२०८२ पौष १६ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)लाई मिलाउन भूमिका खेलेका भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री बन्ने भएका छन् ।
मेयर बालेनका प्रमुख स्वकीय सचिव समेत रहेका शाह बालेनको तर्फबाट वार्ता समितिमा थिए । बालेन निकट स्रोतका अनुसार उनलाई रास्वपामा सह–महामन्त्री बनाइन लागिएको हो । ‘केन्द्रीय समितिले अनुमोदन गर्न बाँकी छ, तर सहमहामन्त्री दिने पक्का भइसकेको छ,’ स्रोतले भन्यो ।
रास्वपामा सहमहामन्त्रीको पद अहिले खाली भएकोले बालेन टीमबाट शाहको नाम पक्का भएको बालेन निकट स्रोतले बतायो । उनी आसन्न प्रतिनिधि सभाको निर्वाचनमा अछाम २ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिने तयारीमा छन् । यसको लागि भूपदेवले भेटघाट समेत तीव्र पारिरहेका छन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
महानगरमा मेयर बालेन आएपछि उनको सबैभन्दा विश्वासिलो पात्रको रूपमा शाहले काम गरेका थिए । ‘उहाँले चुनाव लड्ने भएका छन् । मेयर बालेनको टीमबाट अहिलेसम्म प्रत्यक्ष लड्नेमा उहाँको नाम लगभग फाइनल भइसकेको हो,’ सचिवालयका एक सदस्यले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij