२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बुधवार भएको मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतविरुद्ध पेनाल्टी सुटआउटमा जित दर्ता गरेको छ । सिक्किमको पाल्जोर रंगशालामा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो । जसमा, नेपाल ३–० ले विजयी भयो ।
पेनाल्टी सुटआउटमा नेपालका लागि सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेको प्रहार भने बाहिरियो । भारतका लागि कुनै पनि खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् । प्रियदर्शनी र अस्तम ओरमको प्रहारलाई नेपाली गोलकिपर अञ्जना रानामगरले बचाउँदा सन्तोषकोे प्रहार बाहिरिएको थियो ।
त्यसअघि भारतका लागि सौम्या गुगुलोथ तथा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेका थिए । भारतले ३०औं मिनेटमा अग्रता लिएको थियो । सौम्याले नेपाली रक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो । रश्मीकुमारीले कप्तान अनिता बस्नेतको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएकी थिइन् ।
यस खेलका लागि मुख्य प्रशिक्षक नविन न्यौपानेले १० खेलाडी नै परिवर्तन गरे । भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हालेकी थिइन् । पछि पेनाल्टी शूटआउट हुने देखिएपछि अन्जना रानामगरलाई गोलकिपिङको जिम्मा दिइएको थियो । उनले पेनाल्टी शूटआउटमा दुई प्रहार रोक्न पनि सफल भइन् ।
सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक मात्रै प्लेइंग ११ मा रहिन् । अन्यमा, अनिता बस्नेत, उषासहित प्रतीक्षा चौधरी, मिना देउवा, सरु लिम्बू, हिरा कुमारी भुजेल, निशा थोकर, पूर्णिमा राई, सरस्वती हमाल र रश्मिकुमारी घिसिङ पहिलो रोजाइमा परे । उता भारतले भने पछिल्लो खेलबाट सुरुवाती ११ का सबै खेलाडी परिवर्तन गर्दै बेन्चमा पनि सिक्किमका स्थानीय सहित नयाँ खेलाडीलाई अवसर दिइएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij