२०८२ पौष १० गते बिहिवार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
सो पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो ।
उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने सो पार्टीका नेता सन्तोष पनेरुले जानकारी दिए । भरतपुर महानगरपालिकाको एक बर्षे कार्यकाल बाँकी छँदै महानगर प्रमुख दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेको जनाइएको छ । सर्वसम्मत उम्मेदवार सिफारिस बैठकमा आफैं उपस्थित भएकी दाहालले महानगरपालिकामा झन्डै ९ वर्ष काम गरिसकेको अनुभव र जनताको अपार मायालाई सधै साथमा लिएर आगामी निर्वाचनमा लाग्ने बताइन् ।
उनले विगतमा काठमाडौंमा उम्मेदवार बनेर हार्न समेत तयार भएको परिस्थितिको समेत सामना गरिसकेको भन्दै चितवन क्षेत्र नं. ३ का जनताले आफूलाई विश्वास गर्ने बताइन् । उनले भरतपुर र माडी क्षेत्रका जनताको अपार माया र साथ सदैव पाइरहेको भन्दै सिंगो जीवन नै जनताको सेवामा सर्मपित गरेको बताइन् ।
चितवन निर्वाचन क्षेत्र नं. ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडाहरू पर्दछन् । २०७४ सालको निर्वाचनमा रेनुका पिता तथा तत्कालीन एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस निर्वाचन क्षेत्रबाट जित हात पारेका थिए ।
२०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता डा. भोजराज अधिकारी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसँग पराजित बनेका थिए । सो निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेर दिनेश कोइराला एमालेको सर्मथनमा ‘माछा’ चुनाव चिह्न लिएर निर्वाचन लडे पनि पराजित बनेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij