२०८२ पौष १२ गते शनिवार
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक दलहरू एकता भई गठित हुने पार्टीको सभापति रवि लामिछाने बन्ने र आगामी चुनावपछिको प्रधानमन्त्री हाल काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन्द्र शाह (बालेन) हुने प्रस्ताव अस्वीकार गरेको छ ।
उज्यालो नेपालको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा रास्वपा र मेयर बालेनको तर्फबाट आएको प्रस्तावबारे छलफल भएको थियो । एकताका लागि भनेर आएको प्रस्तावमा संरक्षक कुलमान घिसिङ र पार्टीको हिस्सेदारी के कति हुने भन्ने ठोस प्रस्ताव नआएको र आफ्नो कुरा मात्रै राखिएको भन्दै सभापति रवि लामिछाने हुने र आगामी प्रधानमन्त्री बालेन हुने प्रस्ताव अस्वीकार गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
ती केन्द्रीय सदस्यका अनुसार नयाँ राजनीतिक शक्तिबीच एकताको प्रयास भने जारी राख्नेबारे छलफल भएको छ । "केन्द्रीय समितिको बैठकमा रवि पार्टी सभापति हुने र आगामी प्रधानमन्त्री बालेन हुने भनी प्रस्ताव आएको कुरा राख्नुभएको छ । उज्यालो नेपाललाई यो प्रस्ताव स्वीकार्य छैन भनियो" ती केन्द्रीय सदस्यले भने ।
बैठकमा रास्वपा र बालेन्द्र शाहसँग मिलेर जानुपर्ने विषयमा छलफल भने भएको उज्यालो नेपालका केन्द्रीय सदस्य डा. अभिषेक सिंहले जानकारी दिए । "एकताको प्रयास जारी राख्ने गरी विभिन्न चरणमा छलफल जारी राख्नेबारे छलफल भइरहेको छ" सिंहले भने । सिंह उज्यालो नेपालबाट रास्वपा र बालेनबीच भइरहेका छलफलमा सहभागी नेता हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij