२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौं । हालै अमेरिकाको सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किएकी गायिका एलिना चौहान अहिले चर्चामा छिन् । अमेरिका रहँदा आयोजकबाट राम्रो व्यवहार नभएको अभिव्यक्ति दिएपछि उनी चर्चा र विवादको केन्द्रमा रहेकी हुन् ।
नेपाल फर्किएपछि उनले आफ्नो अमेरिका टुर ठुलो सिकाइ बनेको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो । एउटा कुरा स्पष्ट भन्न चाहन्छु, आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ। नराम्रा अनुभवले धेरै कुरा सिकायो— अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् ।’
उनको यो अभिव्यक्तिपछि बचाउमा आयोजक विनोद अधिकारीको तर्फबाट हालै एक अडियो सामाजिक सञ्जालबाटै सार्वजनिक भएको छ । उक्त अडियो सार्वजनिक भएपछि एलिनाले थप आक्रोश पोखेकी छन् । उनले अडियो तोडमोड गरेर सार्वजनिक गरिएको जिकिर गर्दै बिहीबार सामाजिक सञ्जालमार्फत प्रश्न गरेकी छन्, ‘पूरै अडियो हाल्ने हिम्मत छ ?’
उनले आफूलाई धम्की नै दिने काम भएको उल्लेख गर्दै अगाडि भनेकी छन्, ‘तलाई घाटा हुनेवाला छ भनेर धम्की दिएको अडियो कहाँ गयो ?’ उनले आत्मसम्मानमा कहीँकतै सम्झौता नहुने समेत स्पष्ट पारेकी छन् । उनले भनेकी छन्, ‘हजारचोटि कसैले मलाई नराम्रो गरेपनि म हजारचोटि उभिन्छु र आफ्नो लागि लड्छु ।’
अहिलेकी चल्तीका गायिकाले अमेरिका भ्रमणबारे निरन्तर बोलिरहँदा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । कतिपयले उनको समर्थनमा प्रतिक्रिया जनाउँदा कतिले चाहिँ एलिनामाथि नै औँला उठाएका छन् ।
एक प्रयोगकर्ताले रचना रिमालको उदाहरण दिँदै एलिनाको ‘पारा’ ठीक नभएको प्रतिक्रिया दिएका छन् । तर, एलिनाले सबैको जीवन एकनास नहुने भन्दै रचना ‘लक्की’ भएको जवाफ फर्काएकी छन् । उनले जीवराज पोख्रेललाई जवाफ फर्काउँदै लेखेकी छन्, ‘सबैको जीवन एउटै हुँदैन । उनी लक्की केटी हो ।’
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij