२०८२ कार्तिक १८ गते मंगलवार
काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिका-१ स्थित आकासे ताल पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बन्दै गएको छ । यहाँको प्राकृतिक सौन्दर्यका आन्तरिक तथा बाह्य पर्यटक यसतर्फ आकर्षित बनेका हुन् ।
समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित आकासे बाट मनमोहक दृश्यावलोकनका साथै हिमालको फेदमा बसी प्रकृतिको काखमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको गुठिचौर गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष अर्जुनकुमार महताराले बताएका छन् ।
पत्ता लगेपछि सृजना सिज्जुसहितको टोलीले पहिलो पटक अवलोकन गरेर उक्त तालको श्रव्यदृश्य सार्वजनिक गरेपछि यहाँ पर्यटकको आगमन हुन थालेको वडाध्यक्ष महताराले बताएका छन् । तालको प्रवर्द्धनका लागि पर्यटन बोर्डसँग समन्वय भइरहेको वडाध्यक्ष महताराले जानकारी दिएका छन् भने उनका अनुसार अहिले तालसम्म पुग्नका लागि गुठिचौर-१ मौरेसम्म ५० लाखको लागतमा सडक निर्माण गरिएको छ ।
तालको सही नापजाँचको कामलाई पालिकाले अघि बढाएको छ । यो वर्षको हिउँदे गाउँसभाबाट आकासे तालको पर्यटन प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरिने वडाध्यक्ष महताराले जानकारी दिएका छन् । तालसम्म पुगेका पर्यटनलाई बस्नका लागि धर्मशालाको निर्माण गरिएको छ ।
अहिले तालको अवलोकन, घुमघाम गर्ने, श्रव्यदृश्य तथा वृत्तचित्र बनेउनेलगायत प्रयोजनका लागि दैनिक तीनदखि पाँच समूहमा आन्तरिका तथा बाह्य पर्यटक पुग्ने गरेका वडाध्यक्ष महताराले उल्लेख गरे ।
पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा ताल पर्न थालेपछि पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइएको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्ने सबैलाई आकर्षित गर्दछ । हिमालको फेदमा चिटिक्क परेको आकासे तालको मनमोहक दृश्यले पर्यटनको मन लोभ्याउने गरेको स्थानीय अजित थापाले बताएका छन् ।
आकासे तालको प्रचारप्रसार गर्न गर्नुका साथै पूर्वाधार विकासमा जोड दिनुपर्ने थापाको भनाइ छ । तीनवटै सरकारको समन्वयमा तालको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने उनले उल्लेख गरे । तालको अवलोकन गरेर फर्किएका तातोपानी गाउँपालिका-४ का स्थानीय भरत नेपालीले यहाँ पुग्ने पर्यटक हिमालको फेदीमा अवस्थित आकासे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित हुने धारणा राखे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij