२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान केही ढिला हुन गएका छन् । अहिले अन्तर्राष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन् ।
हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ ।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, प्रतिकूल मौसमका कारण अहिले विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स उडानमात्रै भइरहेको छ । केही उडान डिले भए पनि रद्द नै गर्नुपर्ने अवस्था नभएको उनले बताए । निश्चित हवाई रुट भएकाले उडानमा सामान्य चाप बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा बिहानदेखि बदली छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij