Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 820
    Shares

    आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. नेकपा (एमाले) का नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण

    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मतपरिणाम घोषणा भएलगत्तै नवनिर्वाचित नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथ लिएका हुन् । महाधिवेशनबाट केपी शर्मा ओली नै पार्टी अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले प्रतिष्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि नेतृत्व हात पार्नुभयो । यसैगरी उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गर्नुभयो भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ । शंकर पोखरेल महासचिवमा विजयी हुनुभयो भने उपमहासचिवमा रघुवीर महासेठ,लेखराज भट्ट र योगेश भट्टराई विजयी हुनुभयो । 

    २. दोस्रो एमआरसी फुटसल शुक्रवारदेखि

    मित्रनगर राइजिङ क्लव (एमआरसी) ले एमआरसी फुटसल प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने भएको छ । आगामी पुस ४ र ५ गते काठमाडौंको सामाखुशीस्थित मनाङ मस्र्याङ्दी फुटसल क्लवमा उक्त प्रतियोगिता आयोजना हुने भएको हो । गत सेप्टेम्बरमा सम्पन्न जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । एमआरसीका संयोजक सोनाम तामाङकाअनुसार प्रतियोगितामा करिव ४० देखि ५० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ । प्रतियोगिताको कुल अनुमानित खर्च करिब ९ लाख रुपैयाँ रहेको छ । 

    ३. जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आजको पारदर्शीता, सुशासन, भ्रटाचारमुक्त समाज, सरल सार्वजनिक सेवा, देशभित्रै रोजगारीका अवसरको मागसहित उठेको जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिशा दिएको उल्लेख गर्नुभयो । उहाँले आधुनिक पूर्वाधारले मात्र राष्ट्रलाई प्रतिष्पर्धी बनाउने बताउनु भयो । पत्रकारिताले पूर्वाधार विकासमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न निगरानी भुमिका खेल्न सक्नुपर्ने बताउनु भयो ।

    ४. जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल

    अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगाउन सफल भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले भदौ २३ र २४ को घटनापछि नेपाल एउटा अनिश्चयको भुमरिमा फस्यो, अर्थतन्त्र ध्वस्त भयो, नागरिकहरु विचल्लीमा परे भन्ने परिदृश्य भन्दा फरक सरकारले ९० दिनमै तिब्रगतिमा पुनःनिर्माण गरेको बताउनु भयो ।

    ५. काठमाडौंमा कानून निर्माणसम्बन्धी तीन दिने प्रशिक्षण शुरु

    नेपाल कानून समाजले पुस ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा तीन दिने स्थानीय तहको कानून निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम शुरु भएको छ । बिहीवार पत्रकार सम्मेलन गरी कानून समाजले यसबारे जानकारी गराएको हो । समाजका प्रमुख कार्यकारी निर्देशक कृष्णमान प्रधानले कार्यक्रममा वागमती प्रदेश अन्तर्गतका स्थानीय तहका मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्ष विधायन समितिका पदाधिकारी र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुने गरी जम्मा ३० जनाको सहभागिता रहनेछ । पालिकाले आजसम्म बनाउँदै आएको ऐन, नियम र निर्देशिका तयार गर्दाको अनुभवको जानकारी गराउने र नयाँ बन्ने ऐन, नियमको लागि मस्यौदा गर्ने कलाको बारेमा प्रशिक्षण हुने बताउनु भयो । 

    ६. एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस्

    नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आग्रह गरेको छ । बिहीवार सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आह्वान गर्ने प्रश्ताव पारित गरेको हो । प्रश्तावहरुबारे जानकारी गराउँदै केन्द्रिय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरुको सम्पती छानविन गर्न माग गर्नुभयो । दोषी देखिएकाहरुलाई कानून बमोजिम कारबाही गर्न आग्रह गर्दै राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गर्न पनि आग्रह गर्नुभयो । उहाँले एमाले हमेसा सुशासन, पारदर्शिता र स्वच्छताका पक्षमा उभिँदै आएको भन्दै प्रश्न उठ्नासाथ सार्वजनिक ओहोदाबाट राजीनामा दिएर राज्यका अख्तियारप्राप्त निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानूनबाट सफाई नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको बताउनु भयो । 

    ७. एमाले नेतृत्व चयनः ८० वटै मेसिनको मुचुल्का तयार गरिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा घोषणा

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । बिहीवार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सम्पन्न भएको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ । अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना शुरु हुनेछ । 

    ८. एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित

    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनको मतपरिणामअनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५ सय ६४ मत मात्र प्राप्त गर्नुभयो । कुल २ हजार २ सय २७ मत खसेको निर्वाचनमा ओलीले भारी मतान्तरले विजय हासिल गर्नुभएको हो । यो विजयसँगै ओलीले पार्टी नेतृत्वमा ‘ह्याट्रिक’ पूरा गर्नुभएको छ । यसअघि २०७१ मा नवौँ महाधिवेशनबाट पहिलो पटक र २०७८ मा दसौँ महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष निर्वाचित हुनुभएका ओलीले यसपटक पनि स्पष्ट बहुमत प्राप्त गर्नुभयो । ओलीको प्यानलबाट महासचिवमा शंकर पोखरेल निर्वाचित हुनुभयो ।

    ९.कंगोको दक्षिण किभुमा झडपपछि दुई शहरमा मानवीय गतिविधि निलम्वन

    संयुक्त राष्ट्रसंघकाअनुसार पूर्वी डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को दक्षिण किभु प्रान्तका विभिन्न भागमा भएका झडपका कारण फिजी र बाराका शहरमा सबै मानवीय गतिविधि निलम्वित छन् । दैनिक ब्रिफिङमा संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्ता फरहान हकले यो जानकारी दिनुभएको हो । उहाँले मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) लाई उद्धृत गर्दै पछिल्लो हिंसाले सर्वसाधारणमा व्यापक त्रास उत्पन्न गरेको र सशस्त्र व्यक्तिहरूले लुटपाट पनि गरेको बताउनु भयो । स्थानीय अधिकारीहरूकाअनुसार डिसेम्बर ८ देखि करिव १ लाख १० हजार मानिसहरू दक्षिण किभुका अन्य भागमा विस्थापित भएका छन् भने केही बुरुन्डीतर्फ लागेका छन् । तान्जानियातर्फ जानेहरूको पनि खबर आएको हकले बताउनु भयो । 

    १०. पूर्वी डीआर कंगोमा एम २३ विद्रोहीहरू उभिराबाट फिर्ता हुन थाले

    कंगो लोकतान्त्रिक गणतन्त्र (डीआर कंगो) को पूर्वी क्षेत्रमा रहेको रणनीतिक शहर उभिराबाट मार्च २३ मोभमेन्ट (एम२३) विद्रोही समूहका लडाकुहरू बुधवारदेखि फिर्ता हुन थालेका छन् । शहरको मुख्य आधारबाट सैनिक गाडीहरू र एम२३ सदस्यहरू बाहिरिँदै गरेको देखिएको थियो । विद्रोही समूहका प्रवक्ता लरेन्स कान्युकाले फिर्ताको पुष्टि गरेका छन् तर थप विवरण दिएनन् । डिसेम्बर १० मा उभिरा कब्जा गरेको दाबी गरेपछि एम२३ ले सोमवार अमेरिकी मध्यस्थकर्ताहरूको अनुरोधमा एकपक्षीय रूपमा आफ्ना फौजहरू फिर्ता लिने निर्णय घोषणा गरेको थियो । एम२३ सँग गठबन्धन गरेको राजनीतिक–सैनिक गठबन्धन कंगो रिभर अलायन्स (एएफसी) का नेता कोर्नेल नाङ्गाले यो फिर्तालाई सशर्त बताएका छन् । 

    ११ं. भेनेजुएलाका प्रतिवन्धित तेल ट्याङ्करहरूमा ट्रम्पद्वरा पूर्ण नाकाबन्दीको आदेश

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका सबै प्रतिवन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दीको आदेश दिएका छन् । जसले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोमाथि चलिरहेको दबाब अभियानलाई थप तिब्र बनाएको छ । ट्रम्पले भेनेजुएलाको सरकारलाई “विदेशी आतङ्कवादी सङ्गठन” को रूपमा नामकरण गर्नुभएको छ । जसलाई आतङ्कवाद, लागुऔषध तस्करी र मानव तस्करी जस्ता अपराधहरूमा संलग्न भएको आरोप लगाएका छन् । उहाँले अमेरिकाले “शत्रु शासनलाई हाम्रो तेल, जमिन वा अन्य सम्पत्ति लिन अनुमति नदिने” बताउँदै भेनेजुएलाले अमेरिकाबाट “चोरेका” सबै सम्पती फिर्ता गर्नुपर्ने माग गरेका छन् ।ट्रम्पले थप भनेका छन् कि भेनेजुएला “दक्षिण अमेरिकाको इतिहासमा कहिल्यै जम्मा नभएको सबैभन्दा ठूलो जलसेनाले पूर्ण रूपमा घेरिएको छ” र यो दबाब सम्पत्ति फिर्ता नगरेसम्म जारी रहने चेतावनी दिएका छन् । 

    १२. संयुक्त राष्ट्रसंघका महासचिवद्वारा क्यारेबियन क्षेत्रमा संयम अपनाउन आह्वान

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले क्यारेबियन क्षेत्रमा संयम अपनाउन र तत्काल तनाव न्युनिकरण गर्न आह्वान गर्नुभएको छ । महासचिवका उपप्रवक्ता फरहान हकले यो जानकारी दिनुभएको हो । अमेरिकाको भेनेजुएलाविरुद्धको पछिल्लो कदमहरूबारे सोधिएका प्रश्नहरूको जवाफमा हकले दैनिक पत्रकार सम्मेलनमा भन्नुभएको थियो । महासचिव गुटेर्रेसले वर्तमान अवस्थालाई निकै नजिकबाट अनुगमन गरिरहनुभएको उहाँले बताउनु भयो । हककाअनुसार महासचिवले सबै सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्य लागू हुने कानूनी ढाँचाहरूको सम्मान गर्दै क्षेत्रमा शान्ति कायम गर्न आफ्ना दायित्वहरू पूरा गर्न आह्वान गर्नुभएको छ । 

    १३. न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रमको मूल्य भन्दा कम पारिश्रामिकमा नेपाली कामदार विदेश पठाउन नहुने बताउनुभएको छ । २५ औँ अन्तर्राष्ट्रिय आप्रवासनको व्यवस्थापन तथा पुनः एकीकरणका विषयमा मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । श्रमको मूल्य र सुरक्षाको ग्यारेन्टी गरेर दक्ष सीपयुक्त व्यक्तिलाई मात्रै रोजगारको लागी अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्नेमा जोड दिनुभयो । हाल विश्वव्यापी रुपमा १ करोड ७९ लाख भन्दा बढी श्रम आप्रवासी रहेको उल्लेख गर्नुहुँदै नेपालबाट पनि वार्षिक ८ लाख ३९ हजार नेपाली रोजगारीको लागि विदेशिने गरेको जानकारी दिनुभयो । विदेशमा पहिलो पटक जाने नै पाँच लाख बराबरको जनशक्ति रहेको र त्यो अझ थपिने क्रममा रहेको उहाँको भनाई छ । 

    १४. मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ

    उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले कानूनी अड्चनको कारण आफू मन्त्री हुँदा समेत नेपाल विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न नसकेको बताउनुभएको छ । गोरखापत्र संस्थानको आयोजनामा बिहीवार भएको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा उहाँले विद्युत प्राधिकरणको शेयरलाई बजारमा लैजान नसकेको बताउनुभएको हो । उहाँले प्राधिकरणसँग लगानीयोग्य परियोजना पर्याप्त मात्रामा हुँदाहुँदै पनि रकम अभावको कारणले अगाडी बढाउन नसकेको बताउनु भयो । प्राधिकरणको २० प्रतिशत शेयर बजारमा निष्कासन गरेर पैसा उठाउनसके ऊर्जा क्षेत्रमा लगानी गर्न सकिने उहाँको भनाई छ ।

    १५. संवैधानिक क्षेत्राधिकारभित्र रहेर कानून निर्माण गर्न स्थानीय तहलाई सुझाव

    विज्ञहरुले कानून बनाउने अधिकारसहितको स्थानीय सरकार भएकाले क्षेत्राधिकारभित्र रहेर कानून निर्माणमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई सुझाव दिएका छन् । नेपाल कानून समाजले स्थानीय निकायका पदाधिकारीका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा विज्ञहरुले संविधानप्रदत्त अधिकारभित्र रहेर प्रभावकारी रुपमा कानून निर्माण गर्न सुझाएका हुन् । संविधानविद् खिमलाल देवकोटाले कानूनले तोकेको अधिकार मात्रै प्रयोग गरेर स्थानीय सरकारले कानून बनाउनसक्ने बताउनु भयो । स्थानीय तहले संविधान विपरित आफूखुशी कानून बनाउन नसक्ने उहाँको भनाई छ । कानूनि व्यक्तिले भने कानूनले गर् भनेको मात्रै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विगतमा स्थानीय सरकारलाई कानून बनाउने अधिकार नभएको पनि स्मरण गर्नुभयो । 

    १६. सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरु निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरु निर्वाचनमा होमिएको बताउनुभएको हो । राजनीतिक दलहरुले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको बताउनु भयो । उहाँले निर्वाचनको तयारी स्वरुप कतिपय राजनीतिक दलहरुले गाउँदेखि शहरसम्म अभियान चलाएको उल्लेख गर्नुभयो । निर्वाचन आयोगले पनि निर्वाचनको कामलाई द्रुत गतिमा अगाडी बढाएको उहाँले जानकारी दिनुभयो । फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरु थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको दाबी पनि गर्नुभयो । 

    १७. ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिनुभएको छ । बिहीवार पार्टी शपथग्रहण लगत्तै पार्टी कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिनुभएको हो । उहाँले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनि गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । उहाँले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । 

    १८. जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना

    जेन–जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको अन्तरिम सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । बिहीवार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले आन्दोलनकारीका मागअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको हो । उहाँले विगतका कुनैपनि सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण मुलुक यस्तो अवस्थामा पुगेको उल्लेख गर्दै सरकारले केही नबिगार्दैमा राम्रो सरकार भन्न नसकिने धारणा राख्नुभयो । जेन–जी आन्दोलनमा सचेत वर्ग (कन्सियस क्राउड) र निराश वर्ग (फ्रस्टेड क्राउड) सहभागी भएको उल्लेख गर्दै उनीहरुको माग र आवश्यकताअनुसार सरकार अघि बढ्न नसेकेको उहाँको भनाइ छ ।

    १९. निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस,  जाँचबुझ आयोगको म्याद एक महिना थप

    सरकारले ‘प्रतिनिधि सभा निवार्चन (पहिलो संशोधन) अध्यादेश २०८२’ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । बिहीवारको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा पेश भएको अध्यादेशमा दलित आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा निर्धारण गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची १ लाई संशोधन गर्न अध्यादेश जारी गर्नुपरेको हो । 

    २०. प्रधानमन्त्री कार्कीलाई जेन–जी प्रतिनिधिको सुझाव– ‘घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु’

    जेन–जी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्नुभएको छ । बिहीवार ‘जेन–जी आन्दोलनको एकसय दिनः उपलब्धी र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनकारीका माग सम्बोधन गर्दै शहीद परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए पद छोडेर तीर्थ यात्रामा निस्कन प्रधानमन्त्री कार्कीलाई आग्रह समेत गर्नुभयो । उहाँले देशसँग जोस, जाँगर र नेतृत्व क्षमता भएका शिक्षित युवाहरू रहेको उल्लेख गर्दै परिवर्तित समयसापेक्ष चल्न नसक्ने जोसुकैले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले सम्झौताको नाममा काठमाडौं केन्द्रित आन्दोलनकारीलाई मात्रै हेरेर गाउँमा रहेका जेन–जी युवाहरूलाई उपेक्षा गरेको आरोप समेत लगाउनु भयो । 

    २१. सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट

    जेन–जी प्रतिनिधि लेनिन बिष्टले सरकारका क्रियाकलाप जेन–जी आन्दोलन र त्यसले उठाएका मुद्दाको पक्षमा नरहेको आरोप लगाउनुभएको छ । बिहीवार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जेन–जी आन्दोलनभित्र ३०–४० वटा समूह रहेको उल्लेख गर्दै सबैलाई समेट्न नसकिएको स्वीकार समेत गर्नुभयो । उहाँले आन्दोलनलाई लिएर केही समूहलाई सडकपक्ष र केहीलाई सरकारपक्ष भनेर आरोप लगाइने गरेको भन्दै सडकपक्षका जेन–जी युवा पुस्ताल अझै न्याय पाउन नसकेको समेत बताउनु भयो । 

    २२. सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं

    वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । बिहीवार नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले यस्तो बताउनुभएको हो । उहाँले वन मन्त्रालयमै विदेशी पैदावारबाट बनाइएका सामग्रीको प्रयोग हुनु लज्जास्पद भएको बताउनु भयो । उहाँले नीतिमा सुधार गर्नुका साथै व्यवहारिक कुरामा पनि सुधार गर्नको लागि हरेक दिनलाई अन्तिम दिन मानेर काम गरिरहेको बताउनु भयो । 

    २३. ‘व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ’ः निर्देशक शर्मा

    एफवन सफ्टका निर्देशक सुवास शर्माले व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई सरकारले पूर्णरुपमा दिनुपर्ने बताउनुभएको छ । हरेक क्षेत्रमा स्मार्ट प्रविधिहरु भित्राउन निजी क्षेत्र सक्षम रहेको बताउँदै सरकारले संकुचनकारी नीति अवलम्वन गर्न नहुने बताउनु भयो । बिहीवार गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा शर्माले नयाँ नयाँ प्रविधि आउँदा सरकार नियमनको पाटोमा ढिला हुने गरेको बताउनु भयो । उहाँकाअनुसार सरकार नियमनमा ढिला हुँदा नयाँ नयाँ टेक्नोलिजि ल्याउने कम्पनीहरुलाई सेवा सञ्चालन गर्न अवरोध गर्न नहुने उहाँको भनाइ छ । 

    २४. जेन–जी आन्दोलनबाट घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जेन–जी आन्दोलनबाट घाइते, शहीद परिवारका १ हजारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने तयारी भएको बताउनुभएको छ । गोरखापत्रसंस्थानले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यसका लागि वैदेशिक रोजगार व्यवसायीहरुसँग समझदारी गर्न लागिएको बताउनु भयो । उहाँकाअनुसार शहीद परिवार र घाइतेलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाइनेछ र उनीहरुले सिकेको सीप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ । त्यसका लागि प्रभावकारी कदम सरकारले चाल्ने उहाँले बताउनु भयो ।

    २५. जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र जेन–जीहरुबीच भएको सम्झौताका कारण पछिल्लो समय निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने गम्भीर चिन्ता पैदा भएको बताउनुभएको छ । बुधवार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै ढकालले केही समयअघि जेन–जी समूह र सरकारबीच भएको सम्झौताले तोडफोड, आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही नहुने हो कि भन्ने आशंका निजी क्षेत्रमा पैदा भएको बताउनुभएको हो । उहाँकाअनुसार तोडफोड आगजनी गर्नेहरु कारबाहीको दायरामा आउनैपर्छ । त्यति नभएसम्म निजी क्षेत्रको मनोबल उकास्न सकिँदैन ।

    २६. निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः  उद्योगमन्त्री सिन्हा

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा उहाँले सरकारले निजी क्षेत्रको मनोबल उकास्न र लगानीका लागि सकारात्मक वातावरण बनाउन खोजिरहेको बताउनु भयो । उहाँले जेन–जी आन्दोलनका क्रममा गरिएको संगठित अपराधलाई छुट नदिइने समेत प्रतिवद्धता जाहेर गर्नुभयो । उहाँकाअनुसार जेन–जीसँगको सम्झौतामा त्यस्तो अपराधलाई कहि छुट दिने भन्ने उल्लेख छैन ।  उद्योग मन्त्री सिन्हाले वर्तमान सरकारको मुख्य दायित्व निर्वाचन गर्ने भएपनि सरकारका आधारभुत जिम्मेवारी सुशासन, सेवा प्रवाहमा सुधार, शान्ति सुरक्षा, भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता, सहज औद्योगिक वातावरण निर्माण, सरकार क्षेत्रको स्वतन्त्रता पनि सरकारको प्रमुख प्राथमिकता रहेको समेत बताउनु भयो । अहिलेको पुस्ता जेन–जीले उठाएका मागहरुलाई सरकारले गम्भीर रुपमा हेरेको समेत उहाँको भनाइ छ । 

    २७. बन्दीपुर केवलकार एण्ड टुरिजम र भारतको अग्रणी अन्तर्राष्ट्रिय होटेल लेमन ट्री होटल्स लिमिटेडबीच सम्झौता

    बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी अन्तर्राष्ट्रिय होटेल लेमन ट्री होटल्स लिमिटेडबीच सम्झौता भएको छ । बन्दीपुरमा होटेल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापनसम्बन्धि सम्झौता सम्पन्न भएको हो । यस सम्झौतासँगै बन्दीपुरमा अब लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्राण्ड अन्तर्गत सञ्चालनमा आउने भएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवारले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

    २८. व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आह्वान गर्नुभएको छ । आज गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै निजी क्षेत्रले धेरै आरोह–अवरोह पार गरेर यहाँसम्म आइपुगेको बताउँदै अबको समयमा पनि अघि बढ्न शाहस गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार मनोबललाई स्थिर बनाइराख्ने केही आधारहरू छन् । जसमा आवधिक र स्वच्छ निर्वाचन प्रमुख हो । कम स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा उठेर चुनाव जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उहाँले उल्लेख गर्नुभयो । परम्परागत दल बाहिरबाट पनि हरेक निर्वाचनमा प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत भएको गभर्नर पौडेलको भनाइ छ ।

    २९. संकुचनकारी नीतिले निजी क्षेत्र दोहोरो मारमा प¥योः कमलेश अग्रवाल

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले संकुचनकारी नीतिले निजी क्षेत्र मारमा परेको बताउनुभएको छ । विश्वका धेरै मुलुकहरूले कोभिडपछि आफ्नो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ५ देखि १० प्रतिशतसम्मको स्टिमुलस प्याकेज ल्याएको उल्लेख गर्दै उहाँले केही देशले अनुदान र धेरैजसोले दीर्घकालीन कर्जामार्फत अर्थतन्त्र चलायमान बनाएको बताउनुभएको हो । गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालको सन्दर्भमा भने राज्यकोषमा पर्याप्त स्रोत नभएकाले बैंकिङ क्षेत्रमार्फत करिव ५ प्रतिशत बराबरको २४० अर्ब रुपैयाँ छोटो अवधिको कर्जा उद्यमी–व्यवसायीलाई उपलब्ध गराइएको बताउनु भयो । 
    उहाँकाअनुसार कोभिडको वर्ष जिडिपी वृद्धि कमजोर भएपनि स्टिमुलस प्याकेज र कर्जा विस्तारकै कारण अर्थतन्त्र पुरानै लयमा फर्किन सफल भएको थियो । उहाँकाअनुसार २०७६÷७७ मा कोभिड आएपछि २०७७÷७८ मा नकारात्मक अवस्थाबाट एकैपटक ३.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।  २०७८÷७९ मा ५.६ प्रतिशतसम्म हासिल गरिएको थियो ।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :पौष ३ २०८२ बिहिवार - १९:४५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij