२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । ७७ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १७ औँ मानव अधिकार राष्ट्रिय महाभेला सोमवारदेखि ललितपुरमा शुरु हुने भएको छ ।
आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहले उक्त जानकारी दिएको हो । यही मंसिर २८ गतेसम्म हुने उक्त महाभेलाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गर्दै सरकार तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहकी अध्यक्ष शोभा वि.सी.ले महाभेलाको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्यालले गर्ने जानकारी दिए । उनका अनुसार यस वर्षको महाभेला ‘मानव अधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समृद्ध नेपाल’ भन्ने नाराका साथ मनाइँदै छ ।
अध्यक्ष वि.सी.ले महाभेलामा राष्ट्रिय मानव अधिकार आयोग, विभिन्न गैरसरकारी महासंघहरू तथा १२५ भन्दा बढी मानव अधिकार तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागि हुने बताए ।
महाभेलामा देशभरबाट करिव एक हजारभन्दा बढी मानव अधिकारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij