२०८२ कार्तिक ८ गते शनिवार
जेन—जी प्रतिनिधिहरुले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।
शनिवार माईतीघर मण्डलामा शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएका जेन—जी प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु सरकारविरुद्ध खनिएका हुन् । शनिवार अपरान्ह उनीहरुले पत्रकार सम्मेलन गरी जेनजीहरुलाई एकतावद्ध गराउने अभियानमा जुटेकाहरुलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । सरकारले शान्तिपूर्ण रुपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरुको रिहाई तत्काल नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने जेन—जी प्रतिनिधि मञ्जना राईले बताउनु भयो । उहाँले जेनजीले बनाएको सरकारले उनीहरुको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गर्नुभयो ।
राईले भन्नुभयो, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौं । हामी पछि हट्ने छैनौं यही चेतावनी दिन चाहन्छौं । थुनिएका साथीहरु रिहाई नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौं ।’
जेन—जी प्रतिनिधिहरुले सरकारले आफूहरुमाथि दमन गरेको भन्दै सैह्य नहुने चतावनी समेत दिएका छन् । भोजपुरका जेन—जी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरुद्ध लाग्न पनि सबैलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो,‘हामीलाई युनिफाईड पनि हुन नदिने । यो कस्तो सरकार हो ? युनिफिकेशनको क्याम्पियन पनि रोक्नुपर्ने ? अब अहँ हुँदैन । जे जे गर्नुपर्छ, हाम्रो मागहरु छिटो पूरा हुनुपर्छ । सरकारले केही गर्दैन, हाम्रो साथीहरुलाई यसरी दमन गरिन्छ भने हामी सहदैनौं । अझ कहाँ कहाँ जाने हो, गर्ने हो । त्यही भएर आज हामी यही गर्दैछौं हाम्रो युनिफिकेशन क्याम्पियन जवसम्म पूरा हुँदैन, जे जे गर्नुपर्छ लाग्ने हो । सबैले आफ्नो सबै कुरा छोडेर युनिफाईड हुनुपर्छ देशका लागि ।’
जेन—जी आन्दोलनले बनाएको सरकारले उनीहरुमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाई थियो । उहाँले आफूहरुको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको समेत बताउनु भयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij