२०८२ मंसिर १६ गते मंगलवार
सुनसरी । हर्कराज राई साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल श्रम संस्कृति पार्टीले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको घोषणा गरेको छ ।
दलको अवधारणा र एजेन्डाहरू सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले अवधारणा पत्र पढेर सुनाउँदै भने, ‘प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्दछ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्दछ । अनिवार्य श्रम र श्रमदाताको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ विनास र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद ।’
सबै नागरिकलाई सबै खाले विकासमा श्रमदानमार्फत सक्रिय रूपमा जोडिने छ भन्ने अवधारणा सुनाउँदै अध्यक्ष साम्पाङले भने, ‘पहुँच र शक्तिको आडमा गरिने असमान र अन्यायपूर्ण विकासको वितरण अन्त्य गरिने र काठमाडौं केन्द्रित या शहर केन्द्रित विकासलाई गाउँ घर केन्द्रित बनाउनेछौं ।’
उनले हर्कवादलाई थप प्रस्ट्याउँदै यही देशको ढुंगा र माटोमा श्रम रोपेर देशको स्वाधीनता, सम्प्रभूता, समृद्धि, सुख र खुसीसहितको सुनौलो भविष्य फलाउने सूत्र पनि हर्कवाद नै भएको बताए । पार्टीको अवधारणापत्र अनुसार वैज्ञानिक कर लागु गर्ने जनाइएको छ । उक्त नीति अनुसार धनीबाट धेरै लिएर गरिबलाई बचाउने नीति लिने पनि उल्लेख छ ।
यस्तै चेतना र देशभक्ति जागरणसहितको भौतिक विकास श्रमदानको विधिलाई प्रथामिकता दिन आवश्यक ऐन कानुन बनाउने पनि उल्लेख छ । धरान उपमहानगरपालिकाका मेयर समेत रहेका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीको शासकीय स्वरूपबारे पनि अवधारणा सुनाए । बालिग मताधिकारद्वारा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति हुने उनले बताए ।
साम्पाङको अवधारणाअुनसार राष्ट्रपतिले राजनीतिक क्षेत्र बाहिरको विषय विज्ञ या सांसद जसलाई पनि लिएर आफ्नो पायकको सरकार गठन गर्न पाउने छ । पाँच वर्षे पदावधिको राष्ट्रपति नै राष्ट्र र सरकार दुवैको प्रमुख रहने उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij