Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 1.8K
    Shares

    आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. साढे १२ अंकले घट्यो आजको शेयर बजार

    आईतवार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज –नेप्से) साढे १२ अंकले घटेको हो । नेप्से ०.४७ प्रतिशतले घटेर परिसूचक २५९४.८७ बिन्दुमा आएको छ । दिनभरमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

    २. जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल

    अन्तरिम सरकारका  अर्थमन्त्री रामेश्वर खनालले जातिय र भाषिक विविधता नेपालको सम्पती भएको बताउनुभएको छ । आईतवार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहदरकारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताउनु भयो । उहाँले विविध विधिताहरुको सही उपयोग गर्न नसकिरहेको बताउनु भयो । कतिपय जातिहरुलाई अहिलेसम्म पनि चिन्न नसकिएको बताउनु भयो । 

    ३. एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको उत्साहपूर्ण चहलपहल

    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने क्रममा रहेको छ । शनिवार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आईतवार भृकुटीमण्डपमा शुरु हुन लागेको हो । बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ भने हल वरिपरि उत्साह र व्यस्तता छाइरहेको छ । महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । बिहान ९ बजेदेखि केन्द्रिय कमिटीको अन्तिम बैठक सकिएपछि बन्दसत्र दिउँसो साढे १२ बजे शुरु हुने तयारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । 

    ४. एपिएफ फाइनलनजिक

    एपिएफले दोस्रो जित निकाल्दै जारी साफ महिला क्लव च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आफ्नो तेस्रो खेलमा एपिएफले आईतवार कराँची एफसीमाथि १–० को जित निकाल्दै फाइनलनजिक पुगेको हो । साफ राष्ट्रका पाँच क्लब सम्मिलित च्याम्पियनसिपमा लिगको शीर्ष दुई स्थानमा रहने टोली फाइनल खेल्ने प्रावधान छ । अब एपिएफसँगै भारतको इस्ट बंगाल र बंगलादेशको नासरिन एफसी तीनै टोलीको मात्र फाइनल पुग्ने सम्भावना छ । तीन खेलबाट एपिएफको सात अंक, इस्ट बंगालको दुई खेलबाट ६ अंक र नासरिनको दुई खेलबाट एक अंक छ । आजको दिनको अन्तिम खेलमा इस्ट बंगाल र नासरिन भिड्नेछन् । यो खेलमा बराबरीको नतिजा आएमा एपिएफ र इस्ट बंगाल शीर्ष दुईमा रहँदै फाइनलमा पुग्नेछ ।

    ५. एकै दिन सुन २२ सय रुपैयाँले बढ्यो

    आइृतवार नेपाली बजारमा सुनको मूल्य उच्च दरले वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आईतवार २२ सय रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघकाअनुसार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आईतवार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।

    ६. इजरायली सेनाद्वारा गाजामा हमासका वरिष्ठ लडाकु मारिएको दाबी 

    इजरायली सेनाले शनिवार गाजा शहरमा हमासका एक वरिष्ठ लडाकुमाथि आक्रमण गरेको बताएको छ । एक विज्ञप्तिमा इजरायल रक्षा बलले शिन बेट सुरक्षा एजेन्सीसँगको समन्वयमा हमला गरिएको बताएको हो । इजरायलको राज्य सञ्चालित कान टिभीले रिपोर्ट गरेको छ कि आक्रमणमा मारिएका लडाकु राद साद हुन् । जो हमासको सशस्त्र शाखा अल–कस्सम ब्रिगेडका संस्थापकहरू मध्ये एक हुन् । हमासको उत्पादन मुख्यालयका प्रमुख हुन् । जुन रकेट लन्चर, मिसाइल र ट्याङ्क विरोधी हतियारहरूको आन्तरिक उत्पादनको लागि जिम्मेवार छ । 

    ७. इराक र संयुक्त राष्ट्र संघबीच युएनएएमआई मिसनको अन्त्य

    इराक र संयुक्त राष्ट्र संघले आधिकारिक रूपमा इराकका लागि संयुक्त राष्ट्र सहायता मिसन ( युएनएएमआई) को जनादेशको अन्त्य भएको बताएका छन् । जसले संकट–व्यवस्थापनबाट विकास र दिगो साझेदारीमा केन्द्रित नयाँ अध्यायमा परिवर्तनको संकेत गर्दछ । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानी र भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बगदादमा आयोजित मिसनको अन्त्यको अवसरमा आयोजित समारोहमा भाग लिनुभयो । संयुक्त पत्रकार सम्मेलनको क्रममा अल–सुदानीले जनादेशको समापन इराक र संयुक्त राष्ट्र संघ बीचको साझेदारीको अन्त्यको अर्थ नभएको बताउनु भयो । यसले सहयोगको नयाँ अध्यायको शुरुवात भएको उहाँको भनाइ छ ।

    ८. कम्बोडियाद्वारा थाइल्याण्डसँगको सबै सीमा नाकाहरू बन्द

    कम्बोडियाको गृह मन्त्रालयले शनिवार एक प्रेस विज्ञप्तिमा अर्को सूचना नभएसम्म थाइल्याण्डसँगको सबै सीमा नाकाहरू बन्द गर्ने घोषणा गरेको छ । थाई पक्षले अन्धाधुन्ध आक्रमणहरूमार्फत कम्बोडियाको सार्वभौमसत्ता विरुद्ध आक्रामक कार्यहरू गरेको, नागरिक हताहत भएको र आवासीय क्षेत्र र पूर्वाधारमा क्षति पु¥याएको र क्षति पुगेको बताएपछि यो कदम चालिएको प्रेस विज्ञप्तिमा भनिएको छ । यस सन्दर्भमा हाल थाइल्याण्डमा बसोवास गर्ने र काम गर्ने कम्बोडियाली नागरिकहरूलाई त्यहाँ सामान्य रूपमा बस्न र काम गर्न सल्लाह दिइएको छ । हाल कम्बोडियामा बसोवास गर्ने र काम गर्ने थाई नागरिकहरूलाई युद्धविराम नभएसम्म सामान्य रूपमा कम्बोडियामै रहन सल्लाह दिइएको छ । 

    ९.चीनद्वारा अन्तरिक्ष प्रयोगात्मक अन्तरिक्षयान अन्तरिक्षमा प्रक्षेपण

    चीनको कुआइझोउ–११ वाई ८ रकेटले अन्तरिक्ष प्रयोगात्मक अन्तरिक्षयान अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनले शनिवार एउटा अन्तरिक्ष प्रयोगात्मक अन्तरिक्षयानसहित कुआइझोउ–११ वाई ८ वाहक रकेट प्रक्षेपण गेको हो । रकेट उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ९ः०८ बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको थियो । यसले पेलोडहरूलाई योजनावद्ध कक्षामा सफलतापूर्वक पठाएको छ । 

    १०. टर्कीका राष्ट्रपतिद्वारा कालो सागरलाई टकरावको क्षेत्र नबनाउन चेतावनी

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले कालो सागर रूस र युक्रेन बीच टकरावको क्षेत्र बन्न नहुने बताउनुभएको छ । कालो सागरलाई टकरावको क्षेत्रको रूपमा हेर्नु नहुने भन्दै उहाँले यसले रूस वा युक्रेनलाई फाइदा नगर्ने बताउनु भयो । सबैलाई कालो सागरमा सुरक्षित नेभिगेसन चाहिने बताउनु भयो । हालै अंकाराले कालो सागरमा फैलिएको रूस–युक्रेन द्वन्द्वको बारेमा आफ्नो चिन्ता दोहो¥याइरहेको छ । डिसेम्बरको शुरुमा टर्कीको विशेष आर्थिक क्षेत्रमा रूस–झण्डा वा रूस–जडान ट्याङ्करहरूमा धेरै ड्रोन आक्रमणहरू देखिए, जसको लागि युक्रेनले जिम्मेवारी लिएको थियो । 

    ११. थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे

    थाइल्याण्डसँगको सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ । कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमा शुक्रवार दिउँसोसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या ३ लाख पुगेको बताएको हो । ३ लाख भन्दा बढी मानिसहरूसहित लगभग ९० हजार परिवारहरू सुरक्षित आश्रयको लागि थाई सीमा नजिकैको आफ्नो घर छोडेर भागेका छन् । डिसेम्बर ७ देखि कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्व फेरि चर्किएको छ ।

    १२. सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमणः ६ शान्ति सैनिकको मृत्यु

    सुडानी अधिकारीहरूकाअनुसार शनिवार सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ । सात जना घाइते भएको बताएका छन् । सुडानी सशस्त्र बलले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सलाई आक्रमण गरेको आरोप लगाएको छ । जुन दाबी अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सले अस्वीकार गरेको छ । ड्रोनले संयुक्त राष्ट्र संघको मुख्यालय र बंगलादेश बटालियनमा तीनवटा मिसाइल प्रहार गरेको थियो । जसले गर्दा संयुक्त राष्ट्र संघको भण्डारण सुविधामा आगो लागेको थियो । सबै हताहत बंगलादेश बटालियनका सदस्यहरू थिए । जुन सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेईको लागि संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको हिस्सा हो । 

    १३. गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग

    जेन–जी युनाईटेडले नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेललाई गर्न माग गरेको छ । युनाईटेडको प्रतिनिधि टोलीले आईतवार सिहंदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटी गभर्नर बर्खास्त गर्न माग गरेको हो । गभर्नर सम्बन्धी योग्यता र विज्ञता डा. पौडेलसँग नभएकोले बर्खास्त गर्न माग गरिएको जेन–जी युनाईटेडको संयोजक जनक परियारले जानकारी दिनुभयो । गभर्नर नियुक्तिको लागी डा. पौडेलले पेश गरेको शैक्षिक प्रमाणपत्र, कार्यअनुभव, विषयविज्ञता नै गभर्नर हुन अयोग्य रहेको उहाँले बताउनु भयो । राजनीतिक भागबण्डाको आधारमा गभर्नर नियुक्त भएको उहाँको दाबी छ । 

    १४. मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी

    अन्तरिम सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरुको रोजगारी व्यवस्थापनको लागि मन्त्रालयमा नै जेन–जी कक्ष राखेर काम गर्ने बताउनुभएको छ । मन्त्रालयमा जेन–जीका अगुवाहरुसँग आईतवार भएको छलफलमा उहाँले यस्तो बताउनु भयो । मन्त्रालयमा जेन–जीको समेत प्रतिनिधित्व रहनेगरी सेल स्थापना गर्ने उहाँको भनाई छ । उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सीपयुक्त जनशक्तिको लागि तालिम केन्द्रसँग समन्वय गर्ने उहाँले बताउनु भयो । जेन–जी सेल स्थापना गर्नको लागि आफूले निर्देशन दिएको जानकारी दिनुहुँदै मन्त्रालयले चाँडै नै तयारी थाल्ने उल्लेख गर्नुभयो । उहाँले रोजगारी र सुरक्षा हालको मुख्य विषय रहेकोले यसको लागी आफूले सक्दो प्रयास गर्ने उहाँले प्रतिवद्धता पनि जनाउनु भयो । 

    १५. मौलिक खाना प्रवद्र्धन गर्न खाद्य मेला

    काठमाडौं महानगरपालिकाले रैथाने मौलिक खानाहरुको प्रवद्र्धनका लागि मेला आयोजना गरेको छ । महानगरले आईतवार नक्शालको नारायण चौरमा रैथाने मौलिक खाद्य मेला, २०८२ आयोजना गरेको हो । स्थानीय खानाहरुको प्रवद्र्धन र बजारीकरण गर्न सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो । उहाँकाअनुसार महानगरले परम्परागत रैथाने खाना र खाद्य सामग्रीहरुलाई बजारीकरण गर्नको लागि गतवर्षदेखि मेला गर्दै आएको छ ।

    १६. हिमालयपार चलचित्र प्रदर्शनी शुरु

    नेपालमा हिमालयपार चलचित्र प्रदर्शनी शुरु भएको छ । आईतवारदेखि शुरु भएको प्रदर्शनी शुरु भएको हो । डिसेम्बर २१ सम्म सञ्चालन हुने प्रदर्शनी त्रिभूवन विश्वविद्यालय, काडमाडौं विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । प्रदर्शनीमा नेपाली र चिनियाँ सिमावर्ती क्षेत्रका कथावस्तुमा निर्माण गरिएका चलचित्रहरु प्रदर्शन हुनेछन् । आईतवार विहान त्रिभूवन विश्वविद्यालयमा भएको प्रदर्शनीमा सहभागी अभिनेता बुद्धि तामाङले मौलिक कथामा चलचित्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबैको आ–आफ्नै मौलिक कथा हुने उल्लेख गर्नुभयो । 

    १७. तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ । सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उहाँले सो आवश्यक्ता औँल्याउनुभएको हो । संघीय संसद सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन भएपछि यो निर्वाचनको आवश्यकता र महत्व कति छ भन्ने कुराको अनुभुति सम्बन्धित सबै पक्षलाई भएको पनि स्पष्ट पार्नु भयो । उहाँले सो निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने काममा संघीय संसदको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । 

    १८. पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आफू कुनैपनि खालको दबाब लिने पक्षमा नरहेको बताउनुभएको छ । आईतवार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा उहाँले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सो प्रतिक्रिया दिनुभएको हो । मन्त्री सिन्हाले आफू मातहतको संस्थाहरुको नेतृत्व चयन प्रक्रिया सोही संस्थाको हितमा केन्द्रित हुनेगरी गर्ने समेत बताउनु भयो । कसैको दबाब र प्रभावमा परेर आफूले संस्थाहरुको नेतृत्व नियुक्ति नगर्ने उहाँको भनाई थियो । मन्त्री सिन्हाले सञ्चार माध्यामहरुले दिने सूचनाहरु आफ्नो कार्य सम्पादनमा प्राथमिकतामा पर्ने समेत स्पष्ट पार्नुभयो । 

    १९. मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की

    प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले समावेशी विकास र समन्यायको आकांक्षा जेन–जीहरुको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत बताउनु भयो । 

    २०. राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ । आईतवार शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उक्त प्रतिवेदन बुझाइएको हो । राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको जनाइएको छ । 

    २१. सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउनुभएको छ । १९ औँ संघीय संसद सेवा दिवसको अवसर पारेर आईतवार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि संसद सेवाका कर्मचारीहरुको भुमिका महत्वपूर्ण हुने समेत स्पष्ट पार्नुभयो । उहाँले कानूनहरु स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्नका लागि सरकारले अध्ययनको कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा संघीय संसदको सुझाव अति उपयोगी हुने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्री सिन्हाले कानून निर्माण गर्ने संघीय संसदको कामलाई प्रभावकारी बनाउने काममा त्यहाँ कर्मचारीहरुको योगदान उल्लेख्य हुने पनि बताउनु भयो । 

    २२. सरकारले संघीय संसदलाई अदृष्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसदलाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । संघीय संसद सचिवालयका दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधिसभाको विघटन गर्ने कामको सान्दर्भिकता नभएको जिकिर समेत गर्नुभयो । सभामुख घिमिरेले सरकारले संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा र दरबन्दी घटाउने कामप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । सरकारले संघीय संसदलाई आफू मातहतको कुनै एउटा शाखाको जस्तो व्यवहार गर्नु उचित नभएको सभामुख घिमिरेको भनाई थियो । 

    २३. १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले (आज) आईतवार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

    २४. कर वक्यौता चुलिँदैः ९४ अर्ब ९५ करोड रुपैयाँ कर उठेन

    पछिल्ला वर्षहरुमा उठ्न बाँकी कर वक्यौता चुलिन थालेको छ । आन्तरिक राजश्व विभागकाअनुसार प्रत्येक वर्षजसो बढिरहेको वक्यौता आर्थिक वर्ष २०८१÷०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्व शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड पुगेको हो । त्यसो त, पछिल्लो समय कर कार्यालयहरुले निर्धारण गरेको रकम करदाताले चित्त बुझाउन छाडेका छन् भने करदाताले चित्त नबुझाउँदा उठ्न बाँकी कर रकम पनि अर्बौं छ । विभागकाअनुसार कर कार्यालयबाट भएको कर निर्धारणप्रति करदाताले चित्त नबुझाई आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रहेको पुुगेको छ । 

    २५. एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने

    नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको  छ । आईतवार बिहान बसेको केन्द्रिय कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी गराउनु भयो । उहाँकाअनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रिय कमिटीको संरचना बन्नेछ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै उहाँले विधान महाधिवेशनबाट पारित विधानलाई आत्मसाथ गर्दै अगाडि जाने निर्णय गरेको बताउनु भयो । 

    २६. प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’

    प्रहरी महानिरीक्षक दानबहादुर कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरुमा प्रहरी सधैँ तारोमा पर्ने गरेको भन्दै गुनासो गर्नुभएको छ । जेन–जी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आईतवार उद्घाटन गर्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने गरिएको उहाँको भनाइ छ । उहाँले प्रहरीमाथि आक्रमण गर्ने प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारीमा काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । 

    २७. रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले हस्तकला व्यवसायले मुलुकमा रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ । हस्तकला व्यवसायी महासंघले आईतवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले यस्तो बताउनुभएको हो । नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकलाको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको उहाँको भनाइ छ । उहाँले मुलुकको अर्थतन्त्रमा समेत हस्तकलाको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । आफूले भर्खरै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उहाँले कला, पर्यटन र उद्योगलाई जोड्दै मुलुकलाई समृद्धितर्फ डो¥याउन लागिपर्ने विश्वास दिलाउनु भयो । 

    २८. विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर

    नेकपा (एमाले)ले १०औँ महाधिवेशनकै कमिटीअनुसार पार्टी संरचना निर्माण गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी एघारौँ महाधिवेशनबको बन्दसत्रबाट पार्टीले उक्त प्रश्ताव पारित गरेको पार्टीकी सचिव पद्मा अर्यालले जानकारी दिनुभयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरिरहनुभएका बन्दसत्रको हलबाट १९ पदाधिकारी र ३०१ जनाको केन्द्रिय कमिटी चयन गरिने बताउनु भयो । उहाँकाअनुसार एकजना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव र नौ जना सचिव गरी १९ सदस्यीय पार्टी पदाधिकारी निर्वाचित हुनेछन् ।  –न्युज एजेन्सी नेपाल

     

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १९:४६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij