई खड्काले सेवामा लगाएको बताइन् । व्यक्तिगत खर्चमा पीपीई, मास्क, पन्जा र फेस सिल तथा गाउन किनेर उनले बिरामीको सेवा गरिरहेकी छन् । खड्काले भनिन् ‘कोरोना संकटभर काम गर्नेछु ।’ खड्काकै पहलमा दुई महिनाअघि ताराखोलामा तीन दिने निःशुल्क स्वास्थ्य शिविरसमेत सम्पन्न भएको थियो ।

    अघिल्लो वर्षको संक्रमण र लकडाउनको समय खड्काले सडकमा अलपत्र परेकालाई खाना खुवाउने गर्थिन् । लकडाउनका कारण भोकै परेका नगरभित्रका दर्जनौं कुकुरलाई पनि उनले खाना दिएकी थिइन् । स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार १ सय २५ भन्दा धेरै संक्रमित अहिले होम आइसोलेसनमा छन् ।

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १२:०३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij