२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । नेपाल राष्ट्र बैंकमा ११ जना कार्यकारी निर्देशकहरूको सरुवा भएको छ । कात्तिक १७ गतेको निर्णयानुसार १९ कात्तिकदेखि लागू हुने गरी सरुवा गरिएको केन्द्रिय बैंकले जानकारी दिएको हो।
कार्यकारी निर्देशक डा.सत्येन्द्र तिमिल्सिना वित्तीय संस्था सुपरिवेक्षण विभागबाट भुक्तानी प्रणाली विभागमा पुगेका छन् । रोशन कुमार सिग्देल सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट बैंकिङ्ग विभागमा पुगेका छन् भने डा.डिल्लीराम पोखेल बैंकिङ्ग विभागबाट मौद्रिक व्यवस्थापन विभाग कायम भएका छन् ।
रेवतीप्रसाद नेपाललाई विदेशी विनिमय व्यवस्थापन विभागबाट सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको नेतृत्वमा, कार्यकारी निर्देशक रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागबाट बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा गरिएको छ ।
दयाराम शर्मा मौद्रिक व्यवस्थापन विभागबाट गभर्नरको कार्यालयमा आएका छन् भने कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मानव संसाधन व्यवस्थापन विभागमा सरुवा भएका छन् ।
त्यसैगरी विश्रुत थापा मानव संसाधन व्यवस्थापन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभाग सरुवा भएका छन् भने प्रवक्ता समेत रहेका किरण पण्डित भुक्तानी प्रणाली विभागबाट विदेशी विनिमय व्यवस्थापन विभाग गएका छन् ।
साथै, अनुज दाहाल संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट मुद्रा व्यवस्थापन विभागमा पुगेका छन् । राजनविक्रम थापा गभर्नरको कार्यालयबाट संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पुगेका हुन् ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij