२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार नरहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने प्रष्टीकरण दिएका हुन् ।
चलचित्र क्षेत्रसँग सम्बन्धित केही संघसंस्थाहरूले आफुलाई भेटेर चलचित्र विधेयक फिर्ता लिन आग्रह गरेको भन्दै उनले समिति बैठकमा सरोकारवालासँग बसेर उनीहरूको मागका बारेमा छलफल गर्न सरकार तयार रहेको बताए ।
यस पटक चलचित्र विधेयकलाई उपलब्धीमूलक बनाएर पारित गर्न सहयोग गर्ने खरेलको भनाइ छ । चलचित्र बिकास बोर्डलाई स्वायत्तता प्रदान गर्ने नाममा जथाभावी हुन नदिइने उनले बताए । खरेलले चलचित्रलाई नियन्त्रण नभइ सहजीकरण र नियमन सेन्सरलाई अघि बढाउनुपर्ने बताएका छ्न् ।
मन्त्री खरेलले चलचित्र क्षेत्र सञ्चार मन्त्रालयकै मातहत राख्नुपर्नेमा जोड दिए । समिति सभापति तुलसाकुमारी दहालले चलचित्र विधेयक फिर्ता लिनुपर्छ भन्ने सरोकारवालासँग छलफल गरेर विधेयकलाई अघि बढाइने जानकारी दिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij