२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले नेपालको वर्तमान राजनीतिक अवस्थामा सामूहिक नेतृत्वको आवश्यकता औँल्याएकी छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बुझाइ सबैमा रहे पनि पुराना दलहरू सुध्रिएर निकास दिने आशा राख्नु मूर्खता भएको बताएकी हुन्।
श्रेष्ठले लेखेकी छन्, ‘पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशा बाहेक केही दिन नसकेकाहरू अहिले चुनावी समीकरण मिलाउनका लागि एकजुट हुँदै छन्।’ यसको विपरीत, परिवर्तन ल्याउने भनिएका शक्तिहरू भने नेतृत्व कसले लिने भन्ने विवादका कारण अझै छिन्नभिन्न रहेको उनको विश्लेषण छ।
यस्तो अवस्थामा, उनले परिवर्तनको अपेक्षा राख्ने हरेक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता देखेकी छन्। उनले निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वको अवधारणामा जान सकिने सुझाव दिँदै प्रश्न गरेकी छन्स् ‘पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् (काउन्सिल अफ लिडर्स) बनाए कस्तो होला?’
उनले कुनै एक नायकको अनुहार अगाडि राख्नुको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिने कुरामा जोड दिएकी छन्।
पूर्वमन्त्री श्रेष्ठको भनाइ छ, ‘हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिँडेर बजारलाई ठिक्क नियमनमा राखी समृद्धि ल्याउने सरकार हो।’ उनले जनताको मुद्दा बोक्ने वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैलाई आग्रह गरेकी छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij