Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको ३४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 1.2K
    Shares

    आज दिनभरको ३४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

    जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन–जी आन्दोलनको अपमान नगर्न आग्रह गर्नुभएको छ । जेन–जी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुग्नुभएका उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरुले नगरेको पनि बताउनु भयो । पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावनाप्रति चिन्ता व्यक्त गर्नुभयो । ढुङ्गानाले अन्तरिम सरकार देश विकासमा असफल भएको अवस्थामा प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग गर्नुभयो । अन्तरिम सरकार हाइज्याक भएको भन्दै जेन–जी युवाहरुको माग सम्बोधन नभएको ढुङ्गानाले बताउनु भयो ।

    २. मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार

    मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । नेपाली काँग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट १÷१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । जनमत पार्टीबाट मन्त्री बन्नुभएका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने काँग्रेसका जंगीलाल राय र नेकपा (एकिकृत समाजवादी) पार्टीका कनिष पटेललाई बिना विभागीय मन्त्री बनाइएको छ । नवनियुक्त तीन जना मन्त्रीहरुले आजै शपथ ग्रहण समेत गर्नुभएको छ । तीन जना नवनियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराउनु भयो । 

    ३. मधेस प्रदेशमा एमाले सरकारले गरेका सम्पूर्ण निर्णयहरु बदर गर्ने निर्णय

    मधेस प्रदेश सरकारले मिति कार्तिक २३ देखि मंसिर १७ गतेसम्मको अवधिमा बसेका मन्त्रिपरिषद् बैठकहरुबाट भएका सम्पूर्ण सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा÷काजसँग सम्बन्धित निर्णयहरू बदर गरेको छ । कार्तिक २३ मा गठित मन्त्रिपरिषद्को कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयहरूवाट भएका कर्मचारीहरूको सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा÷काजसंग सम्बन्धित सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय भएको हो । एमालेको सरकार हुँदा गरेका सम्पूर्ण निर्णयहरु बदर गर्ने निर्णय भएको मधेस प्रदेश सरकारका मन्त्री कनिष पटेलले बताउनु भयो ।

    ४. मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता

    मधेसका मुख्यमन्त्री कृष्ण यादवले पदभार ग्रहण गर्नुभएको छ । आईतवार नै पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्नुहुँदै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिनुभयो । उहाँले पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउनु हुँदै सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुनेगरी चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने बताउनु भयो ।  मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरुबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गर्नुभएको छ । उहाँले सुशासन कायम गर्ने र प्रदेशबाट गर्नसक्ने कार्यहरु छिटो, छरितो गर्ने काममा आफू लाग्नेबताउनु भयो । 

    ५. प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेटवार्ता

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ । आईतवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्की र भण्डारीबीच भेटवार्ता भएको हो । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सिंहदरबारसहिति संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनहरुमा आगजनी र तोडफोड समेत भएको थियो । प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षण समेत गर्नुभयो । भण्डारी र कार्कीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको छ ।

    ६. पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको छ । आईतवार दिउँसो पूर्वराष्ट्रपति भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको हो । उहाँलाई सिंहदरमा भएको वस्तुस्थितिबारे अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराउनु भयो । गत दौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी, तोडफोड भएको थियो । प्रधानमन्त्री कार्यालयसहित,अर्थ, स्वास्थ्य मन्त्रालयहरुमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

    ७. नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर

    नेपालमा लैङ्गिक आधारित हिंसा (जिबीभी) बहुआयामिक समस्या बनेको एक प्रतिवेदनले देखाएको छ । व्यक्तिगत दुव्र्यवहारदेखि संरचनात्मक असमानता, सांस्कृतिक पूर्वाग्रह र डिजिटल उत्पीडनसम्म फैलिएको जिबिभी हालै मात्र भएको एक विस्तृत अनुसन्धान प्रतिवेदनकाअनुसार यो समस्या कानूनी रूपरेखामा भएका खाडलहरू, कमजोर कार्यान्वयन र सामाजिक मान्यताहरूबाट थप बलियो भएको देखाएको हो । संविधानले समानता र महिलाको अधिकारको ग्यारेन्टी गरे पनि पीडितहरूले न्याय पाउन कठिनाइ भोगिरहेको बताइएको छ । विज्ञहरूले तत्काल सुधारका लागि कानूनी, संस्थागत र सांस्कृतिक हस्तक्षेपको माग गरेका छन् । 

    ८. निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु होः मन्त्री खनाल

    अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारलाई तीन वटा काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमध्ये एउटा निर्वाचन भएको जिकिर गर्नुभयो । निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको बताउनु भयो । अनिश्चयले युवालाई थप निराश बनाउने बताउनु भयो । संविधान बमोजिम समयमा निर्वाचन गर्नुपर्ने दायित्व वर्तमान सरकारको रहेको बताउनु भयो । 

    ९. निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताउनुभएको छ । आईतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै निजी क्षेत्रलाई भरसक कुनैपनि नीति निर्माणमा सहभागी नगराउने प्रचलन अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले कुनैपनि परिवर्तनपछि आर्थिक र नीतिगत पक्षमा एक भएर अघि बढ्ने कुरामा नेपाल पछि परेको जिकिर गर्नुभयो । उहाँले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि जान नसकेसम्म अर्थतन्त्र सबल बन्न नसक्ने जिकिर गर्नुभयो । 

    १०. जेन–जी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद् घटनाः पूर्वराष्ट्रपति भण्डारी

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद् घटना भएको बताउनुभएको छ । आईतवार सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २४ गते सरकारी भवनहरुमा तोडफोड, आगजनी र लुटपाट हुनु दुःखको कुरा भएको बताउनु भयो । सिंहदरबारको स्थिति हेर्दा दुःख लागेको पनि बताउनु भयो । उहाँले सरकारले चाँडै उक्त भवनहरुको पुनःनिर्माण गरी पुरानै अवस्थामा ल्याउने विश्वास आफ्नो रहेको पनि बताउनु भयो । 

    ११. एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समग्र पत्रकारिता नै गम्भीर मोडमा रहेको उहाँको भनाइ छ । एआईले पत्रकारिता कहाँ पु¥याउने हो भन्ने अनिश्चितता बढाएको बताउनु भयो । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उहाँको भनाइ छ । पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गर्नुभयो ।  

    १२. आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे

    नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएर तथ्यपरक समाचार संप्रेषण गर्नुपर्ने बताउनु भयो । विदेशी विनिमय सञ्चिति समानान्तर वचतको हिसावले वाह्य क्षेत्र राम्रो रहेको तर वाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक अर्थतन्त्र चापमा रहेको उल्लेख गर्नुभयो । बैंकमा लगानीयोग्य रकम रहेको, ब्याज एकल बिन्दुमा भएपनि समग्र बजारको माग बढ्न नसकेको बताउनु भयो । मागमा वृद्धि आउन नसक्दा उद्योगधन्दाहरु न्युन क्षमतामा सञ्चालन भइरहेका बताउनु भयो । अहिलेको सबैभन्दा ठूलो चुनौति प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु रहेको बताउनु भयो । 

    १३. अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ?

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र अहिले आर्थिक संक्रमणको मोडमा रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव रहेको, बैंकिङ क्षेत्रमा अधिक तरलता तथा घट्दो ब्याजदरको व्यवस्थापनको चुनौति रहेको बताउनु भयो । साथै लगानी वातावरणमा अनिश्चितता र राजश्व संकलनको दबाब रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रको साथमा सरकार रहेको बताइएपनि अन्तरिम सरकारको आयु कति हो ? भन्दै प्रश्न गर्नुभयो । 

    १४. १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन

    त्रिभूवन आमी क्लव १३ औं एनएसए कप पौडी च्याम्पियनसिपमा सर्वाधिक ९०५ फिना अंकका साथ च्याम्पियन भएको छ । सातदोबाटोस्थित राष्ट्रिय हिटिङ पौडी पोखरीमा आईतवार सम्पन्न च्याम्पियनसिपमा आर्मी च्याम्पियन हुँदा शिर्ष तीन स्थानमा विभागीय टोली नै हाबी भयो । नेपाल पौडी संघको आयोजनामा सम्पन्न दुई दिने च्याम्पियनपिमा नेपाल पुलिस क्लव सात सय १९ र एपिएफ चार सय ७२ अंकसहित दोस्रो र तेस्रो भए । यस प्रतियोगितामा कुल ३१ स्वर्ण पदकका लागि १७ वटा टोलीका एक सय ८३ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । तर एउटा विधामा भने प्रतिष्पर्धी नपुग्दा खेल आयोजना भएन । तीन वटा राष्ट्रिय कीर्तिमान बनेको पहिलो दिन १५ स्वर्णको छिनोफानो भयो । दोस्रो दिन पनि १५ स्वर्ण पदकको टुङ्गो लाग्यो ।

    १५. अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान

    पाकिस्तानको दक्षिणपश्चिम चमन जिल्लाको सीमामा पाकिस्तानी सुरक्षा बल र अफगान तालिबान सेनाबीच गोली हानाहान भएको छ । पाकिस्तानी सुरक्षा स्रोतहरूले शनिवार यसबारे पुष्टि गरेका छन् । पाकिस्तानी सेनाले बिना उक्साहट गोली हानाहान भएको र यसको सटीकताका साथ जवाफ दिएको बताए । देशको क्षेत्रीय अखण्डताको कुनैपनि उल्लङ्घनलाई तत्काल र निर्णायक कारबाही गरिने पाकिस्तानी सेनाले बताएको छ । गोली हानाहानको घटना एक लापरवाह कार्य भएको भन्दै यसले सीमा स्थिरता र क्षेत्रीय शान्तिलाई कमजोर बनाउने बताइएको छ । 

    १६. अमेरिका र युक्रेन सुरक्षा ढाँचामा सहमत

    अमेरिकी विदेश विभागले अमेरिका र युक्रेनी वार्ताकारहरूले दुई दिनभन्दा बढी समयसम्म भेटेर सुरक्षा व्यवस्थाको ढाँचामा सहमति जनाएका बताएको छ । दुई दिनभन्दा बढी समयसम्म, शान्तिका लागि विशेष दुत स्टीवन विटकोफ र जारेड कुशनरले युक्रेनमा दिगो र न्यायपूर्ण शान्तितर्फ विश्वसनीय मार्ग अगाडि बढाउन रचनात्मक छलफलका लागि राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्टेम उमरोभ र जनरल स्टाफ प्रमुख जनरल एन्ड्री ह्नाटोभसँग भेट गर्नुभयो । विगत दुई हप्तामा समूहको छैटौं बैठक भएको थियो । 

    १७. टर्किएमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

    टर्किएको दक्षिणपूर्वी ओस्मानिया प्रान्तको मुख्य राजमार्गमा शनिवार एक यात्रु बसले रोकिएको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । बाहचे जिल्ला नजिकै दुर्घटना भएको थियो । जसको टायर प्वाल परेको थियो र सडक यातायातको लागि बन्द गरिएको उल्लेख गरिएको छ । ट्रक चालकलाई हिरासतमा लिइएको छ ।। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । २०२४ मा टर्किएभरि ट्राफिक दुर्घटनाहरूले २ हजार ७ सय १३ जनाको ज्यान लिएको थियो । 

    १८. पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो

    मङ्गोलियाको बायान–उल्गी, उभ्स र खोभ्द जस्ता पश्चिमी प्रान्तहरूमा अत्याधिक चिसो शुरु भएको छ । यस वर्ष अत्यधिक जाडो मौसम ‘मशगम’ अनुभव गर्ने सम्भावना रहेको देशको राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन निकायले शनिवार जनाएको छ । मशगमको हालै गरिएको जोखिम मूल्याङ्कनले देखाएको छ कि देशको कुल भूभागको लगभग २० प्रतिशत यस जाडोमा मशगम अनुभव गर्ने उच्च जोखिममा छ । ३० प्रतिशतभन्दा बढी मध्यम जोखिममा छ । शनिवारसम्म देशको कुल भूभागको ७० प्रतिशतभन्दा बढी भाग ३० सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको छ । 

    १९. भारत र रुसबीच स्वास्थ्य र खाद्य सुरक्षा, समुन्द्री क्षेत्रको सम्झौतामा हस्ताक्षर

    भारत र रुसले बसाइँसराई र गतिशीलता, स्वास्थ्य र खाद्य सुरक्षा, समुद्री सहयोग र वाणिज्य जस्ता क्षेत्रहरूमा धेरै सम्झौता र समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थितिमा हस्ताक्षर भएको हो । भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका पुटिनसँग द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गरिएको हो । यस अवसरमा भारतले पारस्परिक आधारमा रूसी नागरिकहरूलाई निःशुल्क ३०–दिनको ई–पर्यटक भिसा प्रदान गर्ने घोषणा गरेको छ । 

    २०. स्पेनले ३० हजार सुँगुरहरू मार्ने

    स्पेनको क्याटालान क्षेत्रको सरकारले हालै अफ्रिकी स्वाइन फिभरको प्रकोपको निगरानी क्षेत्रबाट लगभग ३० हजार स्वस्थ सुँगुरहरूलाई तोकिएको वधशालामा पठाउन पशुधन क्षेत्रसँग सम्झौता गरेको छ । यो उपायले बार्सिलोना नजिकै जंगली बँदेलमा पत्ता लागेका पुष्टि भएका केसहरू वरपर २० किलोमिटर निगरानी क्षेत्र भित्र अवस्थित ३९ फार्महरूलाई समेट्छ । अधिकारीहरूले सबै सुँगुरहरूले भाइरसको लागि नकारात्मक परीक्षण गरेका छन् । परिणामस्वरूप मासु घरेलु उपभोगको लागि मात्र प्रयोग गरिनेछ । सुँगुरको मूल्यमा गिरावट र उत्पादकहरूमाथि बढ्दो दबाबको बीचमा यो सम्झौता आएको हो ।

    २१. १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन् । १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरुले एक्लाएक्लै निर्वाचनमा जानेगरि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । १२ वटा राजनितिक दलहरुले भने संयुक्त रुपमा एकल चिन्ह प्रयोग गरी निर्वाचनमा जानेगरि आयोगमा निवेदन दिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार १२ वटा राजनितिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिन्ह प्रयोग गरी निर्वाचनमा भाग लिनेछन् । 

    २२. वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले वैदेशिक रोजगारी पलायन नभएको बताउनुभएको छ । आप्रवासन दिवसको पूर्वतयारीका क्रममा आईतवार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीलाई पलायन भन्ने प्रचलन बढेको उल्लेख गर्नुहुँदै त्यो गलत र भ्रामक भएको उल्लेख गर्नुभयो । वैदेशिक रोजगारलाई उच्च शिक्षासँग तुलना गर्नुहुँदै उहाँले यसलाई प्राविधिक शिक्षाका रुपमा बुभ्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीमध्ये पाँच प्रतिशत पनि फर्केर नआउने तथ्यांक शिक्षा मन्त्रालयकै ‘नो अब्जेक्सन लेटर’ (एनओसी) का अभिलेखले देखाउँछ । उहाँले पढ्न जाने ५ प्रतिशत पनि नेपाल फर्कंदैन भने वैदेशिक रोजगारीलाई मात्र किन पलायन भनिन्छ ? भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले वैदेशिक रोजगार पनि हायर एजुकेशन जस्तै भएको उल्लेख गर्नुभयो । रोजगारीमा जाने मान्छेले पैसा, सीप, एक्सपोजर सबै ल्याउने र फर्केर नेपालमै केही गर्न पनि खोज्ने बताउनु भयो । 

    २३. आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल

    नवनियुक्त प्रेस काउन्सिल नेपालका अध्यक्ष कुमार शर्मा आचार्यले नियुक्ति पत्र बुझ्नुभएको छ ।  आईतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री जगदीश खरेलले अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान गर्नुभयो । सरकारले गत सोमवार आचार्यलाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो । नियुक्ति पत्र प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित, मर्यादित र जनउत्तरदायी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सोहीअनुसार अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले समग्र सञ्चार क्षेत्रको सुधारका लागि संविधान र कानूनको परिधिभित्र रहेर काउन्सिलले प्रभावकारी काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न लागिपरेको पनि बताउनु भयो । 

    २४. केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानवकेन्द्रित सेवाको महत्व बढ्दै गएको बताउनुभएको हो । उहाँले प्रविधिमा आधारित परिवर्तनलाई अझ सुदृढ बनाउन जरुरी रहेको उल्लेख गर्दै विमान केवल यात्रु बोक्ने साधन मात्र नभई नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानवकेन्द्रित सेवाको संयोजन भएको बताउनु भयो । उहाँले विश्वभर उडानलाई सुरक्षित, वातावरणमैत्री र यात्रुअनुकुल बनाउन नयाँ–नयाँ प्रवर्तन भइरहेका बेला एआई र आधुनिक प्रविधि पनि तिब्र गतिमा प्रवेश गरिरहेको पनि उल्लेख गर्नुभयो । यद्यपि प्रविधि बढ्दै गए पनि केबिन क्रूको भुमिकालाई कुनै मेसिनले प्रतिस्थापन गर्न नसक्ने मन्त्री सिन्हाको भनाइ छ । 

    २५. घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गर्नुभएको छ । आईतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले यस्तो आग्रह गरेको भण्डारीको भनाइ उद्धृत गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराउनु भयो । उहाँले सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत बताउनु भयो । उहाँले समयमै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ । 

    २६. प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष आचार्यले गरे पदभार ग्रहण

    प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले पदभार ग्रहण गर्नुभएको छ । आईतवार नियुक्ति पत्र बुझेलगत्तै सञ्चार ग्रामस्थित कार्यालयमा पुगरे अध्यक्ष आचार्यले पदभार ग्रहण गर्नुभएको हो । सरकारले गत सोमवार आचार्यलाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सरोकारवालासँगको सहकार्यमा आमसञ्चार माध्यमहरुलाई व्यव्यस्थित बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफू चाहेर नभई समयको माग अनुसार काउन्सिको अध्यक्ष बनेको उल्लेख गर्दै उहाँले काउन्सिलमा रहेका संस्थागत समस्याहर समाधान गर्नु पहिलो प्राथमिकता हुने बताउनु भयो ।

    २७. मानव अधिकार महाभेला सोमवारदेखि

    ७७ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १७ औँ मानव अधिकार राष्ट्रिय महाभेला सोमवारदेखि ललितपुरमा शुरु हुने भएको छ । आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहले उक्त जानकारी दिएको हो । यही मंसिर २८ गतेसम्म हुने उक्त महाभेलाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गर्दै सरकार तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउने उद्देश्य लिइएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहकी अध्यक्ष शोभा वि.सी.ले महाभेलाको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्यालले गर्ने जानकारी दिनुभयो ।

    २८. देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतिहरु खडा भएको बताउनुभएको छ । संसद सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशमा धेरै समस्या खडा भएको उल्लेख गर्दै त्यसलाई पार लगाउने जिम्मेवारी पूरा गर्न गम्भीर भएर लाग्नुपर्ने समेत बताउनु भयो । अध्यक्ष दाहालले संघीय संसद देशको मुख्य अंकमध्ये एक भएकाले यसले मुलुकको समस्यालाई हेरेर मात्रै बस्न नमिल्ने बताउनु भयो । उहाँले हरेक समस्या समाधानका लागि संघीय संसद सचिवालयले एकतावद्ध भएर सामना गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । 

    २९. संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा राजनीतिक नियुक्ति गर्न नहुने तर्कमाथि खुला बहस गर्न आवश्यक रहेको बताउनुभएको छ । संसद बाहिरबाट संघीय संसदमा महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिव नियुक्ति गर्ने व्यवस्थाले संसदनै नबुझ्ने भन्दै सशक्त तर्क आउने गरेकाले यसलाई खुला बहसको विषय बनाएर तत्काल निष्कर्षमा पुग्नुपर्ने सभामुख घिमिरेको जिकिर थियो । आईतवार संसद सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदलाई प्रभावकारी बनाउनका लागि आवश्यक सबै खालको छलफललाई खुला गरेर अघि बढ्न आवश्यक रहेको समेत बताउनु भयो ।

    ३०. सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । आईतवार संसद सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो प्रतिक्रिया दिनुभएको हो । आफूहरुले प्रतिनिधि सभा नभएपनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिएपनि सो अनुसार काम हुन नसकेको सभामुख घिमिरेको गुनासो थियो । उहाँले संसदका कर्मचारीहरुलाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक कानुनलगायतका व्यवस्था गर्न संसद एकेडेमी आवश्यक रहेको समेत बताउनु भयो । सभामुख घिमिरेले देशको आवश्यकताअनुसार संसदलाई स्थापित गराउने काममा लाग्न पनि ढिलाई गर्न नहुने बताउनु भयो ।

    ३१. सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति ग¥योः उपसभामुख राना

    प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौति गरेको भन्दै आपत्ति जनाउनुभएको छ । संसद सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले खर्च कटौति गरेर मुलुक बन्दैन भन्नेकुरा सरकारलाई थाहा हुनुपर्ने समेत बताउनु भयो । उपसभामुख रानाले सरकारले भ्रष्टाचार अन्त्य गरेर मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्नेमा खर्च कटौति गरेर गल्ती गरेको बताउनु भयो । उहाँले संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण, तालिमलगायतका काम गर्न पनि सरकारले नदिने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । 

    ३२. कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल

    गभर्नर डा.विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालोसूचिका प्रावधानमा अध्ययन गरेर रिभ्यु थालेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूचि समेत भएकाले यसमा रिभ्यु गर्नेगरी प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको हो । उहाँकाअनुसार तरलता अहिले व्यप्त छ । यसलाई घटाउन राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो समेत बनाएको छ । आगामी दिनमा लगानी बढ्दै जाने उहाँले बताउनु भयो । 

    ३३. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५५ जना र एउटा कम्पनीविरूद्ध मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा आठ अर्ब ३६ करोडको भ्रष्टाचार भएको निष्कर्शसहित तत्कालीन मन्त्रीहरू रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ ।
    त्यस्तै, सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मालाई प्रतिवादी बनाइएको छ भने सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ ।

    ३४. लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीले लगानीका लागि स्थायित्व नभएको बताउनुभएको छ । आईतवार नाफिजको साधारण सभामा बोल्दै ज्ञवालीले राजनीतिक वातावरणमा फेरबदल आउने बित्तिकै आयोजनाहरुको मोडालिटीहरुमा समेत धारणा बदल्ने परिपाटी देखिएको भन्दै उहाँले मुलुकमा स्थायित्व नभएसम्म लगानीको वातावरण बन्न नसक्ने बताउनुभएको हो । सिइओ ज्ञवालीकाअनुसार लगानीको दृष्टिकोणमा फेरबदल आउनु हुँदैन । स्थायित्वका लागि लगानी बोर्डमा प्रधानमन्त्रीको अध्यक्षतामा विपक्षी दलको नेतासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, विज्ञहरुसमेत सम्लित एउटा मेकानिजम बनाउने तयारी भइरहेको बताउनु भयो ।  –न्युज एजेन्सी नेपाल 

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १९:१६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij