Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 918
    Shares

    • images
    आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. संघीय लोकतान्त्रिक मोर्चामा आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल

    संघीय लोकतान्त्रिक मोर्चाले आगामी राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरेको छ । मंगलवार लोकतान्त्रिक समाजावादी पार्टीको कार्यालय बबरमहलमा बसेको मोर्चाको बैठकले यसबारे छलफल गरेको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले आउन लागेको राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा छलफल भएको बताउनु भयो । आगामी बैठकमा मोर्चामा संवद्ध सबै राजनीतिक दलका अध्यक्षहरुसँग बसेर उम्मेदवार र गठबन्धनबारे निर्णय लिने सहमति भएको बताउनु भयो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोर्चामा रहेका दलका उम्मेदवारहरु साझा बनाउनेबारे पनि छलफल भएको बताउनु भयो । 

    २. विपद् जोखिम न्युनिकरणको भार बढाऔँः विक्रम राना

    नेपालमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने शैलीमा आधारभुत परिवर्तनको खाँचो देखिएको छ । जलवायु अनुकूलन, विपद् व्यवस्थापन र दिगो विकास लक्ष्यलाई एकीकृत रूपमा अगाडि बढाउनु नै वर्तमानको आवश्यकता रहेको यस क्षेत्रका विज्ञको बुझाइ छ । अहिले पनि हाम्रो ध्यान घटनापछिको उद्धार र राहतमा बढी केन्द्रित छ । तर विपद् जोखिम न्युनिकरणमा गरिएको १ डलर लगानीले प्रतिकार्यको १० देखि ११ अमेरिकी डलरसम्म जोगाउनसक्ने विभिन्न अध्ययले देखाएको छ । 

    ३. रवि–बालेन लक्षित काँग्रेस नेता विश्वकर्माको टिप्पणीः देश जलाउने लुसिफर र ठगी गर्नेसँग हामीलाई डर छैन

    नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै देश जलाउने लुसिफरहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गर्नुभएको छ । मंगलवार काठमाडौंमा मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले समाजमा खतरा दुष्टको धृष्टताबाट नभइ सज्जनको निषेधबाट हुने जिकिर गर्नुभयो । उहाँले देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरुसँग खासै डर नरहेको बताउनु भयो । 

    ४. युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसरः प्रधानमन्त्री कार्की

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको उल्ल्ेख गर्नुभयो । उहाँले यसको मुख्य आधार स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको बताउनु भयो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभर बन्दै गएको बताउनु भयो । 

    ५. मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा

    नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याएर छोड्ने प्रतिवद्धता जनाउनुभएको छ । मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले दासढुंगा घटना सुनियोजित षड्यन्त्र भएको जिकिर गर्नुभयो । उहाँले उक्त घटना नेपालविरोधी जनविरोधीहरुको षड्यन्त्र रहेको बताउनु भयो । अहिलेसम्म मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा ल्याउन नसकेको भएपनि एकदिन कानूनको कठघरामा उभ्याउने बताउनु भयो । 

    ६. प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटः जनताबाट मुद्दा अनुमोदन गराउन आग्रह

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंसँगको भेटमा मुलुकको शान्ति सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग गर्न अपिल गर्नुभएको छ । बालुवाटारमा मंगलवार बिहान भएको भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई दिगो लोकतन्त्रको एकमात्र आधार बताउँदै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको हो । मुलुकले थप अस्थिरता र अशान्ति थेग्न नसक्ने भन्दै आफ्ना मागहरू शान्तिपूर्ण ढंगले राख्न र जनताबाट मुद्दा अनुमोदन गराउने लोकतान्त्रिक बाटो अपनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्रीले कठिन परिस्थितिबाट देशलाई शान्तितर्फ फर्काएको स्मरण गर्दै निर्वाचनको वातावरण पूर्ण रूपमा बनेको बताउनु भयो । 

    ७. प्रथम राष्ट्रिय च्याउ दिवस मनाइयो (तस्बिरहरु)

    नेपालमा पहिलोपटक औपचारिक रूपमा प्रथम राष्ट्रिय च्याउ दिवस मनाइएको छ ।  मंगलवार देशभर विभिन्न कार्यक्रम आयोजना गरी च्याउ दिवस मनाइएको हो । सरकारले गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकबाट पुस १५ लाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । विभिन्न प्रकारका च्याउका परिकारहरू र च्याउहरु प्रदर्शनमा राखिएको छ ।  नेपालमा ७० जिल्लामा च्याउ खेती विस्तार भएको र ४० जिल्लामा व्यावसायिक उत्पादन भइरहेको छ । दैनिक करिव १ लाख किलो च्याउ उत्पादन हुने भएपनि माग धान्न वार्षिक १५–२० करोडको च्याउ आयात गर्नुपर्ने अवस्था छ ।

    ८. नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प नरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा एकतालाई बलियो बनाउन, शान्ति र समृद्धिको दिशालाई अघि बढाउन नेपाल कम्युनिष्ट पार्टीको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले नेपकाले नै अब राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्ने पनि बताउनु भयो । आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रेषण गर्न जरुरी रहेको बताउनु भयो । 

    ९.टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो 

    गुरुङ समुदायको महान पर्व तमु ल्होसार देशभर हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरी काठमाडौंको टुँडिखेलमा हजारौं गुरुङ समुदायका व्यक्तिहरू परम्परागत भेषभूषामा सजिएर जम्मा भई सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी नयाँ वर्षको स्वागत गरेका छन् । तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ । यस पर्वलाई पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्ने प्रतिकका रूपमा मनाइन्छ । यस वर्ष गुरुङ समुदायले पुरानो वर्गलाई बिदाइ गरी नयाँ वर्गको स्वागत गरेका छन् । यो पर्व सूर्यको किरणसँग पनि जोडिएको छ ।

    १०. अफगानिस्तानद्वारा पहिलो पटक कतारमा अनार निर्यात

    अफगानिस्तानले आफ्नो कृषि उत्पादनलाई नयाँ अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने प्रयासको एक महत्वपूर्ण कदमको रूपमा कान्दाहार प्रान्तबाट पहिलो पटक कतारमा अनार निर्यात गरेको छ । स्थानीय सञ्चारमाध्यम टोलो न्युजले दिएको जानकारीअनुसार करिव २० टन अनारको यो पहिलो खेप कतार पठाइएको हो । यो ढुवानीले क्षेत्रीय बजारभन्दा बाहिरका क्रेताहरूसम्म पुग्ने अफगान उत्पादकहरूको बढ्दो सक्रियतालाई पुष्टि गर्दछ । रिपोर्टकाअनुसार गत वर्षको तुलनामा यस वर्ष कान्दाहारको अनार निर्यातमा करिव ३२ प्रतिशतले वृद्धि भएको छ । 

    ११. टर्कीमा इस्लामिक स्टेटविरुद्धको कारबाहीमा तीन प्रहरीसहित नौ जनाको मृत्यु

    टर्कीको उत्तर–पश्चिमी प्रान्त यालोभामा सोमवार इस्लामिक स्टेट (आईएस) का संदिग्ध सदस्यहरूलाई लक्षित गरी गरिएको सुरक्षा कारबाहीका क्रममा तीन प्रहरी अधिकारी र ६ जना संदिग्ध लडाकुसहित नौ जनाको मृत्यु भएको छ । आन्तरिक मामिला मन्त्री अली येरलिकायाका अनुसार उक्त भिडन्तमा अन्य नौ जना घाइते भएका छन् । अंकारामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री येरलिकायाले रातभर १५ प्रान्तका १०८ विभिन्न स्थानहरूमा एकैसाथ खानतलासी र छापा मारिएको जानकारी दिए । यालोभामा स्थानीय समयअनुसार बिहान २ बजे शुरु भएको उक्त कारबाहीमा संदिग्धहरूले सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए । 

    १२. दक्षिण कोरियाको विशेष काउन्सिलद्वारा पूर्वराष्ट्रपति युन र उनकी पत्नी विरुद्धको भ्रष्टाचार अनुसन्धान निष्कर्षमा

    दक्षिण कोरियाको विशेष काउन्सिलले महाभियोग लगाइएका पूर्वराष्ट्रपति युन सुक–योल र उनकी पत्नी विरुद्धको भ्रष्टाचार आरोपको अनुसन्धानलाई अन्तिम रूप दिएको छ । स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले १८० दिने अनुसन्धान पूरा गरेपछि जारी गरेको विज्ञप्तिमा हिरासतमा रहेका २० जनासहित कुल ७६ जना विरुद्ध मुद्दा दायर गरिएको उल्लेख गरेको छ । युन र उनकी पत्नी किम क्योन–ही विरुद्धका आरोपहरू व्यापक रहेको र यसमा शेयर मूल्यमा चलखेल, विलासी उपहार स्वीकार गरेको, राष्ट्रपतीय कार्यालय र निवास स्थानान्तरणमा अवैध रूपमा हस्तक्षेप गरेको र अवैध रूपमा राजनीतिक कोष प्राप्त गरेको जस्ता विषयहरू समावेश रहेको टोलीले जनाएको छ । 

    १३. मङ्गोलियामा घरपालुवा जनावरको सङ्ख्या ५ करोड ८१ लाख पुग्यो

    मङ्गोलियाको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जानकारीअनुसार सन् २०२५ को अन्त्यसम्ममा देशमा घरपालुवा जनावरको सङ्ख्या ५ करोड ८१ लाख पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतको वृद्धि हो । देशभर गरिएको पशुगणनाको प्रारम्भिक नतिजाअनुसार कुल पशुधनमा भेडा ४१.१ प्रतिशत, बाख्रा ३९.९ प्रतिशत, गाईवस्तु ९.४ प्रतिशत, घोडा ८.८ प्रतिशत र ऊँट ०.९ प्रतिशत रहेका छन् । मङ्गोलियाका २१ प्रान्तहरूमध्ये उत्तरी प्रान्त खुभ्सगुल ५३ लाख पशुसहित पहिलो स्थानमा छ भने मध्य प्रान्तहरू उभुर्खानगाइ र अर्खानगाइमा क्रमशः ५१ लाख र ४४ लाख पशुहरू छन् । पशुपालन मङ्गोलियाको अर्थतन्त्रको मुख्य स्तम्भमध्ये एक हो ।

    १४. स्पेनमा गएको भीषण हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु

    स्पेनको अरागोन क्षेत्रमा गएको हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु भएको छ । अन्य  तीन जनालाई सुरक्षित उद्धार गरिएको छ । स्पेनको सिभिल गार्डले दिएको जानकारीअनुसार हिउँपहिरोमा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । उक्त समूहका अर्की एक महिलाको सामान्य चोटपटक र हाइपोथर्मियाको उपचार भइरहेको छ भने अन्य दुई पुरुष सुरक्षित रहेका छन् । यो घटना उत्तरी स्पेनको अरागोन क्षेत्रको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयनुसार दिउँसो करिव १ बजे घटेको थियो । 

    १५. हिजबुल्लाह नेताद्वारा लेबनानको संकटमा अमेरिका र इजरायललाई दोषारोपण

    हिजबुल्लाहका नेता शेख नइम कासिमले लेबनानको जारी राजनीतिक, आर्थिक र सुरक्षा अस्थिरताको पछाडि संयुक्त राज्य अमेरिका र इजरायल मुख्य वाह्य कारक रहेको बताउनुभएको छ । लेबनानको वर्तमान अवस्थालाई सम्बोधन गर्दै एक टेलिभिजन भाषणमा कासिमले लामो समयदेखिको अमेरिकी प्रभुत्व र निरन्तर इजरायली आक्रमणका कारण देश तुफानको केन्द्रमा रहेको बताउनु भयो । उहाँले लेबनानले थप सम्झौता गर्नुअघि इजरायलले आफ्ना सबै सेना फिर्ता गरेर सैन्य कारबाही रोकेर, बन्दीहरूलाई रिहा गरेर र पुनर्निर्माण शुरु गर्न अनुमति दिएर युद्धविरामलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

    १६. ठेक्का तोड्नु बाध्यता होः मन्त्री घिसिङ

    भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्नु सरकारको बाध्यता रहेको बताउनुभएको छ । सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उहाँले सरकारले धेरै वर्षसम्म काम नभएका ठेक्का तोडेर व्यवस्थापन गर्ने काम गरिररहेको बताउनु भयो । उहाँले कम बजेटमा ठेक्का लिने, काम नगर्ने र जनतालाई दुःख दिने काम भएकोले बाध्य भएर ठेक्का तोड्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो । उहाँले सबै निर्माण व्यवसायी गलत भने नभएको बताउनु भयो । समयमा नै काम गर्ने निर्माण व्यवसायीहरु पनि रहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई प्रोत्साहन गर्ने गरेको बताउनु भयो ।

    १७. नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार

    कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । प्रथम च्याउ दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उहाँले उपभोक्तामा च्याउको माग निरन्तर वृद्धि हुँदै गएकोले च्याउ खेतीको सम्भावना रहेको बताउनुभएको हो । न्युन आयस्रोत भएका किसानका लागि च्याउ खेती जीविकोपार्जनको उपयुक्त माध्यम भएको उहाँले बताउनु भयो । आधुनिक उच्च प्रविधि प्रयोग गरी औद्योगिक रूपमा व्यवसायिक च्याउ उत्पादन गर्नसके यसले रोजगारी सिर्जना समेत गर्नसक्ने उहाँको भनाई छ । 

    १८. राजनीतिमा गाली गलौजको संस्कार भित्रियोः सर्वेन्द्र खनाल

    समुन्नत पार्टी नेपालका अध्यक्ष सर्वेन्द्र खनालले नेपालको राजनीतिक संस्कार अराजनीतिक दिशातर्फ गएको बताउनुभएको छ । नेपाल न्युज एजेन्सीसँगको कुराकानीमा उहाँले अराजनीतिक संस्कारको शुद्धिकरण गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले नयाँले पुरानालाई र पुरानाने नयाँलाई गालीगलौज गर्ने परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । गाली–गलौजको राजनीतिभन्दा नीति, सिद्धान्त र एजेन्डामा आधारित बहस गर्न आवश्यक रहेको उहाँको भनाई छ । खनालकाअनुसार समुन्नत पाटीले देशलाई समुन्नत कसरी बनाउने भन्ने विषयलाई केन्द्रमा राखेर घोषणापत्र, नीति र दीर्घकालीन रोडम्यापसहित राजनीति अघि बढाएको छ । पुरानाले नयाँलाई गाली गर्ने र नयाँले पुरानालाई गाली गर्ने प्रवृत्तिभन्दा माथि उठेर आफू कसरी सही बन्ने भन्नेकुरा आफूहरुको प्राथमिकता रहेको उहाँले बताउनु भयो । 

    १९. शान्तिप्रेमी मुलुकको रुपमा नेपाललाई विश्वमा चिनाउनुपर्छः महानिरीक्षक कार्की

    नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले असन्तुष्टि जनाउने नाममा ढुंगामुढा, आगजनी र तोडफोड गर्ने अभ्यासलाई सुधार गर्नुपर्ने बताउनुभएको छ । जेन–जी आन्दोलनको क्रममा आगजानी भएको कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा सहयोगी मनको विकास भएमा अपराध नियन्त्रण, विकास र शान्ति सम्भव हुने बताउनु भयो । महानिरीक्षक कार्कीले नागरिकको सहयोगका कारण प्रहरी भवन निर्माण गर्न सफल भएको बताउनु भयो ।

    २०. काँग्रेस निर्वाचनबाट भाग्दैन बरु हार्न तयार छः कोईराला

    नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गर्नुभएको छ । मंगलवार मोरङ समाज काठमाडौंको २६ औँ वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताउनुभएको हो । सबै राजनीतिक दलहरुले समानुपातिकतर्फको सूचि बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उहाँको भनाइ छ ।

    २१. कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःशर्त दिने व्यवस्था गरिएको उल्लेख गर्नुभयो । आईटी क्षेत्रमा आफ्नो ज्ञान,सीप प्रयोग गरेर विदेशी पुँजी भित्र्याउन सहयोग गर्ने व्यवसायीको सहजताका लागि यो व्यवस्था गरिएको उहाँको भनाइ छ । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमै फर्केर पनि सोही प्रकृतिको काम र पारिश्रमिकमा काम गर्नसक्ने वातावरण तयार गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्दै सरकार गृहकार्य गरिरहेका पनि बताउनु भयो ।

    २२. खोला मापदण्डसम्बन्धी मुद्दालाई अग्राधिकार दिन पीडित संघर्ष समितिको माग

    खोला तथा सडक मापदण्डपीडितहरुले खोला मापदण्डविरुद्धको पेसीलाई अग्राधिकार दिई छिटोभन्दा छिटो गैरन्यायिक खोला मापदण्ड खारेज गर्न माग गरेका छन् । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेका हुन् । काठमाडौं उपत्यकाका मुख्य नदी तथा खोला वरपरका थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने गरी सर्वोच्च अदालतले फैसला गरेको थियो । 

    २३. सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूल देश कब्जा गरिसकेको भ्रम फैल्याएः संयोजक दाहाल

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल र शहरबजारमा होहल्ला गर्ने, इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गर्नुभएको छ । रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । दशकौँको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू अब आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको उहाँको भनाइ छ ।

    २४. मुलुकमा भयरहित निर्वाचन कसरी हुन्छ भन्ने यक्षप्रश्न यथावत छः प्रदीप ज्ञवाली

    नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण बन्न नसकेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भगाईएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीहरुको कमजोर मनोबलाका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत रहेको बताउनुभएको हो । नेता ज्ञवालीले फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएपनि विघटित प्रतिनिधि सभाका बहुमत सांसदहरुले विघटनविरुद्ध उठाएका प्रश्नको संवैधानिक तथा न्यायिक परीक्षण हुन पनि बाँकि रहेको अवस्था आएकाले निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जिकीर समेत गर्नुभयो । 

    २५. मुलुकलाई निकास दिन काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा

    नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले एमाले–काँग्रेसबीच अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । मुलुकमा निर्वाचनको माहौल खडा भइरहेका बेला उहाँले काँग्रेस र एमालेबीच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता आँैल्याउनुभएको हो । मंगलवार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले मुलुकमा संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन काँग्रेस–एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताउनु भयो ।

    २६. रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन

    नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड भनि टिप्पणी गर्नुभएको छ । रोल...
    एमाले जस्तो बलियो पार्टीसँग मुकाविला गर्न दुब्लाहरुले सहकार्य गर्नुपरेको ओलीका जिकिर थियो । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा रख स्यालले मोर्चा गरेर जित्न नसक्ने बताउनु भयो । 

    २७. सर्वोच्च समक्ष ओलीको आग्रहः अविलम्व संसद विघटनसम्बन्धि मुद्दाको फैसला गरियोस्

    नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धि मुद्दाको अविलम्व छिटो फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ । मंगलवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशलाई अप्ठयारो अवस्थाबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दाको फैसला छिटो गर्नुपर्ने तर्क गर्नुभएको हो । ओलीले समयमा न्याय नदिनु वा विलम्व गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्ने कुरालाई मनन गरेर अदालतले सो मुद्दाको फैसला तत्काल गर्न आवश्यक रहेको जिकिर समेत गर्नुभयो । उहाँले अदालतले संसद पुनस्र्थापनाको फैसला गर्नुबाहेक अर्को बाटो नरहेको पनि दोहो¥याउनु भयो । अध्यक्ष ओलीले एमाले विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको मागमा स्पष्ट र दृढ रहेको अडान राख्नुभयो ।  

    २८. पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन, घरजग्गा र शेयरबजार कारोबार घट्दा लक्ष्य भेट्न कठिन

    चालु आर्थिक वर्ष २०८२÷८३ को पाँच महीनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व उठाएको छ । अर्थमन्त्रालयकाअनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको हो । यो लक्ष्यको तुलनामा ७८ दशमलव ७४ प्रतिशत हो ।  गत वर्षको सोही अवधिको तुलनामा राजश्व १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्रतिकुल परिस्थितिमा पनि राजश्व गतवर्ष भन्दा सकारात्मक उठेको जानकारी दिनुभयो । उहाँकाअनुसार राजश्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्यअभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ । तर आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले नेगेटिभ वृद्धिदर छ ।

    २९. विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली पाँचौँ पटक संशोधन

    नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई पाँचौँपटक संशोधन गरेको छ । संशोधनमार्फत नेपाल राष्ट्र बैंकले कुनैपनि कम्पनीहरूले विदेशी लगानी नेपाल भित्राउन वा बाहिर लैजान सक्ने गरी सहज नीति लिएको हो । त्यसका लागि अब केन्द्रीय बैंकको अनुमति लिनुपर्दैन । केन्द्रिय बैंकको यो नीतिपछि नेपालमा कालोसूचीमा रहेका कम्पनीहरूले पनि विदेशी लगानी भित्राउन सक्नेछन् ।
    यसअघि कालोसूचीमा रहेका कम्पनीलाई विदेशबाट लगानी ल्याउन प्रतिवन्ध थियो ।

    ३०. न्यु डायमण्ड सेमिफाइनलमा

    विभागीय टोली नेपाल पुलिस क्लवले एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै समूहविजेताका रूपमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘बी’ को खेलमा मंगलबार पुलिसले विभागीय डर्बीमा एपिएफमाथि ३–२ को जित निकाल्यो । समूहमा बलियो मानिएको एपिएफलाई हराउँदै पुलिसले विजेता बन्ने सम्भावना बलियो बनाएको हो । पुलिसले पहिलो दुई सेट २५–२१ र २५–२५ ले हराउँदै सोझो सेटमा जित निकाल्ने संकेत गरेको थियो । तर, तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो । यो सेट एपिएफले २५–२२ ले आफ्नो बनाउँदै खेलमा पुनरागमन गर्ने प्रयास ग¥यो । चौथो सेट पनि एपिएफले २५–२१ ले जितेपछि खेल पाँचौं सेटतर्पm धकेलियो । यो सेट जितेपछि एपिएफले कम्तीमा एक अंक पनि सुरक्षित ग¥यो । निर्णायक तथा पाँचौं सेटमा एपिएफले लय जारी राख्न सकेन ।
    एपिएफले १५–९ ले सेट आफ्नो बनाउँदै दुई अंक बटुल्यो । यो जितपछि पुलिस सेमिफाइनलमा पुग्यो ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १८:३१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij