२०८२ मंसिर २९ गते सोमवार
काठमाडौँ। नेकपा एमालेको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले उम्मेदवारी दर्ता गर्दै आआफ्नो समूहको पदाधिकारीसमेत टुंगो लगाएका छन्। ओलीको समूहले महासचिवमा यसअघिका महासचिव शंकर पोखरेललाई नै अघि सार्ने निधो गरेका छ भने पोखरेल समूहबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार बनेका छन्।
त्यस्तै ओली समूहले पाँच उपाध्यक्षमा आफ्नो समूहबाट विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने निधो गरेको छ। महासचिवमा दाबी गरेका ज्ञवालीले आफूलाई उपाध्यक्ष बनाउने ओलीको निर्णयमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य मात्र बस्ने भन्दै महाधिवेशनस्थल छाडेका छन्।
पोखरेल समूहले चाहिँ उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङलाई अघि सारेको छ। यसअघि ओली समूहमा रहेका रुघुजी पन्तलाई ओलीले आफ्नो समूहमा नराखेपछि पोखरेल समूहले उनलाई उपाध्यक्षमा उम्मेदवार बनाउने भएको छ।
ओली समूहको उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको नाम तय भएको छ भने पोखरेल समूहले उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरीलाई उठाउने भएको छ।
एमालेको नौ सचिव पदमा ओली समूहबाट भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, यामलाल कँडेल र छविलाल विश्वकर्मा उम्मेदवार बनेका छन्। पोखरेलको समूहबाट सचिव पदमा रचना खड्का, विनोद ढकाल र कर्ण थापाको नाम तय भएको छ।
दुवै समूहले अहिले समूहगत उम्मेदवारको नाममा छलफल जारी राखेका छन्। पोखरेल समूहले ओली समूहसँग असन्तुष्ट नेतालाई आफ्नो समूहमा समेट्ने प्रयास गरिरहेको छ। स्रोतका अनुसार अन्तिमसम्ममा दुवै समूहको उम्मेवारको नाम हेरफेर हुने सम्भावना छ। अहिले उम्मेदवारी दर्ता जारी छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij