२०८२ कार्तिक १६ गते आइतवार
काठमाडौं । कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व शनिवार देशभर श्रद्धा र भक्तिभावका साथ उल्लासपूर्वक मनाइएको छ । भगवान् विष्णुको जागरणको प्रतिक मानिने यो एकादशीमा विशेषगरी ललितपुरको गोदावरी नगरपालिका–२ स्थित विशंखुनारायण मन्दिरमा भव्य मेला लागेको थियो । हजारौं भक्तजन वर्षा र चिसो मौसमको पर्वाह नगरी प्राकृतिक शिलाबाट बनेको विष्णु मूर्तिको दर्शन गर्न पुगेका छन् ।
वर्षभरि पर्ने २४ एकादशीहरूमध्ये सबैभन्दा महत्वपूर्ण मानिने हरिबोधिनी एकादशी पर्व शनिवार देशभरका विष्णु मन्दिरहरूमा श्रद्धा र भक्तिभावका साथ पूजा आरधना गरि मनाइएको छ । विशेषगरी ललितपुरको गोदावरी नगरपालिका–२ मा अवस्थित विशंखुनारायण मन्दिरमा मेला लागेको छ ।
धार्मिक विश्वासअनुसार, आषाढ शुक्ल एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा शयन गर्न जाने र कात्तिक शुक्ल एकादशीका दिन निद्राबाट जाग्ने विश्वास रहि आएको छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी र कात्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । विष्णुभक्तहरूका लागि यो दिन अत्यन्त पवित्र मानिन्छ ।
तुलसी विवाह र हरिकिर्तनको उल्लास
हरिबोधिनी एकादशीको विशेषता भगवान् विष्णु र तुलसी देवीको प्रतिकात्मक विवाह समारोह हो । वैदिक धर्मशास्त्रमा तुलसीलाई धार्मिक मात्र नभई औषधीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । यस दिन तुलसीको पूजा गरी, हरिकीर्तन गर्दै जाग्राम बस्ने परम्परा छ ।
काठमाडौँ उपत्यकाभरका चार नारायण मन्दिरहरू पश्चिममा इचङ्गुनारायण, पूर्वमा चाँगुनारायण, उत्तरमा विशंखुनारायण र दक्षिणमा शेषनारायणमा विशेष आराधना र दर्शनका लागि भक्तजनहरूको भीड देखिएको थियो । वर्षा र चिसो मौसमका बीच पनि श्रद्धालुहरूको उत्साह घटेको थिएन ।
गोदावरी नगरपालिका–२ मा रहेको विशंखुनारायण मन्दिरमा यस वर्ष पनि बिहानैदेखि भक्तजनको भीड लागेको थियो । प्राकृतिक शिलाबाट बनेको भगवान् विष्णुको मूर्तिको दर्शनका लागि काठमाडौं उपत्यकासहित बाहिरका भक्तजन पनि पुगेका थिए । मन्दिर परिसरमा पूजाआजा, आरती, तुलसी विवाह र हरिकीर्तन कार्यक्रम आयोजना गरिएको छ ।
रोचक किंवदन्ती : भष्मासुर र मोहिनीको कथा
विशंखुनारायणको उत्पत्तिसँग जोडिएको किंवदन्ती अझै पनि स्थानीयहरूबीच लोकप्रिय छ । कथाअनुसार, भस्मासुर नामक असुरले कठोर तपस्या गरी भगवान् महादेवलाई प्रसन्न बनाए र ‘जसको टाउकोमा मैले हात राखेँ, ऊ भस्म होस् ।’ भनी वर मागे । महादेवले वरदान दिएपछि भस्मासुरले सो वरदानकै प्रयोग महादेवमाथि गर्न खोजे ।
आतंकित महादेव भगवान् विष्णुको शरणमा गए । विष्णुले मोहिनी रूप धारण गरी भस्मासुरलाई मोहित पार्न सफल भए । मोहिनीको नृत्यमा तन्मय भस्मासुरले अन्ततः आफ्नै टाउकोमा हात राख्यो र भस्म भयो । त्यसपछि मोहिनी रूपमा रहेका भगवान् विष्णु त्यहीँ गुफामा अन्र्तध्यान भएको र सोही स्थानलाई अहिले विशंखुनारायणका रूपमा पूज्ने गरिएको किवंदन्ती छ । दक्षिणपट्टिको डाँडा भस्मासुरको खरानीबाट बनेको मानिन्छ । जसलाई अहिले पनि भस्मासुर डाँडा भनिन्छ भने नजिकैको गुफा गुप्तेश्वर गुफाका रूपमा पूजनीय छ ।
धार्मिक र पर्यटकीय सम्भावना
प्राकृतिक सौन्दर्य, ऐतिहासिक पृष्ठभूमि र धार्मिक महत्वले भरिएको विशंखुनारायण मन्दिरलाई धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय निकायहरू सक्रिय छन् । मन्दिर क्षेत्रको सरसफाइ, पहुँचमार्ग सुधार र पर्यटकका लागि आवश्यक सुविधा विस्तार गर्न कार्ययोजना तयार गरिएको छ ।
धार्मिक विद्वानहरूका अनुसार हरिबोधिनी एकादशी मात्र धार्मिक अनुष्ठान होइन मानव र प्रकृतिबीचको सम्बन्धलाई स्मरण गराउने सांस्कृतिक उत्सव पनि हो । तुलसी विवाह, हरिकीर्तन र विष्णु पूजाजस्ता अभ्यासले भक्ति र प्रकृतिप्रति सम्मानको परम्परा जोगाइरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij