२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । गोवाको अरपोरा क्षेत्रस्थित एक नाइट क्लबमा शनिबार राति भएको ग्यास सिलिन्डर विस्फोट र त्यसपछिको आगलागीका कारण २५ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा चार जना पर्यटक र १४ जना क्लबका कर्मचारीहरू रहेको पुष्टि भएको छ। बाँकी सात जनाको पहिचान भने खुल्न सकेको छैन।
गोवा प्रहरीले घटनालगत्तै क्लबका प्रबन्धकलाई पक्राउ गरेको छ। दमकलका कर्मचारीहरूले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए।
प्रारम्भिक अनुसन्धानले नाइट क्लबमा फायर सेफ्टी नियमहरूको पालना नगरिएको पाइएको छ। फरेन्सिक विज्ञान प्रयोगशालाको टोलीले आगलागीको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।
गोवाका डीजीपी आलोक कुमारले २५ जनाको शव फेला परेको र ज्यान गुमाउनेमा क्लबमा काम गर्ने कर्मचारीहरूको संख्या धेरै रहेको जानकारी दिए। डीजीपीका अनुसार आगो सबैभन्दा पहिले भुइँ तल्लामा रहेको भान्साबाट क्लबका अन्य भागहरूमा फैलियो। यसै कारणले गर्दा धेरैजसो शव किचन क्षेत्रबाट बरामद भएका छन्। भाग्ने प्रयासका क्रममा दुई जनाको मृत्यु सिँढीमा भएको थियो।
प्रत्यक्षदर्शी फातिमा शेखका अनुसार आगलागी हुँदा क्लबभित्र ठूलो भागदौड मच्चिएको थियो। त्यसबेला क्लबमा सप्ताहन्तको पार्टी चलिरहेको थियो र करिब १०० जना डान्स फ्लोरमा थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij