२०८२ पौष १४ गते सोमवार
१. सूर्य नेपाल सेन्ट्रल ओपन शुरु, पहिलो दिन डिफेन्डिङ च्याम्पियन राहुल शिर्ष स्थानमा
सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा ५ स्ट्रोकको अग्रतामा शिर्षस्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लवमा राहुलले ६–अन्डर ६६ को उत्कृष्ट स्कोरमा प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई ५ स्ट्रोकले पछि पारेका हुन् । जयराम १–अण्डर ७१ को स्कोरमा दोस्रो स्थानमा छन्। अर्का एमेच्योर साम डौबलार्ड इभन–पार ७२ सहित तेस्रो स्थानमा रहे । १–ओभर ७३ को स्कोरमा भूवनकुमार रोक्का, सविन सापकोटा, भूवन नगरकोटी, दिनेश प्रजापती, प्रदीपकुमार लामा र एमेच्योर फुन्सो नोर्बु लामाले संयुक्तरुपमा चौथो स्थान बाँडे । यसैगरी २–ओभर ७४ को स्कोरमा बलभद्र राई, तोरणविक्रम शाही, दीपक मगर, टासी घले र एमेच्योर कवि थापा संयुक्तरुपमा दशौं स्थानमा रहेका छन् ।
२. सरकारले जेन–जीहरुलाई धोका दियोः उपेन्द्र यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेन–जीको मागलाई सरकारले बेवास्ता गरेको बताउनुभएको छ । जनकपुरधाममा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरुको माग रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले युवाहरुसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनैपनि कुराहरु अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आन्दोलनकारी युवाहरुको साथमा सरकारले धोका दिएको बताउनु भयो । लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण रहेको बताउनुहुँदै आफूहरु निर्वाचनमा जान तयार रहेको बताउनु भयो ।
३. पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन उपस्थित
नेपाली काँग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित हुनुभएको छ । आयोगले यसअघि लेखकलाई बयानका लागि बोलाएको थियो । शुरुमा पुस १३ गतेका लागि तोकिएको समयमा विशेष कारणले उपस्थित हुन नसकेपछि लेखक सोमवार दिउँसो आयोगमा पुग्नुभएको हो । गौरीबहादुर कार्की नेतृत्वको यो तीन सदस्यीय आयोगले जेन–जी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग, मानवअधिकार उल्लंघन र भएको क्षतिको छानबिन गरिरहेको छ । आन्दोलनका बेला लेखक गृहमन्त्री हुनुहुन्थ्यो । शान्तिसुरक्षाको जिम्मेवारी उहाँमाथि नै थियो । आयोगले यसअघि विभिन्न सुरक्षा अधिकारी र कर्मचारीहरूको बयान लिइसकेको छ ।
४. नेपालको राष्ट्रिय पर्यावरणीय कृषि मार्गचित्र तयार
नेपालको राष्ट्रिय पर्यावरणीय कृषि मार्गचित्र तयार भएको छ । सोमवार कृषिमन्त्री डा. मदनप्रसाद परियारलाई मार्गचित्र बुझाउँदै यसबारे जानकारी गराइएको हो । कृषि क्षेत्र नेपालीहरुको जीवनशैली, संस्कृति र साच पोषण सुरक्षाको प्रमुख आधार रहेको र बहुसङ्ख्यक साना तथा सीमान्तकृत समुदायको जीविकोपार्जनको मुख्य हिस्सा ओगटेको यस क्षेत्रले पछिल्लो समयमा चुनौतीहरुको सामना गरिरहेको बताइएको छ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहलका कार्यकारी निर्देशक भरत भण्डारीले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, रसायन, विषादी र प्लास्टिकको अत्यधिक प्रयोग, उत्पादन श्रोत तथा सामग्रीमा बढ्दो परनिर्भरता, खेतीपातीबाट युवा पलायन र महिलाकरण जस्ता चुनौतीहरुसंग नेपालको समग्र कृषि क्षेत्र जुधिरहेको बताउनु भयो ।
५. देशलाई निकास दिने उत्तम विकल्प निर्वाचनः संयोजक दाहाल
नेपाली कम्यनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनमा जानसक्ने चेतावनी दिनुभयो । उहाँले सबै राजनीतिक दलहरु पनि निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर निर्वाचनमा लागेको बताउनु भयो । सबैको सामुहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी निर्वाह गर्न सकिने उल्लेख गर्नुभयो ।
६. दुधकोशी जलाधार क्षेत्रका अधिकांश विद्यालय बहुप्रकोपिय विपद्को जोखिममाः दुधकोशी आधारभुत विद्यालयले विद्यार्थीलाई गरायो कृत्रिम अभ्यास
दुधकोशी जलाधार क्षेत्रका अधिकांश विद्यालय जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) जस्ता जोखिममा रहेको एक अध्ययनले देखाएको छ । स्वीजरल्याण्डको युनिभर्सिटी अफ लुजान(युएनआईएल) ले दुधकोशी जलाधारका माथिल्लो र तल्लो तटिय क्षेत्रका विद्यालयमा गरेको अध्ययनमा पृथ्वीको तापक्रमवृद्धिका कारण जलवायुमा परिवर्तन हुँदा हिमताल विस्फोटजन्य बाढीको र अतिवृष्टिको कारण उत्पन्न्न हुने बाढी तथा पहिरोको जोखिममा रहेको देखिएको हो ।
७. दरबारमार्गमा ‘ड्रिम स्किन’ को उद्घाटन
काठमाडौंको दरबारमार्गमा कोरियन ब्युटी प्रोडक्ट्सको चर्चित ब्राण्ड ‘ड्रिम स्किन’को नयाँ शोरूमको उद्घाटन भएको छ । नेपालका लागि दक्षिण कोरियाली राजदुत पार्क ताइयोङले शोरुमको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा ब्युटी तथा फेसन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने कोरियन स्किनकेयरप्रति रुचि राख्नेहरूको भीड थियो । ‘ड्रिम स्किन नेपाल’ले लाजिम्पाट र बानेश्वरपछि दरबारमार्गमा आफ्नो तेस्रो शाखा विस्तार गरेको हो । यो शोरूममा १०० प्रतिशत अथेन्टिक कोरियन ब्युटी प्रोडक्ट्स जस्तै स्किनकेयर, मेकअप, के–ब्यूटी आइटमहरू उपलब्ध छन् । विशेषगरी ग्लोइङ स्किन, हाइड्रेसन र एन्टी–एजिङ सम्बन्धी प्रोडक्टहरूमा जोड दिइएको राजदुत ताइयोङले बताउनु भयो ।
८. गाजामा आएको आँधीमा एक बालक र एक महिलाको मृत्यु
गाजा पट्टीमा आएको भीषण आँधीका कारण एक बालक र एक महिलाको मृत्यु भएको सो क्षेत्रको नागरिक रक्षा निकायले घोषणा गरेको छ । निकायका प्रवक्ता महमुद बासलले एक प्रेस विज्ञप्तिमार्फत भारी हावाहुरी र वर्षाका क्रममा सात वर्षीय बालकको इनारमा खसेर र ३० वर्षीया महिलाको पर्खाल भत्किँदा मृत्यु भएको जानकारी दिनुभयो । बासलकाअनुसार नागरिक रक्षा टोलीले वर्षाको पानीले भरिएका दर्जनौं पालहरूमा उद्धार कार्य गर्दै बासिन्दाहरूलाई पानी बाहिर फाल्न र नाला सफा गर्न सहयोग गरिरहेका छन् ।
९.जेलेन्स्कीसँगको वार्तापछि युक्रेन शान्ति सम्झौताको निकै नजिक पुग्यौँः ट्रम्प
अमेरिकी राष्ट्रपति ट्रम्पले फ्लोरिडामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटपछि युक्रेन संकट समाधानका लागि ९५ प्रतिशत शर्तहरूमा सहमति जुटेको र शान्ति सम्झौताको निकै नजिक पुगेको बताउनुभएको छ । ट्रम्पले फ्लोरिडामा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटवार्तापछि युक्रेन संकट अन्त्यका लागि शान्ति सम्झौताको धेरै नजिक, सायद निकै नजिक पुगेको विश्वास व्यक्त गर्नुभयो । जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले दुई राष्ट्रपतिले बैठकका क्रममा नाटो र युरोपेली संघका नेताहरूसहित अन्य युरोपेली नेताहरूसँग पनि कुराकानी गरेको जानकारी दिनुभयो ।
१०. दक्षिण स्पेनमा भारी वर्षाका कारण एक जनाको मृत्यु, दुई बेपत्ता
दक्षिण स्पेनमा परेको मुसलधारे वर्षाका कारण आईतवार ५० वर्षका एक पुरुषको मृत्यु भएको छ । अन्य दुई जना अझै बेपत्ता छन् । मृतक मालागा प्रान्तको अल्हौरिन एल ग्रान्डे शहर नजिकै भ्यानमा यात्रा गरिरहेका बेला उक्त सवारी साधन बाढीमा फसेको थियो । सहरका मेयरले उनको मृत्युको पुष्टि गरेका छन् । भ्यानमा सवार ५० वर्षकै अर्का एक यात्रु अझै बेपत्ता छन् ।
११. भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा अमेरिकासँग वार्ताको प्रश्ताव
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकाले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने शर्तमा आपसी सम्मानका आधारमा अमेरिकासँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । राष्ट्रपति मदुरोले एक टेलिभिजन सम्बोधनका क्रममा अमेरिकासँग वार्ताका लागि आफ्नो इच्छा व्यक्त गर्नुभएको हो । उहाँले आपसी सम्मानका आधारमा र भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने शर्तमा संवाद हुनसक्ने उल्लेख गर्नुभयो । राष्ट्रपति मदुरोले यदि अमेरिका विगत २५ वर्षदेखि गर्दै आएको हस्तक्षेपकारी प्रयासहरू छोड्न र सम्मानजनक रूपमा संवाद गर्न तयार छ भने आफूले त्यसलाई स्वागत गर्ने बताउनु भयो । साथै शान्ति, सहयोग तथा समृद्धिको बाटो पहिल्याउन पहल गर्ने बताउनु भयो ।
१२. मध्य अफ्रिकी गणतन्त्रमा आम निर्वाचन सम्पन्न
मध्य अफ्रिकी गणतन्त्रमा आईतवार शान्तिपूर्ण रूपमा आम निर्वाचन सम्पन्न भएको छ । मतदाताहरूले मुलुकको विकास र रोजगारीको आशा राख्दै उत्साहजनक सहभागिता जनाएका छन् । आईतवार राष्ट्रपतीय, व्यवस्थापिका, क्षेत्रीय र स्थानीय तहको निर्वाचनका लागि मतदान प्रक्रिया सम्पन्न भएको हो । स्थानीय समयअनुसार बिहान ६ बजे शुरु भएको मतदान साँझ ६ बजेसम्म देशभर सञ्चालन भएको थियो । मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।
१३. पर्यटनलाई उद्योग भनेका छौँ तर सुविधा दिएका छैनौँः पर्यटनमन्त्री सिन्हा
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताउनुभएको छ । सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन उद्योगलाई उद्योगको रुपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई हाल भएको कानुनले नदिएको उल्लेख गर्नुभयो । यसलाई सहजीरकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले हाल ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकहरुले होटलहरु खचाखच भरिएको बताउनु भयो ।
१४. शितलहरका कारण मधेसमा दलित समुदाय पिडामा छन् ः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय यादवले मधेसमा हाल शितलहरका कारण दलित समुदाय पीडामा रहेको बताउनुभएको छ । राष्ट्रिय दलित आयोगले सोमवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । प्राकृतिक विपद्हरुमा दलित समुदाय सबैभन्दा बढी जोखिममा रहने गरेको उहाँको भनाई छ । यसमा आयोग अभिभावकको भुमिकामा देखिनुपर्नेमा उहाँले जोड दिनुभयो । आयोगले आफैँले सहयोग गर्नसक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउनुपर्ने बताउनु भयो । सरकारको ध्यान पुग्न नसकेको स्थानहरुमा आयोगले तत्कालै सरकारको ध्यानाकर्षण गराउनुपर्ने उहाँको भनाई छ ।
१५. सांसदहरु भन्छन्ः ‘पर्यटन क्षेत्रको दिगो विकासको कानूनी स्पष्टता आवश्यक’
पर्यटन क्षेत्रलाई प्रभावकारी, समावेशी र प्रतिष्पर्धात्मक बनाउन पर्यटन विधेयकलाई परिमार्जन गर्न आवश्यक रहेको सांसदहरुले बताएका छन् । विधायन व्यवस्थापन समितिमा सोमवार भएको पर्यटन विधेयकमाथिको छलफलमा सांसदहरुले पर्यटनलाई स्थानीय तहसँग जोठ्नुपर्ने, पहुँचयुक्त पर्यटन प्रवद्र्धन गर्नुपर्ने र पर्यटन क्षेत्रलाई सुरक्षित बनाउनुपर्नेेमा कानुनी स्पष्टता आवश्यक रहेकोले विधेयक परिमार्जन गर्नुपर्ने बताएका हुन् । नेकपा (एकीकृत समाजवादी)का सांसद वेदुराम भुसालले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पु¥याइरहेकोले यसलाई राष्ट्रको हितमा प्रयोग गर्न कानून परिमार्जन आवश्यक रहेको बताउनु भयो ।
१६. सुत्केरी र गर्भवतीका लागि चाहिने आइरनसमेत किन्न सकिएको छैनः स्वास्थ्यमन्त्री गौतम
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन समेत किन्न नसकिएको बताउनुभएको छ । सोमवार वसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले खरिद प्रक्रियामा देखिएको समस्याका कारण पछिल्ला दुई वर्षदेखि सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक पर्ने आइरनसमेत सरकारले किन्न नसकेको बताउनुभएको हो । खरिद प्रणालीमा हुने टेण्डर प्रक्रियामा भाग लिन नपाएका कम्पनीलेहरुले उजुरी दिने लगायतका कारण समस्या आएको मन्त्री गौतमको भनाइ छ । उहाँले प्रदेश सरकारहरुले आ–आफूले औषधि खरिद गर्दा पनि समस्या भएको बताउनु भयो ।
१७. आन्दोलनमा बल प्रयोगको निर्देशन गृहमन्त्रीेले दिने कानूनी अधिकार छैन, दिएको पनि छैनः पूर्वगृहमन्त्री लेखक
पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट गर्नुभएको छ । जाँचबुझ आयोगमा वयान दिएलगत्तै काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो । उहाँले कुनैपनि आन्दोलनको क्रममा प्रधानमन्त्री वा मन्त्रीले सुरक्षा निकायलाई कति र कसरी बल प्रयोग गर्ने ? भन्ने आदेश दिने कुनै संवैधानिक वा कानूनी व्यवस्था नभएको उल्लेख गर्नुभयो ।
१८. उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री सहयोग
लायन्स क्लव अफ काठमाडौं थलीले उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका लागि आवश्यक उपकरण दिएको छ । सोमवार क्लवले उपत्यका ट्राफिक प्रहरीलाई उपलब्ध गराएको सामग्री काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललेको उपस्थितिमा कार्यालयलाई हस्तान्तरण गरेको हो । ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण गर्दै क्लवका प्रतिनिधि रुपक सिम्खडाले बढ्दो सवारी चाप व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले म्याजिक लाइट उपलब्ध गराएको बताउनु भयो । उहाँले अगामी दिनमा समेत समाजको आवश्यकताको आधारमा सुरक्षाकर्मीहरुलाई क्लबको क्षमताअनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
१९. स्थानहद तोक्ने र राहदानी रोक्का गरेको विषयमा मलाई कुनै जानकारी दिइएन, यो संविधान र कानून विपरित छः लेखक
पूर्वगृहमन्त्री रमेश लेखकको सरकारले आफूलाई पूर्वजानकारी समेत नदिई स्थानहद तोकेको तथा राहदानी रोक्का गरेको भन्दै उक्त निर्णय विधिको शासन र संविधान तथा कानूनि व्यवस्थाविपरित भएको टिप्पणी गर्नुभएको छ । सोमवार जाँचबुझ आयोगमा वयान दिएलगत्तै पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो टिप्पणी दिनुभएको हो । उहाँले आयोगको सिफारिसमा सरकारले आफूमाथि काठमाडौं उपत्यका बाहिर जान प्रतिवन्ध लगाएको र राहदानी रोक्का गरेको जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाएको पनि उल्लेख गर्नुभयो । उहाँले प्रचलित कानुनको कुन व्यवस्थाअनुसार के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि किन स्थानहद र राहदानी रोक्का गरेको हो ? भन्नेबारे कुनै जानकारी प्राप्त नभएको पनि बताउनु भयो ।
२०. आगामी निर्वाचनमा एमालेसँग सहकार्य गरेर जान सकिन्छः राजेन्द्रप्रसाद पाण्डे
नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले नेकपा (एमाले)सँग पनि निर्वाचनमा सहकार्य गरेर जान सकिने संकेत गर्नुभएको छ । सोमवार आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्द सूचि बुझाउन निर्वाचन आयोग पुग्नुभएका उहाँले एमालेसँग पनि कुरा शुरु गरिएको संकेत गर्दै सहकार्य गरेर अघि बढ्ने कुरा नरोकिने बताउनुभएको हो । नेता पाण्डेले आफ्नो पार्टीले देश, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा लागि आगामी निर्वाचनमा सहकार्य गरेर जान सकिने समेत स्पष्ट पार्नुभयो ।
२१. छुवाछुत र जातीय विभेद अन्त्यका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छः मन्त्री परियार
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले सरकारले छुवाछुत र जातीय विभेद जस्तो अपराधलाई पूर्ण रुपमा अन्त्य गर्न लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय दलित आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आवश्यक नीतिगत र बजेटको व्यवस्था गरेमात्रै मुलुकमा विद्यमान छुवाछुत र जातीय विभेद जस्ता अपराधपूर्ण कार्य अन्त्य हुने बताउनुभएको हो । मन्त्री परियारले छुवाछुट र जातीय विभेद अन्त्यका लागि दलित समूदायको परम्परागत सीपलाई आधुनिकीकरण गर्दै आर्थित आत्मनिर्भरताको कार्यक्रमलाई जोड दिएर अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले दलितमैत्री ऐन नियमहरुको कार्यान्वयनका लागि सम्वद्ध पक्षले सरकारलाई घच्घच्याउनुपर्नेमा पनि स्पष्ट पार्नुभयो ।
२२. निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापना भए स्वीकार्य हुन्छः काँग्रेस
नेपाली काँग्रेसले निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएको त्यसलाई स्वीकार गर्ने बताएको छ । सोमवार निर्वाचनका लागि समानुपातिक बन्द सूचिको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोग पुग्नुभएका नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सो कुरा बताउनुभएको हो । उहाँले काँग्रेसले पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको उल्लेख गर्दै त्यसअघि नै अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरे त्यसलाई स्वागत र स्विकार गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले नयाँ राजनीतिक शक्तिहरुबीचको एकतालाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको समेत बताउनु भयो ।
२४. सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौँः रेशमलाल चौधरी
रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ । सोमवार पार्टीको तर्फबाट समानुपातिक तर्फको सांसदहरुको बन्दसूचि बुझाउन निर्वाचन आयोग पुग्नुभएको उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । उहाँले नागरिक उन्मुक्ति पार्टीलगायतका पाटीहरुसँग गठबन्धन गरेर निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पार्नुभयो । सो पार्टीका संरक्षक चौधरीले समानुपातिक बन्द सूचिमा पनि आफूले देशका सबै भूगोललाई समेटर उम्मेदवार बनाएको पनि जानकारी दिनुभयो ।
२५. तयारी पुरा भएका आयोजनाहरुको बजेट फुकुवा, अब काम अघि बढ्ने
सरकारले रोकिएका तीन करोड भन्दा कम कार्यक्रमका योजनाहरुको कतिपय बजेट फुकुवा गरेको छ । चालु आर्थिक वर्षको गत असोजमा ३ करोड भन्दा कम बजेटका एकहजार भन्दा बढी आयोजना स्थगन गरेको थियो । तर केही दिन यता भने त्यस्ता आयोजनाहरुमा राखिएको बजेट फुकुवा गर्न थालिएको हो । अर्थ मन्त्रालयकाअनुसार अहिले स्थगन गरिएका मध्ये कतिपय आयोजना प्रोजेक्ट बैंकमा प्रविष्ट रहेको र तिनमा सरकारले लगानी गरिसकेकाले रोक्का बजेट फुकुवा गर्न थालिएको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।
२६. बैंकहरु तल्लो वर्गसम्म पुगेर अर्थतन्त्र चलायमान बनाउन खोजिरहेको छन्ः कोईराला
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले तल्लो वर्गसम्म बैंकहरु पुग्न खोजिरहेको बताउनुभएको छ । ग्रामिण क्षेत्रसम्मै बैंकहरु अहिले पुगिरहेको बताउँदै उहाँले तल्लो वर्गलाई माथि उठाएर अर्थतन्त्र चलायमान बनाउन बैंक तथा वित्तीय संस्था निरन्तर लागिपरिरहेको बताउनु भयो । सोमवार आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तीय संस्थाले गरेका राम्रो कामहरु ओझेलमा परेको गुनासो गर्नुभयो । उहाँले नकारात्मक कार्यहरुले प्रश्रय पाउँदा बैंक तथा वित्तिय संस्थाहरुमाथि आक्रमणका घटनाहरु हुने गरेको समेत बताउनु भयो । न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij