२०८२ मंसिर २९ गते सोमवार
१. सामान्य बढ्यो शेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता
सोमवार शेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो । आज नेप्से ०.२५ प्रतिशतले बढेर परिसूचक १६०१.६१ बिन्दु पुगेको छ । आज दिनभरमा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा १५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
२. सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउनुहुँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । विगतमाझैँ अहिले पनि त्यसको जिम्मेवारी काँग्रेसमाथि रहेको बताउनु भयो । देशलाई सम्हाल्ने जिम्मेवारी काँग्रेसमाथि आएको उल्लेख गर्नुहुँदै महामन्त्री थापाले छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताउनु भयो ।
३. विद्यमान समस्यालाई निकास दिन आगामी निर्वाचन नै उच्चतम विधिः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान समस्यालाई निकास दिन आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नै उच्चतम विधि भएको बताउनुभएको छ । सोमवार टुँडिखेलमा काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकसामु धेरै समस्याहरु रहेको उल्लेख गर्नुहुँदै युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरुप दिन प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनुको विकल्प नभएको बताउनु भयो । सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बन्न आह्वान गर्नुभयो । देश विकासमा मिलेर समर्पित हुन आग्रह गर्नुभयो । इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व रहेको पनि बताउनु भयो । नविन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेको बताउनु भयो ।
४. योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त हुनुभभएको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो । उहाँकाअनुसार आयोगको सदस्यमा प्रा.डा.सुनीति श्रेष्ठ नियुक्त हुनुभएको छ । प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।
५. नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन जारी
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा बन्दसत्र जारी रहेको छ । शनिवार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आईतवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको हो । महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभएको छ भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ ।
६. कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालको कृषि क्षेत्रलाई समावेशी, जलवायु उत्थानशील र दिगो बनाउन सरकार पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ । ललतिपुरमा सोमवार आयोजित नेपाल फुड फोरम २०२५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री परियारले कृषिलाई राष्ट्रिय आर्थिक विकासको शक्तिशाली इन्जिन बनाउने दृढ संकल्प व्यक्त गर्नुभएको हो । उहाँले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ८० औँ वार्षिकोत्सवका अवसरमा दोस्रो नेपाल फुड फोरम सफलतापूर्वक आयोजना गरेकोमाधन्यवाद दिनुभयो ।
७. चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
नेकपा (एमाले)का नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताउनुभएको छ । सोमवार पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतिहरु चिर्न सिंगो पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न खोजिरहेको जिकिर गर्नुभयो । उहाँले पार्टीमा गर्न बाँकी कम्युनिष्ट आन्दोलनका कामहरु सम्पन्न गर्न पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरु चल्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।
८. पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँः ईश्वर पोखरेल
नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको दाबी गर्नुभएको छ । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो दाबी गर्नुभएको हो । उहाँले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । पोखरेलले पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिन नहुने बताउनु भयो । उहाँले जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिष्पर्धा भएको उल्लेख गर्दै यसलाई अस्वभाविक रुपमा लिन नहुने उहाँको भनाइ छ ।
९.पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्नसक्ने अवस्था छैनः योगेश भट्टराई
नेकपा (एमाले)का नेता योगेश भट्टराईले जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताउनुभएको छ । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरु प्रतिष्पर्धामा रहेको दाबी समेत गर्नुभयो ।
१०. प्रदेश सरकारको अस्तव्यस्तताका कारण आयोगको वाार्षिक कार्यतालिका प्रभावितः अध्यक्ष यादव
मधेस प्रदेश लोकसेवा आयोगका अध्यक्ष शिवराम यादवले प्रदेश सरकारको अस्तव्यस्तताका कारण आयोगको वार्षिक कार्यतालिका प्रभावित भएको बताउनुभएको छ । सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश सरकारका मन्त्रालयहरुलाई पटक–पटक आवश्यक कर्मचारीको माग फाराम पठाई दिन आग्रह गर्दा पनि बेवास्ता गर्दा काम गर्न समस्या भएको बताउनु भयो । उहाँले आयोगले आफ्नो वार्षिक कार्यतालिकामा सरकारका प्रत्येक मन्त्रालय तथा निकायमा विज्ञापन गर्ने कर्मचारीको सूचि प्रकाशन गरिसकेको भएपनि आवश्यक कर्मचारीको माग फारम नपठाएको बताउनु भयो ।
११. महाधिवेशन प्रतिनिधिहरुलाई पाण्डेको आग्रह– ‘कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध गर्न सहयोग गर्नुस्’
नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकतावद्ध बनाउँदै अग्रगामी पार्टीमा लैजान आफूहरुलाइ सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई थपअग्रगामी पथमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताउनु भयो । उहाँले पार्टीलाई थप व्यवस्थित बनाउँदै अगाडि बढ्नको लागि आफूहरुलाई सहयोग गर्न समेत प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
१२. इण्डोनेसियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
इण्डोनेसियाको सुमात्रा द्वीपका तीन प्रान्तमा गएको बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । २१८ जना अझै बेपत्ता छन् । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिवार जारी गरेको पछिल्लो तथ्यांकअनुसार यो संख्या उल्लेख गरिएको हो । यी विपद्हरूले पूर्वाधारमा व्यापक क्षति पु¥याएको छ । बीएनपीबीको तथ्यांकमा करिव १ हजार २ सय सार्वजनिक सुविधाहरू क्षतिग्रस्त भएका छन् । जसमा २१९ स्वास्थ्य सुविधा, ५८१ शैक्षिक संस्था, ४३४ पूजास्थल, २९० कार्यालय भवन र १४५ पुलहरू समावेश छन् ।
१३. इरानद्वारा लेबनानी हस्तक्षेपको आरोप खारेज
इरानको विदेश मन्त्रालयले लेबनानी विदेशमन्त्री युसुफ राज्जीले तेहरानले बेरुतको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोपलाई खारेज गरेको छ । इरानले दुवै देशबीचको कुटनीतिक सम्बन्धलाई पुरानो र दिगो भनेर विशेषता दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानमा आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा यो तनावलाई सम्बोधन गर्नुभएको थियो । यो अभिव्यक्ति राज्जीले इरानी हस्तक्षेपको सार्वजनिक दाबी र मिडिया रिपोर्टहरू पछि आएको हो । जसमा लेबनानी मन्त्रीले इरानको नयाँ राजदुतलाई बेरुतमा पद ग्रहण गर्न रोकेको सुझाव दिइएको थियो । बघाईले राजदूतहरूको आदानप्रदान सामान्य रूपमा अगाडि बढिरहेको बताउनु भयो ।
१४. कङ्गोको दक्षिण किभुमा दुई साताको लड़ाइँले ५ लाखभन्दा बढी विस्थापितः युनिसेफ
कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) को पूर्वी क्षेत्रको दक्षिण किभु प्रान्तमा डिसेम्बर १ तारिखदेखि लड़ाइँ जारी रहँदा ५ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । जसमा १ लाखभन्दा बढी बालबालिका रहेको संयुक्तराष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जानकारी दिएको हो । युनिसेफले जारी गरेको विज्ञप्तिमा दक्षिण किभुमा द्वन्द्वको तिब्र वृद्धिले सयौं हजार बालबालिका र परिवारलाई सुरक्षाका लागि भाग्न बाध्य बनाएको उल्लेख गरिएको छ ।
१५. दिल्लीको वायु खतरनाक स्तरमा
भारतको दिल्ली र आसपासका क्षेत्रमा बाक्लो धुवाँ (स्मग) को तहले शहरलाई ढाकेपछि वायु गुणस्तर खतरनाक स्तरमा पुगेको छ । आईतवार भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) को चरण ४ लागू गरेको छ । शनिवारदेखि वायु गुणस्तर सूचकांक (एक्यूआई) ४५० भन्दा माथि पुगेपछि यो स्तरलाई स्थानीय बासिन्दाका लागि खतरनाक मानिएको छ । जीआरएपी चरण ४ अन्तर्गत कडा वायु प्रदुषण नियन्त्रण उपायहरू लागू गरिएका छन् । यसमा निर्माण कार्यहरू पूर्ण रूपमा प्रतिवन्ध, विद्यालयहरूलाई हाइब्रिड मोड (अनलाइन र अफलाइन) मा सञ्चालन गर्न निर्देशन, सरकारी तथा निजी कार्यालयहरूलाई ५० प्रतिशत कर्मचारी मात्र उपस्थित गराएर काम गर्न भनिएको र केही श्रेणीका सवारीसाधनहरूको दिल्ली प्रवेशमा प्रतिवन्ध लगाइएको छ ।
१६. मध्य अफ्रिकी गणतन्त्रमा निर्वाचन अभियान शुरु
मध्य अफ्रिकी गणतन्त्रमा डिसेम्बर २८ मा हुने राष्ट्रपति, विधायी, क्षेत्रीय र नगरपालिका निर्वाचनको लागि अभियान शुरु भएको छ । राष्ट्रपतिका लागि सात जना उम्मेदवारहरू प्रतिष्पर्धामा छन् । जसमा सन् २०१६ देखि सत्तामा रहेका वर्तमान राष्ट्रपति फाउस्टिन–आर्चेङ्गे तुआदेरा पनि छन् । जो तेस्रो कार्यकालका लागि उम्मेदवारी दिइरहेका छन् । तुआदेराले राजधानी बाङ्गीबाट करिव १८६ किलोमिटर उत्तरमा रहेको केमो प्रिफेक्चरको राजधानी सिबुटमा आफ्नो अभियान शुरु गर्दै यदि पुनः निर्वाचित भए देशमा शान्ति र व्यवस्था पुनःस्थापना गर्न आफ्नो प्रयासलाई तिब्रता दिने बताउनुभएको छ ।
१७. सिड्नी गोलीकाण्डः मृतकको संख्या १६ पुग्यो
सिड्नीको बोन्डी बीचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमवार बिहान गोलीकाण्डपछि १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीको एक विज्ञप्तिमा १४ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको उल्लेख छ । मृतकहरूको उमेर १० देखि ८७ वर्षका बीचमा रहेको र आक्रमणकारीमध्ये एक जना पनि समावेश छन् । घाइते भएका ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
१८. सिरियामा इस्लामिक स्टेटको आक्रमणः २ अमेरिकी सैनिक र १ अमेरिकी नागरिक मारिए
अमेरिकी केन्द्रीय कमान्ड (यूएससेन्टकम) ले जारी गरेको विज्ञप्तिमा सिरियामा इस्लामिक स्टेट (आईएस) को एकल बन्दुकधारीद्वारा गरिएको आक्रमणमा २ जना अमेरिकी सैनिक र १ जना अमेरिकी नागरिक मारिएको जनाएको छ । आक्रमणमा अन्य ३ जना अमेरिकी सैनिक घाइते भएका छन् । बन्दुकधारीलाई नियन्त्रणमा लिएर मारिएको छ । परिवारको सम्मान र रक्षा मन्त्रालयको नीतिअनुसार मारिएका सैनिकहरूको नाम २४ घण्टासम्म गोप्य राखिनेछ । जबसम्म उनीहरूका नातेदारलाई जानकारी गराइसकिएको हुँदैन ।
१९. सुडान र दक्षिण सुडानबीच ऊर्जा, तेल र व्यापारमा सहयोग बढाउने प्रतिवद्धता
सुडान र दक्षिण सुडानले आईतवार द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने र विशेष गरी ऊर्जा, तेल, व्यापार, लगानी तथा राजनीतिक क्षेत्रमा सहयोग विस्तार गर्ने सहमति जनाएका छन् । यो सहमति सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फत्ताह अल–बुर्हान र दक्षिण सुदानका राष्ट्रपति साल्भा किर मायार्डिटबाट आएको लिखित सन्देश बोकेर आएको उच्चस्तरीय दक्षिण सुडानी प्रतिनिधिमण्डलका नेता तथा राष्ट्रिय सुरक्षा सल्लाहकार टुट गाट्लुकबीचको बैठकमा भएको हो । सुडानको विदेश मन्त्रालयका अवर सचिव मुआविया ओस्मान खालिदले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख भएअनुसार अल–बुर्हानले सम्बन्धित सरकारी संस्थाहरूलाई मन्त्रीस्तरीय र प्राविधिक तहमा दक्षिण सुदानी समकक्षीहरूसँग संलग्न हुन निर्देशन दिनुभएको छ ।
२०. १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाले सोमवार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उहाले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताउनुभएको हो । उहाँले आफूहरु निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजानिक जग्गा फिर्ता गरेको जानकारी दिनुभयो । सार्वजानिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।
२१. अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा
नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाउनुभएको हो । सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरु खोजेर हिँडेको उहाँले बताउनु भयो । छानीछानी भ्रष्टहरुलाई मात्रै मन्त्री बनाएको उहाँको दाबी छ । उहाँले वर्तमान सरकारमा केही मन्त्रीहरु भने काम गर्नेजस्ता देखिएको भएपनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको उहाँले बताउनु भयो ।
२२. आन्तरिक राजश्व कार्यलय हटाएको विरोधमा राजविराजमा रिले अनशन
सरकारले राजविराजमा रहेको आन्तरिक राजश्व कार्यलय हटाएपछि स्थानियहरु रिले अनशनमा बसेका छन् । सरकारको निर्णयविरुद्ध स्थानिय जनप्रतिनिधि, व्यवसायी र राजनितिक दलका नेताहरुले रिले अनशन शुरु गरेका हुन् । राजविराजस्थित गजेन्द्रचोकमा शुक्रबारदेखि शुरु भएको अनशन सोमवार पनि जारी छ । ७२ हजार भन्दा बढी करदाता रहेको र १ अर्ब १० करोड रुपैयाँभन्दा बढी राजश्व संकलन हुने राजश्व कार्यालय जिल्लाबाट हटाउनु आपत्तिजनक भएको सरोकारवालाहरुको भनाई छ । जेन–जी विद्रोहवाट बनेको सरकारले सप्तरीका जनतामाथी अन्याय गरेको उनीहरुको आरोप छ ।
२४. उपाध्यायको निधनमा काँग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
नेपाली काँग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रिय कार्यसमितिको बैठकले पूर्वमन्त्री उपाध्यायको निधनमा शोक प्रश्ताव पारित गरेको हो । नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धा उपाध्यायको ९१ वर्षको उमेरमा क्यान्सरका कारण गत शनिवार निधन भएको थियो । उपाध्याय २०५१ सालमा राष्ट्रिय सभा सदस्य र तत्कालिन मोरङ क्षेत्र नम्बर–१ बाट दुई पटक निर्वाचित सांसद समेत हुनुहुन्थ्यो ।
२३. बालेनको र्याप रहेको गीत ‘आम नेपाली बुबा’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत आम नेपाली बुबा सार्वजनिक गरिएको छ । आइतबार राति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा बालेनको र्याप र लय छ भने गणेश उप्रेती,कमलमणी नेपाल लगायतको अभिनय छ । गीतमा दीक्षा उप्रेतीको स्वर छ । विशेष पाण्डेको मिक्सिङ रहेको गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । यो समाचार तयार पार्दासम्म १२ हजार भन्दा बढीले गीत हेरेका छन् ।
२५. रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई
नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुई वटा हात्तीको सौराहाबाट विदाई गरिएको छ । चितवनस्थित सौराहामा सोमवार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई हात्तीलाई विदाई गरिएको हो । हात्तिहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाई फलफूल खान दिएर बिदाई गरिएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त लगायतले हात्तिलाई माला लगाईदिनुभएको थियो । २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो ।
२६. रेवानको टोली पोखरा सडक महोत्सव निम्तो लिएर जनकपुरमा
रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) २७ औं पोखरा सडक महोत्सवको निम्तो लिएर जनकपुरधाम पुगेको छ । महोत्सवको निम्तो दिन सात वटै प्रदेशमा पुग्ने रणनीतिअनुसार रेवान सोमवार मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेको हो । रेवानले सोमवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी पोखरामा हुन लागेको महोत्सवको बारेमा जानकारी गराएको छ । महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवा तालको किनार लेकसाइड क्षेत्रमा सञ्चालन हुने महोत्सवका संयोजक वसन्त गौतमले जानकारी दिनुभयो । ताल किनारको साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव हुने उहाँको भनाई छ ।
२७. अध्यक्षदेखि सबै पदमा अझै सर्वसम्मतिको प्रयास हुन्छः एमाले
नेकपा (एमाले) ले महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अझै प्रयास गर्ने जनाएको छ । सोमबार अपरान्ह सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीको ११ औ राष्ट्रिय महाधिवेशन प्रचार तथा प्रसार समितिकी संयोजक एवं निःवर्तमान सचिव पदमा अर्यालले सो कुरा बताउनुभएको हो । उहाँले मनोनयनको काम सम्पन्न भएपछि पार्टीको मूल नेतृत्वदेखि तलसम्म नै सर्वसम्मतिको निम्ति प्रयास गर्ने कार्यतालिका रहेको बताउनु भयो । महाधिवेशनमा केपी ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने ईश्वर पोखरेलको पनि सोही पदमा उम्मेदवारी परेको छ । महासचिवमा ओली पक्षबाट शंकर पोखरेल, ईश्वर पक्षबाट सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । ती सबै उम्मेदवारीहरुबीचमा छलफल गरेर फेरि पनि सर्वसम्मतिको प्रयास गर्ने निर्णय गरिएको संयोजक अर्यालको भनाई थियो ।
२८. एमाले फुट्दैन, अझ सशक्त भएर अघि बढ्छः पृथ्वीसुब्बा गुरुङ
नेकपा (एमाले) का निःवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिष्पर्धालाई लिएर पार्टी नफुट्ने दाबी गर्नुभएको छ । सोमवार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशनको बन्दसत्र स्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहनुभएका उहाँले सो टिप्पणी गर्नुभएको हो । निःवर्तमान उपमहासचिव गुरुङले एमाले प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरुले पार्टी छोडने काम नगर्न जिकिर गर्नुभयो । उहाँले पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि नेतृत्व चयन प्रतिष्पर्धाको आधारमा गर्ने निर्णय गरिएको पनि स्पष्ट पार्नुभयो ।
२९. एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनि भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिनुभएको छ । सोमवार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु, गराउन न्यायोचित नहुने पनि स्पष्ट पार्न भयो । उहाँले वर्तमान सरकार निर्वाचन गराउने गरी बनेको उल्लेख गर्दै त्यस कामलाई सम्पन्न गर्न लागि परेको बताउनु भयो । मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभुति हुनेगरी निष्पक्ष ढंगबाट कार्य सम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो ।
३०. ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व होः रामकुमारी झाँक्री
नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताउनुभएको छ । सोमवार पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो टिप्पणी गर्नुभएको हो । ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमालेले नेता, कार्यकर्ता पंक्तिले उहाँको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाई थियो । उहाँले जेन–जी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरुको पक्ष लिन नसकिने पनि स्पष्ट पार्नुभयो ।
३१. फागुन २१ मा निर्वाचन नभए मुलुकको अस्तित्वमाथि नै संकट आउनसक्छः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तोकिएकै मितिमा निर्वाचन सम्पन्न नभए मुलुकको अस्तित्वमाथि नै संकट आउने चेतावनी दिनुभएको छ । सोमवार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले फेरि निर्वाचन सार्ने, सरकार फेर्नेलगायतका काम भए मुलुक राजनीतिक अस्थिरतामा फस्ने र त्यसले झन ठूलो संकट निम्त्याउने जिकिर गर्नुभयो । उहाँले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन हुनेगरी आवश्यक वातावरण बनाउनुपर्ने बताउनु भयो ।
३२. एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता
सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारको ठूलो मात्रमा कर फिर्ता गरेको हो । आन्तरिक राजश्व विभागकाअनुसार आ.व. २०८१÷०८२ मा कर फिर्ताको अवस्थालाई हेर्दा आन्तरिक राजश्व विभागमा कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुले ५२ करोड ६२ लाख १४ हजार कर फिर्ता माग दाबी गरिएको थियो । जसमध्ये ४५ करोड ५८ लाख ८४ हजार फिर्ता गरिएको छ ।
३३. दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाए
एक दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ । आज सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशतविन्दु थियो । अहिले औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको हो । १३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् । प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् । ७ वाणिज्य बैंकहरूले (सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक) मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् । सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ । पुस महिनाका लागि ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।
३४. सुनको मूल्यमा नयाँ कीर्तिमान, कति भइरहेको छ करोबार ?
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार वृद्धि भइरहेको सुन सोमवार हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आईतवारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७ सय पुगेको छ । आईतवार २ हजार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८ सय पुगेको थियो । यस्तै चाँदीको भाउ पनि वृद्धि भएको छ । आईतवारको तुलनामा ४५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ३ हजार ८ सय ७० कायम भएको महासंघले जनाएको छ । आईतवार एक तोला चाँदी ३ हजार ८ सय २५ रुपैयाँमा खरिदविक्री भएको थियो । पछिल्ला दिनहरुमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा पुगिरहेको छ । –न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij