२०८२ कार्तिक ३ गते सोमवार
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला बनेश्वर क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि घाइते भएकाहरुले निजामति (सिभिल अस्पताल) अस्पताल भरिएको थियो । प्रदर्शन भइरहेको स्थान नजिकै भएकोले अस्पताल प्रभावित हुनु नौलो होइन । अस्पतालको सेवा र विशेषताको आधारमा यस प्रकारको आकस्मिकता र दुर्घटनाको लागि यो अस्पताल स्थापना नभए पनि धेरै ठूला-ठूला बिपत्तिमा यसले आफ्नो काम सफलतापूर्वक सम्पन्न गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले अस्पतालभित्रै टियर ग्याँस आउँदा र गोलीका छर्राहरूले स्वास्थ्यकर्मीहरु घाइते हुँदा पनि सेवा नरोकिएको बताए। आन्दोलनको पूर्वसूचना रहे पनि कस्तो र कत्रो आकारमा क्षति हुन्छ भन्ने आँकलन नभए पनि अस्पतालले डिजास्टर म्यानेजमेण्ट प्रोटोकल अपनाएर सेवा दिएको बताए।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक रेग्मीले आन्दोलनकारी र सुरक्षाकर्मी दुवैले अस्पतालको शान्ति क्षेत्रको मर्यादा उल्लंघन गरेको गुनासो गरे । आपत्कालीन अवस्था र विपद् व्यवस्थापनका लागि हेलीप्याडसहितको छुट्टै अस्पताल र अन्य अस्पतालसँग छिटो सहकार्य र समन्वय गर्न बलियो सञ्जाल बनाउन आवश्यक रहेको बताए। आन्दोलनमा गोली र लाठी प्रहारबाट घाइते भएका ४ सय २० बिरामीमध्ये ५१ जनाको सर्जरी गरिएको, ४४ जना रेफर भएको र ६ जनाको मृत्यु भएको जानकारी दिए । आन्दोलनको केन्द्र बानेश्वर र माइतिघरबाट अन्यत्र सार्न, सडक र एम्बुलेन्सको पहुँच सुनिश्चित गर्न र संसद् भवन पनि स्थानान्तरण गर्नुपर्ने सुझाव दिए । प्रश्तुत छ निजामति अस्पतालका कार्यकारी निर्देशक डा। मोहनचन्द्र रेग्मीसँग भदौ २३ र २४ गते अस्पताल भित्रको अवस्था र अनुभवसहित कुराकानीको सम्पादित अंश ।
प्रश्नः भदौ २३ र २४ गते तपाईं के गर्दै हुनुहुन्थ्यो ?
जवाफः २३ गते जेनजी पुस्ताको आन्दोलन हुँदैछ भनेर पूर्वसूचना थियो । त्यसभन्दा पहिले पनि ६ महिनाको बीचमा अस्पतालले दुई वटा आन्दोलन पनि नजिकैबाट ह्याण्डल गरेको हो । बानेश्वर क्षेत्र नै सबै प्रदर्शनकारीको फोकस गरेको क्षेत्र पनि भयो । हामी मुभमेन्ट भइहरेको कारण जे पनि हुनसक्छ भन्ने अनुमानको आधारमा स्वास्थ्य सेवालाई तयारी अवस्थामा राखेका थियौं । हामीले डिजास्टर म्यानेजमेण्ट प्रोटोकलको कुरा पनि हामीले गरेका थियौं । २३ गते बिहानै म सिंहदरबारमा एउटा बैठकमा गएको थिए । साँझ त्यस्तो हुन्छ होला भन्ने कसैले पनि आँकलन गरेको थिएन । स्वास्थ्य सचिवज्यु र अन्य अस्पतालका निर्देशक पनि हुनुहुन्थ्यो । चोकतिर मान्छेहरु जम्मा हुने क्रम बढिसकेको थियो । हामीले संसदीय समितिको बैठक पनि छिटो गरी टुंग्यायौं । तर बैठक टुंग्याएर आउँदासम्म धेरै ठूलो क्षति चाहीँ भइसकेको थियो । आन्दोलनको क्रममा हामीले कल्पना गरेभन्दा पनि धेरै क्षति भयो ।
प्रश्नः जेनजी आन्दोलनका धेरै घाईतेहरु एकै समयमा अस्पताल आउँदा के कस्ता चुनौतीहरुको सामना गर्नुप¥यो ?जवाफः तीनकुने आन्दोलनका क्रममा गोली चलेका केसहरु पनि आए । हामीले ह्याण्डल ग¥यौं । शिक्षक आन्दोलनको क्रममा पनि धेरै जना अस्पताल आउनु भयो । तर त्यस्तो गम्भीर प्रकृतिका घटनाहरु थिएनन् । तर जेनजी आन्दोलनको क्रममा गम्भीर प्रकृतिका विरामीहरु धेरै आए । पहिलो दिन पनि दुई सय भन्दा बढी बिरामीहरु र दोस्रो दिन पनि दुई भन्दा बिरामीहरु आपतकालीन कक्षमा आउँदा अस्पतालको अन्य सेवामा त असर पर्ने नै भयो । यति धेरै बिरामी आउँदा अस्पतालको प्रोटोकलअनुसार काम गर्न चुनौती हुने नै भयो तर स्वास्थ्यकर्मीहरुलाई मोटिभेट गरेर काममा लगाइराख्नुपर्ने चुनौती पनि थपियो । बिरामी पनि आन्दोलन भएर घाइते भएकाहरु आउने पाटोमा मात्र सिमित भएको थिएन । यसका कोल्याटर एक्सेसहरु पनि समस्या भयो । एक्सेस नै थिएन । भनेको बेलामा एम्बुलेन्स आउने अवस्था थिएन । अस्पतालपभित्रै युद्धभूमिजस्तो भएको हुनाले स्वास्थ्यकर्मी पनि बाहिरबाट आउने अवस्था नै थिएन । सेवा एकातिर हुँदाहुँदै पनि अन्य धेरै चुनौतीहरु सँगसँगै थपिए ।
प्रश्नः कस्ता प्रकृतिका बिरामीहरु धेरै आए ?
जवाफः गोली लागेर घाइते भएकाहरु धेरै जना हुनुहुन्थ्यो । अनि लाठी चार्ज भएर अन्य समस्या भएका बिरामीहरु त २४ भदौमा धेरै जना आउनुभएको थियो । त्यसमा पनि केही सुरक्षाकर्मी घाइते हुनुहुन्थ्यो । नत्र भने अस्पताल आउने प्रायः सबै बुलेट इन्जुरी भएका मात्रै थिए । दुई दिन गरेर जम्मा चार सय २० जना सेवा लिन आउनुभयो । जसमध्ये धेरै जना सामान्य उपचारपछि इमरजेन्सीबाट फर्किनुभयो भने ४४ जना अन्तर रेफर हुनुभयो । हामीले ५१ जनाको चाहीँ सर्जरी गर्यौं । हामीले सर्जरी गरेका सबै गोली नै झिक्नुपर्ने बिरामीहरु नै छन् । जसमा ६ जनाको मृत्यु नै भयो । अनि राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएकाहरु पनि प्रायजसो यहीबाट रेफर भएकाहरु हुनुहुन्थ्यो । अहिले पनि आन्दोलनका दुई जना घाइतेहरु उपचाररत हुनुहुन्छ ।
प्रश्नः तपाईहरुले बिरामीको उपचार गरिरहँदा अस्पतालभित्रै टियर ग्याँसहरु चल्यो, त्यसको सामना कसरी गर्नुभयो, उपचार सेवामा कस्तो असर प¥यो ?
जवाफः आन्दोलनको दिन हाम्रो सुरक्षा कर्मचारीहरुको संयमता र सुझबुझपनाको कारणले धेरै ठूलो क्षति हुनबाट जोगियो भन्छु । सबैतिरबाट प्रहरीको घेरामा परिसकेपछि आन्दोलनकारीहरु जाने ठाउँ कहीँ नभएको कारण हामीले अगाडीको गेट खोलिदिएर पछाडिको गेटबाट बाहिर जाने व्यवस्था मिलाइदियौं । त्यस्तो नगरेको भएपनि अस्पतालको गेट अगाडि धेरै ठुलो मानवीय क्षति हुन्थ्यो । त्योसँगै आन्दोलनकारीले सुरक्षाकर्मीको सेल्टर सम्झेर अस्पतालभित्र छिरेर प्रशासनिक भवनहरुमा आगो लगाउने प्रयासहरु गर्नुभयो । केही ठाउँहरु भत्केका पनि छन् । तर आगो लागेन । र सुरक्षाकर्मीले पनि अस्पतालभित्रै आन्दोलनकारीको सेल्टर छ भने भित्रै ढुंगामुडा, टियरग्याँस र गोलीका छर्राहरु हान्ने काम गर्यो । हाम्रो अस्पतालको आपतकालीन कक्षको ढोकासम्मै गोलीका छर्राहरु आएका थिए । प्रहरीको त्यस्तो कदमले अस्पतालकै कयौं चिकित्सक र स्वास्थ्यकर्मी नै घाइते भए । त्यसले गर्दा हामीले चिकित्सकहरुको मनोबल उच्च राखेर उपचार कार्यमा खटाउनको लागि पनि एकदमै गाह्रो भयो । पहिलो दिन त अस्पतालको प्राङ्गण नै युद्धभूमिजस्तो भएको थियो । दोस्रो दिन चाहीँ जुन आगलागी भयो । त्यो समयमा अस्पतालका बिरामी र स्वास्थ्यकर्मीहरुलाई नै एयरमार्फत उद्धार गर्नुपर्छ कि भन्ने चुनौती पनि आइसकेको थियो । संसद भवन, कान्तिपुर टेलिभिजनको असिफस जल्दा नर्भिक असपतालको सेवा नै यता सार्नुपर्छ कि भन्ने तयारीमा पनि हामी जुटिसकेका थियौं । केही परिहाल्यो भने रेस्क्यू गर्नको लागि अस्पतालको पार्किङस्थललाई नै हामीले हेलीप्याडमा रुपान्तरण ग¥यौं तर उद्धार सेवा नै नमिल्ने अवस्था पनि आयो । त्यस्तो केही ब्लास्ट भएर अस्पताललाई त्यस्तो क्षति त भएन । अस्पताल र विद्यालय क्षेत्र झडप र युद्धमा पनि शान्ती क्षेत्र भनेर कहलिन्छन् । तर जेनजी आन्दोलनको क्रममा त्यो सामान्य मर्यादाको पनि पालना नभएको महसुश भयो । सरकार र आन्दोलनरत पक्ष दुवैले अस्पतालको मर्म बुझेनन् ।
प्रश्नः हामीले विभिन्न विपद् र हेल्थ क्राइसिसको समस्या समाधान ग¥यो, यसको लागि एउटा छुट्टै अस्पतालको आवश्यकता छ कि छैन ?
जवाफः विपद्को अस्पताल चाहिन्छ । तर हाम्रो चाँडै बिर्सिने बानी छ । संकट पर्दा सम्झने नत्र बिर्सिहाल्ने बानी छ । तर सडक नै कब्जा भए । एम्बुलेन्सन पनि जलाइए, तोडफोड गरिए । अस्पताल हुँदा पनि त केही समस्या आउँदा सडकको एक्सेस दिनुप¥यो । रोड कब्जा हुँदा एयर कनेक्टिभिटी चाहियो । विपद् अस्पतालसँगै आवश्यक अन्य कुराको पनि हामीले अभ्यास गर्नुपर्यो । मैले अर्थमन्त्रीज्यु अस्पतालको भिजिट आउँदाखेरी अस्पतालको नयाँ बन्ने संरचनाको माथि एउटा हेलीप्याड बनाउनुपर्ने आवश्यकता र वरिपरिको क्षेत्र पनि सानो भएको कारण बढाउनुपर्ने माग राखेको थिए । किनभने विपद् हुँदा त घाइतेहरुलाई छिटो अस्पताल पुर्याउनुप¥यो । र यस अस्पतालको पनि एउटा अर्को अस्पतालसँग प्रत्यक्ष सम्पर्क हुनुप¥यो । किनभने एकैचोटी धेरै बिरामी आउँदा त उपचार गर्न गाह्रो हुन्छ । यस्तो गर्न सकियो भने धेरै जीवन बचाउन सकिन्छ । यो हामीले रियलाइज गरेर अगाडि पनि बढाएका छौं । एकैचोटि गम्भीर प्रकृतिका धेरै बिरामी आउँदा उपचारमा समस्या गर्दा उहाँहरु आक्रोशित हुने र अन्य दुर्घटना पनि हुने सम्भावना रहन्छ । त्यसकारण यसतर्फ सरकारको ध्यान जान जरुरी छ । छाती, टाउको र निधारमै गोली लागेका कारण धेरैलाई बचाउन सकिएन यो दुःखद् नै भयो । त्यही बिरामी छिटो रेफर गरेर अर्को अस्पतालमा पु¥याउन सकिएको भए बाँच्नुहुन्थ्यो कि भन्ने मनमा रहिरह्यो ।
प्रश्नः यो ६ महिनामा भएको तीन आन्दोलन (शिक्षक आन्दोलन, राजावादीको आन्दोलन र जेनजी आन्दोलन) पछि स्वास्थ्य सतर्कता र स्वास्थ्य उपचारका लागि के गर्नुपर्ने आवश्यकता महशुस गर्नुभयो ?
जवाफः आन्दोलनको केन्द्र रहने माईतीघर र बानेश्वर क्षेत्रमा नभई आन्दोलनका केन्द्र अन्यत्रै बनाउन पाए हुन्थ्यो । आन्दोलनलाई यो क्षेत्रबाट अन्यत्र नै सिफ्ट गर्नुपर्छ जस्तो लाग्यो । संघीय संसद भवनलाई रिलोकेट गर्न पाए हुन्थ्यो । हाम्रो अस्पतालकै वरिपरि पनि बाटोले घेरिएको छ । यस्ता महत्वपूर्ण संरचनाहरुबीच दूरी कायम गर्नुपर्ने आवश्यकता छ । अर्को कुरा सेवाको हिसाबले सडकको मर्यादा हामी सबैले राखिदिनुपर्छ । त्यो हाम्रो सोचाई र सभ्यताको पनि मानक हो । एम्बुलेन्सलाई जस्तो अवस्थामा पनि काम गर्न दिनुपर्छ । अस्पतालसँगको सम्पर्क कुनैपनि हालतमा रोकिनुहुदैन । र कनेक्टिभिटी आवश्यक पर्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij