२०८२ कार्तिक ५ गते बुधवार
तिहारको माहौलमा गाउँ–शहर झिलिमिली छन् । पाँच दिन मनाइने तिहारको पौराणिक महत्त्व छ । कतिपय समुदायले तिहारलाई आफ्नो इतिहास मान्ने गरेका छन् । जे भए पनि अहिले तिहार नेपालीहरूले मान्ने मुख्यमध्येको महत्त्वपूर्ण चाड हाे । तिहारसँग जोडिएका विविध पक्षमा पौराणिक, ऐतिहासिकदेखि रोचक पक्ष छन् ।
भारतमा दिवाली नेपालमा तिहार
तराईमा वा हिन्दुस्तानमा ‘त्योहार’ वा ‘दिवाली’ भन्ने गरिए पनि नेपालमा ‘तिहार’ वा ‘दीपावली’ भनिन्छ । शरद् ऋतुमा आउने यो पर्व पाँच दिनसम्म मनाउने गरिएको छ ।
तिहारका बेला प्रकृति पनि सफासुग्घर भइसकेको हुन्छ । आकाश निलो देखिन्छ । गाउँघरमा फूलहरू ढकमक्क फुलेका हुन्छन् । यहीबेला किसानले खेतीपातीको चटारोबाट फुर्सद पाउँछन् । दसैँअघि वा लगत्तै धान काटेर सकिएको हुन्छ । बाली भित्र्याएर सकिएको हुन्छ । त्यसैले फुर्सदिलो मन लिएर रस–समाइलोमा भुल्न सकिने पर्व पनि तिहार नै हो ।
स्निग्ध प्रकृति
दसैँलाई पारिवारिक सम्बन्ध र संस्कारको चाड मानिन्छ । दसैँमा नयाँनयाँ लुगा लगाउने, तयारी बढी हुने र वर्षभरि नभेटिएका मानिस भेट्ने काम हुन्छ । तर, तिहारमा रमाइलो बढी गरिन्छ । यसै समयमा प्रकृति पनि नुवाईधुवाई गरेर स्निग्ध बनेकी हुन्छिन् ।
तिहारमा मासुका परिकारभन्दा फलफूल साथै विविध प्रकारका रोटी, मिठाई खाने गरिन्छ । यस्तै, दसैँमा घरआँगन लिपपोत मात्र गरिन्छ भने तिहारमा घरभित्र र मनभित्र पनि लिपपोत गरिन्छ । यही बेला मान्छेको मनको आकाशमा पनि शरद् ऋतु लाग्छ ।
उज्यालोको उत्सव
तिहार उज्यालोको उत्सव हो । हरेक घरलाई उज्यालो बनाउने, झिलीमिली पार्ने यही उत्तम समय हो । अहिले बिजुली बत्तीको उज्यालोमा हामी रमाउँछौं तर मेरो समयमा दियो बालेर सारा घरलाई उज्यालो बनाउने गर्थ्यौँ । मैनबत्ती बालेर रमाउने गर्थ्यौं । यसर्थ धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने तिहार वैभवसँग पनि सम्बन्धित छ ।
तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । लक्ष्मीको मात्र होइन, लक्ष्मीको विपरीतजस्तो प्रतित हुने यमराजसँग यो चाड सम्बन्धित छ । यसैले त तिहारमा यमराजका दूतहरूको पनि पूजा गरिन्छ । पहिलो दिन कागको, दोस्रो दिन कुकुरको, तेस्रो दिन गाईको, चौथो दिन गोरुको, त्यही दिन म्हपूजा र अन्तिम दिन भाइटीका गरिन्छ । भाइटीका यो चाडको सबैभन्दा विशेष दिन हो । यो यमराज र यमुनासँग जोडिएको छ ।
तिहारमा विशेषतः सयपत्री र मखमलीको प्रयोग गरिन्छ । मखमलीलाई सुपारी फूल पनि भनिन्छ । नओइलिने फूलको माला लगाउने यही बेला हो । मण्डप बनाउने काम पनि तिहारमै हुन्छ । भाइटीका होस् वा म्हपूजा, मण्डप बनाइएको हुन्छ । अन्नको धूलोले मात्र होइन, तेलले पनि मण्डप घेर्ने चलन छ । तेलले मण्डप घेर्ने भनेको आफ्नो मान्छे दीर्घजीवी होस् भनेर हो । यसरी मखमली, सयपत्री, गोदावरी र कतैकतै दुबोको मालासमेत लगाएर तिहारमा उल्लास मनाइन्छ ।
हाम्रो संस्कृतिमा चारवटा रात्रि छन् । शिवरात्रि, मोहरात्रि (कृष्णजन्माष्टमी), दसैँको कालरात्रि र तिहारको सुखरात्रि । सुखरात्रि भनेको लक्ष्मीपूजाको रात हो । यसैले यो रातको विशेष महत्त्व छ । अन्य तीनवटा रात्रीमा झैँ यो रात्रीमा पनि विशेष शक्तिको आराधना गरिन्छ ।
तिहार र समृद्धिको सम्बन्ध
तिहार पर्व समृद्धि र विकाससँग पनि जोडिएको छ । धन–दौलत, वैभव, सुख–ऐश्वर्यको आराधना गरिने हुँदा यो समृद्धिसँग नजिक रहने गर्छ । यसबाहेक नारी सदस्य र पुरुष सदस्यको सम्बन्धलाई हार्दिक बनाउने माध्यम हो तिहार । मान्छेको भलो गर्ने काम मान्छेले मात्र होइन, पशुहरूले पनि गरेका छन् भनेर नै पशुको पूजा गर्ने परम्परा बसाइएको हो । त्यसैले काग, कुकुर, गाई, गोरुको पूजा गरिन्छ । काग, कुकुरलाई सेलरोटी, फर्सीदेखि लिएर अन्य मीठा खानेकुरा खुवाइन्छ ।
कागलाई सुभबोल–सुभबोल भन्दै शुभसमाचार ल्याउने प्रचलन हाम्रो समाजमा छ । काग चिरञ्जीवी हुन्छ भन्ने विश्वास पनि छ । कागले अमृत खाएको छ भन्ने मिथ छ । थुतुनोमा अमृत लागेको मुखले दुबोमा पुछेको हुनाले दुबो मर्दैन भन्ने विश्वास छ । कुकुरलाई उसको काम र वफादारिताका आधारमा सम्मान गर्छौं । गाईलाई लक्ष्मी, आमा वा जीवनदायी मानेर ढोग्छौँ । भव्य पूजा गर्छौं ।
तिहार खानपान, रमाइलो, नाचगान र पूजाआराधनामात्र नभएर जीवनको विस्तारसँग पनि सम्बन्धित छ । यही बेला मानिस जमेर जुवातास खेल्छन् । जुवातास किन खेलिन्छ भन्दा हारजित थाहा होस् वा हारलाई पनि स्वीकार गर्न सकियोस् भनेर जुवा, तास, कौडा र पासा खेलिन्छ ।
यस्तै, नेवार समुदायको नेपाल संवत्यही बेला सुरु हुन्छ । नयाँ वर्षको रमझममा काठमाडौं उपत्यका रमाउँछ । आज नेपाल संवतलाई सरकारी तवरबाटै मान्यता छ । नेपाल भन्ने देशकै नामबाट आएको यो संवत् हाम्रो मौलिक संवत् हो ।
सुर र संगीतको चाड
तिहारमा नाच्ने, गाउने र संगीत बजाउने तीनवटै काम एकसाथ हुन्छ । यसैले यो सुर र संगीतको चाड पनि हो ।
तिहारको भैली लय हालेर सुरैसँग गाउने गरिन्छ । महिलाहरूले ‘हरियो गोबरले लिपेको, हे औँसीको बारो’ भन्दै सरसफाइको कुराबाट भैली गीत सुरु गर्छन् । भैली राति गाइन्छ । यसको सामाजिक कारण के छ भने हाम्रा महिलालाई निर्धक्क रूपमा नाचगानमा भाग लिन कडाइ गरिन्छ । तर, तिहारको मौका पारेर उनीहरूलाई एक–दुई दिन भए पनि नाचगान गर्न छुट हुन्छ ।
भैली गीत दिदीबहिनीले आफ्ना दाजुभाइको भलो होस् भनेर गाइएको भन्ने एकथरी मत छ । गाईको मात्र होइन, गोरुको पूजा गरेपछि देउसी गाउने चलन पनि तिहारमा छ । देउसी रे, देवश्री, देवताको आशिषसँग जोडिएको छ । पुरुष सदस्यले ‘देउसी रे’ भन्दै गीत गाएर देउसी खेल्छन् ।
देउसीसँगै भैली लोग्ने मान्छेले पनि गाउँछन् । तर, पुरुषले गाउने भैली लय हालेर वा लेघ्रो तानेर गाइँदैन । भट्याउँदै गाइन्छ । पुरुष–महिला दुवैले ‘हामी यसै आएनौँ, बलि राजाले पठाए, हे औँसी बारो गाई तिहार भैलो’ भनेर देउसी–भैलो खेल्छन् ।
१५औँ शताब्दीमा जुम्लामा बलि राजा भन्ने एक जना व्यक्ति थिए भन्ने भनाइ पनि छ । उनले नै देउसी र भैलोको सुरुवात गराएको हो भन्ने जनश्रुति समाजमा पाइन्छ ।
मृत्युबोध गराउने पर्व
मानिस एक वा अर्को किसिमले अकस्मात् मर्ने गर्छ । बिरामी भएर पनि मर्ने गर्छ । कोही समय पुगेर मर्छन् त कोही असामयिक तवरले मर्छन् । तर, मृत्युलाई कसरी ग्रहण गर्ने भन्नेमुख्य कुरा हो ।
एउटा पौराणिक कथा छ, यमुना र यमराजको । यमुना कहिलेकाहीँ मात्र दाइकहाँ आउने हुनाले दाइ यमराजले मीठो खुवाउने, राम्रो लगाउने गरेर बहिनीलाई प्रसन्न बनाउन खोज्थ्यो । यसो त हामी पनि परिवारमा धेरैपछि आफ्ना मान्छे भेट्दा वादिदीबहिनीलाई घरमा बोलाउँदा मीठोमसिनो खुवाउने गर्छौं ।
यसपछि यमराज खुसी भएर वरदान माग भन्दा यमुनाले संसारका सबै दिदीबहिनीले दाजुभाइलाई टीका लगाऊन् भनेर मागिन् । यसैले तिहारमा आफ्ना दाजुभाइ दीर्घजीवी होऊन् भनेर दुवोको पानी र तेलले घेरेर ओखर फोर्दै सप्तरंगी टीका लगाइदिने चलन छ । यही पौराणिक कथनले भाइटीकाको थालनी भएको देखिन्छ । यसबाहेक विभिन्न स्थान विशेषमा भाइटीका कसरी सुरु भयो भन्ने आआफ्नै कथा छ ।
सम्पूर्णमा के देखियो भने यमपञ्चक भन्नेबित्तिकै मृत्युको हरहिसाब राख्ने कुरा जोडिन्छ । मृत्युका विविध रूप छन्, जस्तो असामयिक, सामयिक, दुर्घटना, विपत्ति आदि । तर, यमराजले पनि तिहारको औँसीको दिनमा जसले सफासुग्घर गर्छ र बत्ती बाल्छ, त्यस्ता मान्छेलाई मकहाँ लिएर नआउनू भनेका थिए भन्ने मिथ पनि हाम्रो समाजमा प्रचलित छ । यसरी तिहारमा हामी यमराजका दूतको पनि श्रद्धापूर्वक पूजा गर्छौं । जसले हामीलाई मृत्युबोध गर्न सिकाउँछ ।
को हुन् देउसीभैलोमा भट्याइने बलिराजा?
धेरै किंवदन्ती दानवराज बलिसँग सम्बन्धित पाइए पनि देउसी भैली गीतको उत्पत्तिमा भने थुप्रै ऐतिहासिक तथ्यले जुम्ली राजा बलिराज कल्याल नजिक देखिन्छन्।
देउसी भैलो गीतको उत्पत्तिबारे धेरैले धेरै थरी अनुमान लगाएका छन् । ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए’ भन्ने पंक्तिका आधारमा हिन्दू मिथकका राजा बलि र मगर राजा बलिहाङ यो गीतका पात्र हुन् कि भन्ने अनुमान गरिन्छ। जुम्लामा भने खस राज्यकालका जुम्ली राजा बलिराज कल्याल शाहीले देउसी भैलो खेल्ने परम्परा शुरू गरेको मान्यता अझै पनि पाइन्छ।
१४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपास बलिराज जुम्लाका राजा बनेका थिए । यिनकै शासनकालमा जुम्लाको खस राज्यले एक कुख्यात मुसलमान लडाकूको फौजसँग सामना गर्यो । यसै युद्धपछि जनताबाट कर उठाउन बलिराजले देउसी भैलो खेल्न लगाएको केही इतिहासविद्हरू बताउँछन्।
‘खस जातिको इतिहास’ पुस्तकका लेखक एवम् इतिहासविद् बालकृष्ण पोखरेलले निधनको केही समय अघि बताएका थिए, “लडाइँमा बलिराजका छोरा वत्सराजले शत्रुलाई छक्क पारे । अन्त्यमा सबै फौज मारिंदा एक्लो वत्सराज खडा रहे । ‘मर्नु भन्दा अगाडि तँलाई के चाहिन्छ ?’ भनेर सोध्दा ‘मलाई तरबार पक्रेर मुसलमानको सबभन्दा बहादुर नेतासँग युद्ध गरेर मर्नु छ । जसरी म भुइँमा छु त्यसरी ऊ पनि भुइँमा ओर्लियोस् र मलाई मारोस् । एक्लैले सक्दैन भने दश जना आए पनि हुन्छ’ भनेर भने।
यसो भनेपछि आक्रमणकारी छक्क पर्यो । कस्तो बहादुर रहेछ भनेर ओर्लेर अंकमाल गरेर मीत लगायो । र मीतज्यूलाई घर फर्किनका लागि बाटो खर्च जुटाउन बलिराजले आफ्नो राज्यभर चन्दा उठाउन पठाए।”
पोखरेलले आफूले यो किस्सा अरबी र फारसी पुस्तकमा पाएको तर लिपि दोषका कारण वत्सराजको नाम बहरूज हुन गएको पनि बताएका थिए।
बलिराजबारे कर्णालीमा धेरै किंवदन्ती सुनिन्छ, तर उनको यो युद्धको किस्सा भने नेपाली इतिहासका दस्तावेजमा भेटिंदैन । ‘खस साम्राज्यको इतिहास’ पुस्तकमा पोखरेलले वत्सराज कल्यालवंशीहरूको उपमा भएकाले वत्सराज र बलिराज बाबु–छोरा नभएर एकै पात्र पनि हुनसक्ने लेखेका छन्।
पोखरेलका अनुसार बलिराजले सामना गरेका ती कुख्यात लडाकू तैमूर थिए । बलिराजको शासनकाल शुरू हुँदा अर्थात् मङ्गोल योद्धा तैमूरले भारतमा विध्वंस मच्चाइरहेका थिए । तैमूर–इ–लङ्ग र ‘तैमूर द लेम’ अर्थात् लङ्गडो तैमूर भनिने ती लडाकू भारत विजय गर्ने उद्देश्यले हाल उज्वेकिस्तानमा पर्ने समरकन्दबाट आएका र दिल्लीलाई ध्वस्त बनाएर उत्तरतिर लागेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij