२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन अभाव हुँदा त्यहाँ उपचाररत एक सय ५ जना विरामीको ज्यान जोखिममा परेको छ।
गए राति विभिन्न ठाउँमा गएर अक्सिजनको जोहो गरे पनि पर्याप्त नहुँदा बिरामीको ज्यान जोखिममा परेको ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेलले बताए । ट्रमा सेन्टरमा हाल १०५ जना कोरोना संक्रमित गम्भीर बिरामीलाई हाइ फ्लो अक्सिजन दिएर राखिएको छ ।
पौडेल र अस्पतालको कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसी गए राति आफैँ एम्बुलेन्स चढेर अक्सिजनको खोजीमा निस्किएका थिए । उनीहरु दुबैले आज बिहान फेसबुकमा स्टाटस राख्दै ट्रमा सेन्टरमा अक्सिजन अभाव भएको जानकारी गराएका हुन् ।
केसीले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना विरामीहरु अक्सीजनको सहायताले उपचाररत छन् । तर आज रातभरी अस्पतालका निर्देशक डा.सन्तोष पौड्यलसहित खटिएर एम्बुलेन्स मार्फत अक्सिजन ओसार्दा पनि बिहान ७ बजे सम्मको लागि मात्र अक्सीजनको व्यवस्था गर्न सकियो । अब तत्काल अक्सीजन व्यवस्था गर्न नसकिएमा भगवान भरोसामा छ ।’
ट्रमा सेन्टरले बालाजुस्थित शंकर अक्सिजन उद्योगबाट अक्सिजन ल्याउने गरेको थियो। उद्योगले उपलव्ध गराएको अक्सिजनले नपुगेपछि अस्पतालमा अक्सिजनको चरम अभाव हुन थालेको हो । हाल ट्रमा सेन्टरमा दैनिक चार सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने पौडेलले बताए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) ले ट्रमा सेन्टरलाई दैनिक १ सय ५० सिलिण्डर अक्सिजनको कोटा तोकिदिएको छ । सीसीएमसीले कोटा तोकिदिएपछि काठमाडौंका ठूला सरकारी अस्पतालमा अक्सिजनको चरम अभाव हुन थालेको छ ।
हाल सीसीएमसीले तोकिदिएको एक सय ५० वटा सिलिण्डर पाउन पनि मुस्किल रहेको ट्रमा सेन्टर प्रशासनले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij