२०८२ मंसिर २४ गते बुधवार
काठमाडौं । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ ।
नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसेले हस्ताक्षर गरेका छन् । यस सम्झौतापछि त्रिविसँगको यस कार्यक्रम सन् २०२८ सम्म निरन्तर रुपमा सञ्चालन हुनेछ ।
सम्झौता नवीकरणले दुवै संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै सामाजिक उद्यमशीलता प्रवद्र्धनमा ठूलो सहयोग पुगेको सिइओ ज्ञवालीले जानकारी दिएका छन् ।
त्सैगरी डिन प्रा. डा. महानन्द चालिसेले त्रिविको व्यवस्थापन संकाय पाठ्यक्रमलाई सान्दर्भिक र प्रयोगात्मक शिक्षातर्फ रुपान्तरण गर्दै उद्यमशीलता विकास गर्ने दिशामा अघि बढेको बताए । ‘ सामाजिक उद्यमशीलता विकासलाई सुदृढ गर्ने उद्देश्यले बैंकले नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम समुदायमा काम गर्ने सामाजिक उद्यमी तयार पार्न र उनीहरुलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ सञ्चालित छ ।
नबिल एसएसईअन्तर्गत ‘फेलोसिप’ र ‘सर्टिफिकेट’ कोर्स गरी दुई कार्यक्रम सञ्चालनमा छन् । छ महिना अवधिको फेलोसिप कार्यक्रम नवप्रवर्तन तथा नविन आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरुलाई लक्षित गरिएको छ । जसमा सहभागीले ६ महिनासम्म प्रशिक्षण र एक वर्षसम्म मेन्टरसिप पाउनेछन् । साथै नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन् ।
पछिल्लो चार वर्षमा फेलोसिप कार्यक्रममा ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् भने उनीहरुले ६२ वटा उद्यम स्थापना गरिसकेका छन् ।
यस सर्टिफिकेट कोर्सबाट पनि उद्यमशीलतामा लागेका तथा नवप्रवर्तनमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्य राखिएको छ । सर्टिफिकेट कोर्सबाट हालसम्म १,०६९ उद्यमी लाभान्वित भइसकेका छन् । उनीहरुले १३१ उद्यम स्थापना गरी २,६०० भन्दा बढीलाई रोजगारी उपलब्ध गराएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij