२०८२ पौष १३ गते आइतवार
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचि अन्तिम रूप दिने एजेण्डा रहेको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउने अन्तिम मिति आज नै तोकेकाले बैठकले यसलाई प्राथमिकतामा राखेर छलफल गरिरहेको पार्टी स्रोतले जनाएको छ ।
जिल्ला र प्रदेश तहबाट सिफारिस भएका नामहरूको आधारमा छोटो सूची तयार पारिएको र आजको बैठकबाट अन्तिम निर्णय गरी आयोगमा बुझाउने तयारी छ । बैठकमा पार्टीको कार्यालय व्यवस्थापन, वर्तमान राजनीतिक स्थिति र अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग भएको छलफलको ब्रिफिङलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको यो पहिलो सचिवालय बैठक भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij