२०८२ मंसिर २४ गते बुधवार
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीहरूका लागि केही समय रोकेको श्रम तथा भिजिट भिसा पुनः सुचारु गरेको छ। तर, भिसा खुलेसँगै रोजगारी र भ्रमणमा जाने नेपालीमाथि ‘पुलिस रिपोर्ट’ प्रमाणीकरणको नाममा नयाँ र महँगो आर्थिक भार थपेको छ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनापछि यूएईले अनौपचारिक रूपमा नेपालीका लागि भिसा बन्द गरेको थियो ।
वैदेशिक रोजगार व्यवसायीका अनुसार अहिले यूएई जान चाहनेहरूले भिजिट र वर्किङ दुबै भिसा केही हदसम्म पाउन थालेका छन्। तर, यूएई जान नेपाल प्रहरीले जारी गर्ने चारित्रिक प्रमाणपत्र अनिवार्य गरिएको हो ।
भिसा सहजीकरण गर्ने कम्पनी भीएफएसमार्फत एउटा पुलिस रिपोर्ट प्रमाणीकरण गर्न सेवाग्राहीले करिब १४ हजार २ सय रुपैयाँ तिर्नुपर्छ। भीएफएसलाई खडा गरेर शुल्क उठाउँदै ब्रह्मलुट मच्चाइएको गुनासो सरोकारवालाको छ ।
महँगो शुल्क तिरेर बनाएको पुलिस रिपोर्टको म्याद जम्मा ३ महिनाको हुन्छ। ३ महिनाभित्र भिसा नलागेमा वा प्रक्रिया लम्बिएमा पुनः नयाँ रिपोर्ट बनाएर अर्को १४ हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ। यसलाई सरोकारवालाहरूले ‘गरिब मारा’ कामको संज्ञा दिएका छन्।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij