Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हिरासत कक्षका समस्या समाधानमा गम्भीर हुन सरकारलाई मानव अधिकार आयाेगको आग्रह

हिरासत कक्षका समस्या समाधानमा गम्भीर हुन सरकारलाई मानव अधिकार आयाेगको आग्रह


  • 1.1K
    Shares

    • images
    हिरासत कक्षका समस्या समाधानमा गम्भीर हुन सरकारलाई मानव अधिकार आयाेगको आग्रह

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपश्चात उपत्यकाभित्रका हिरासत कक्षको अवस्थाबारे अनुगमन गरेको छ । आयोगको कार्तिक २७ र २८ गते उपत्यकाभित्रका हिरासत कक्षको अनुगमन गरेको हो ।

    काठमाडौंको सोह्रखुट्टे, स्वयभू, कोटेश्वर, सिंहदरबार, महाराजगञ्ज र कालीमाटीस्थित प्रहरी वृत्तहरु, ललितपुरको जिल्ला प्रहरी परिसर तथा सातदोबाटो वृत्त र भक्तपुरको जिल्ला प्रहरी परिसर, जगाति, मध्येपुर र ठिमीस्थित प्रहरी वृत्तका हिरासतमा रहेका थुनुवाहरुको मानव अधिकार अवस्था र हिरासतको भौतिक संरचनाको अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरेको हो ।

    आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयहरुबाट समेत उपत्यका बाहिरका जिल्लामा रहेका हिरासत कक्षहरुको अनुगमन सुरु गरिएको छ। जेन्जी आन्दोलनपश्चात प्रहरी हिरासतमा मानव अधिकारको अवस्थाको बारेमा आयोगमा गुनासा, उजुरी र ज्ञापनपत्रहरु आएका थियो ।

    आन्दोलनपश्चात पक्राउ गरिएका जेनजी प्रदर्शनकारीहरुलाई स्वास्थ्य परीक्षण गरिएको पाइएता पनि हिरासतमा रहेको शौचालय तथा सरसफाईको अभावका कारण दुर्गन्ध आएको र केहीले आफूलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिएको आयोगको टोली समक्ष गुनासो गरेका छन्।

    केही हिरासतमा महिला कक्षको अभाव रहेको र भौतिक संरचनाहरुको अभाव रहेको लगायतका जानकारीहरु अनुगमनबाट देखिएको आयोगले जनाएको छ । प्रदर्शनको क्रममा आपराधिक क्रियाकलाप गरेको प्रमाणका आधारमा केही व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ रहेको छ ।

    जेनजी प्रदर्शनको क्रममा प्रहरीको अधिकांश भौतिक संरचनाहरुको क्षति भएको र हाल स्थानीय समुदायको सहयोगमा कतिपय संरचना निर्माण भई सञ्चालनमा आएको, हिरासतबाट बाहिर निस्केका केही थुनुवाहरु अझै पनि फिर्ता नआएका, प्रहरीहरु समेत घाइते भएका र उनीहरुको मनोबल कमजोर बनेको, कतिपय प्रहरी कार्यालयहरुमा रहेका फाइलहरु जलेर नष्ट भएको र हतियारहरु लुटिएको लगायतका जानकारी अनुगमनका क्रममा आएको आयोगको भनाइ छ ।

    जेन्जी प्रदर्शनको क्रममा हिरासतबाट भागेका थुनुवाहरु र लुटिएका हतियारहरु फिर्ता नहुँदा शान्ति सुरक्षामा चुनौति थपिएको पाइएको छ । जेनजी प्रदर्शनको क्रममा क्षति पुगेका भौतिक संरचना निर्माण गर्न र हिरासतमा रहेका थुनुवाहरुको लागि अत्यावश्यक सामग्रीहरुका लागि समेत बजेट अभाव रहेको जानकारी प्राप्त भएको प्रवक्ता डा।टीकाराम पोखरेलले बताए ।

    आयोगले हिरासतहरुमा यी समग्र समस्याहरुको समाधानमा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १६:५६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij