Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

गगन-विश्वप्रकाशसहित कांग्रेसका ७ नेता चुनाव नलड्ने

गगन-विश्वप्रकाशसहित कांग्रेसका ७ नेता चुनाव नलड्ने


  • 680
    Shares

    गगन-विश्वप्रकाशसहित कांग्रेसका ७ नेता चुनाव नलड्ने
    images

    काठमाडौं । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब ७० दिन बाँकी छ । राजनीतिक दलहरूले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिसको काम गरिरहेका छन् । यस्तोमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका तीन पदाधिकारीसहित ७ जना नेताले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । केही नेताले सर्त राखेर त्यो पूरा नभए निर्वाचन नलड्ने बताएका छन् भने केहीले नयाँपुस्तालाई स्थान दिन अब निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
     
    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू राजेन्द्र केसी र मानबहादुर विश्वकर्मा तथा धादिङ सभापति रामनाथ अधिकारीले निर्वाचन नलड्ने घोषणा गरेका हुन् । 

    नलड्ने घोषणा गरेकामध्ये महामन्त्री र सहमहामन्त्री पाण्डेले शर्त राखेका छन् । पार्टीभित्र र आफ्नो क्षेत्रमा प्रभाव भएका ७ नेता निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेस फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा कसरी सहभागिता जनाउँछ भन्ने चासो बढेको छ ।

    महामन्त्री थापा र शर्माले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका हुन् । महामन्त्री थापाले निर्वाचनसम्म नेतृत्व नफेरिए निर्वाचन नलड्ने बैठकमा बताएका हुन् ।
     
    ‘निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने निर्वाचनमा जान सम्भव छैन,’ बैठकमा महामन्त्री थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जाने हो भने को–को निर्वाचन लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’
     
    थापाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नै नेतृत्व परिवर्तन गरेर मात्रै निर्वाचनमा जानुपर्ने सार्वजनिक रूपमा बताउँदै आएका छन् । पार्टीमा पनि सके नियमित महाधिवेशन गरेर नभए विशेष महाधिवेशन गरेर भएपनि नेतृत्व परिवर्तन गरेमा मात्र निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् । 

    थापा २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएका थिए भने २०७० को दोस्रो संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि भए । 

    थापाको नाम प्रतिनिधिसभा क्षेत्रीय समितिले ६ स्थानबाट उम्मेदवार सिफारिस गरेका छन् । काठमाडौं–४, रोल्पा, धनकुटा, सर्लाही–४, तेह्रथुम र कपिलवस्तु–१ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएको बेलामा उनले नेतृत्व परिवर्तन नभए निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।
     
    अर्का महामन्त्री शर्माले फागुन २१ गतेका लागि घोषित निर्वाचन नलड्ने स्वघोषणा गरे । आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले राजनीतिक प्रवृत्ति भत्काउन अब निर्वाचन नलड्ने उनले बताएका हुन् ।

    ‘लगातार तीन पटक उम्मेदवार बनिसकेकाले यो पटक आफू उम्मेदवार नबनेर अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँछु,’ बैठकमा शर्माले भनेका थिए । शर्मा विघटित प्रतिनिधिसभामा पहिलो पटक सांसद भएका थिए । त्यसअघि प्रत्यासी हुँदै पराजित बन्दै आएका थिए । 

    सहमहामन्त्री पाण्डे उम्मेदवार सिफारिसबारे गृहजिल्ला बाजुरामा भएको छलफलमा उम्मेदवार नबन्ने जानकारी गराउँदै अन्यलाई सिफारिस गर्न आग्रह गरेका थिए । मंसिर २६ गते प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला कार्यसमिति बैठकमा पाण्डेले आफू उम्मेदावर बन्न इच्छुक नरहेको बताएका थिए ।

    केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिन चुनाव नलड्ने निर्णय गरेको रातोपाटीसँगको अन्तर्वार्तामा बताएका थिए ।

    ‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ,’ पाण्डेको भनाइ छ । एक कार्यकाल पार्टी सुदृढीकरणको काममा लाग्ने पाण्डेले बताए । पाण्डे प्रतिनिधिसभा निर्वाचन–२०७९ मा बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । त्यसअघि उनी प्रतिनिधिसभामा समानुपातिक तर्फबाट र राष्ट्रियसभा सदस्य बनेर कार्यकाल पूरा गरेका थिए । 

    पञ्चायत, बहुदल र गणतन्त्रमा नुवाकोटबाट निरन्तर निर्वाचनमा प्रत्यासी बन्दै आएका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले पनि फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । २०३४ सालदेखि निरन्तर निर्वाचनमा प्रत्यासी बन्दै आएका केसीले गृह जिल्ला पुगेर निर्वाचनमा प्रत्यासी नबन्ने बताए । ‘मलाई पार्टीको कहीँ केहीमा राख्नुपर्दैन, अब युवा पुस्ताले नै नेतृत्व लिनुपर्छ,’ केसीले भने । निर्वाचनमा उम्मेदवार नबने पनि राजनीतिबाट टाढा नहुने उनको भनाइ थियो ।
      
    काठमाडौं १० बाट उम्मेदवार बन्दै तीन पटक निर्वाचन जितेका राजेन्द्रकुमार केसीले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनले नयाँलाई अवसर दिन यस्तो निर्णय लिएको बताएका छन् । केसी २०७० को संविधानसभा तथा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ १० बाट प्रत्यासी बनेर निर्वाचित भएका थिए । उनी २०७० को संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएर चर्चित भएका थिए । उनी युवा तथा खेलकुदमन्त्री पनि बने । केसीले युवापुस्तालाई पार्टी र सरकारको नेतृत्वमा पुर्‍याउनुपर्ने धारणा राख्दै आएका छन् ।

    कांग्रेसका नेता मानबहादुर विश्वकर्माले पनि कुनै लाभको पद नलिने घोषणा गरेका छन् । उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक र राष्ट्रियसभामा समेत उम्मेदवारी नदिने घोषणा गरे । ‘अब नयाँ र युवापुस्तालाई अवसर दिनुपर्छ,’ विकले भने, ‘मलाई कुनै पनि लाभको पदमा सिफारिस नगर्नुहोस् । जिल्लाबाट नयाँ र योग्य उम्मेदवारलाई सिफारिस गर्नुहोस् । पार्टीका उम्मेदवारलाई जिताउन मेरो तर्फबाट पूर्ण सहयोग रहनेछ ।’

    २०६३ सालमा वातावरण, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका विश्वकर्मा २०६४ सालमा अर्घाखाँची–१ बाट संविधानसभा सदस्य उम्मेदवार बनेका थिए । विश्वकर्माले समानुपातिक प्रणालीबाट २०७० मा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्यको कार्यकाल पूरा गरेका थिए ।

    कांग्रेस धादिङका सभापति एवं निवर्तमान कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पनि आउँदो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

    प्रतिनिधिसभा क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितिको बैठकमा अधिकारीले २१ फागुनमा तय भएको निर्वाचनका लागि आफ्नो दाबी नरहने घोषणा गरेका थिए । 

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १४:३६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij