२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । छठ पर्वको दोस्रो दिन आज खरना व्रतका रूपमा मनाइँदैछ । यो पर्व सूर्य देव र छठी मायाको पूजा-अर्चनासँग जोडिएको छ । जसले जीवनको उर्जा, स्वास्थ्य र समृद्धिको कामना गर्दछ ।
काठमाडौं उपत्यकामा विजेश्वरी मन्दिर, गौरीघाट, कमलपोखरी लगायतका घाटहरू रंगीचंगी सजावट हुँदैछ भने छठमा भक्तजनको भीड हुन्छ । छठ पर्व चार दिनसम्म चल्छ । जसको शुरुवात शनिवारबाट नहाय खायबाट शुरु भयो । आजको खरना दिन व्रतधारिहरुले कठोर निर्जल व्रत बस्छन् । जसलाई साँझ गुडको खीर र रोटीको प्रसादले समापन गरिन्छ । यो प्रसादले शुद्धता, कृतज्ञता र प्रकृतिप्रतिको श्रद्धालाई प्रतिनिधित्व गर्दछ । मुख्य दिन सोमवार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ भने मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेर व्रत समापन गरिन्छ ।
नेपालमा यो पर्व विशेष गरी मिथिला, थारु र पहाडी समुदायहरूले उत्साहका साथ मनाउँछन् । जसले पर्यावरण संरक्षण र सामुदायिक एकताको सन्देश दिन्छ । काठमाडौं महानगरपालिकाले उपत्यकामा आठ वटा घाटहरू तोकेर विशेष व्यवस्था गरेको छ । जसमा सफाइ, बिजुली र सुरक्षा सुनिश्चित गरिएको छ । भक्तजनहरूले फलफूल, दुध, चामल र बाँसका डोरीहरूले सजाएका थालीहरू तयार पारिरहेका छन् । घाट निर्माणको क्रम जारी छ ।




© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij