२०८२ आश्विन ३१ गते शुक्रवार
काठमाडौं । नेपाली सेनाले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा देशभर सरकारी, निजी र व्यापारिक गरी एक हजार ५८० वटा भवनमा तोडफोड तथा आगजनी भएको जनाएको छ ।
नेपाली सेनाले शुक्रबार जंगी अड्डामा आयोजना पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । “उक्त समयमा देशभर ४८४ स्थानमा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको थियो,” नेपाली सेनाको युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी मनोज थापाले भने, “प्रदर्शनका क्रममा सरकारी, निजी, व्यापारिक लगायतका एक हजार ५८० भवनमा तोडफोड तथा आगजनी भएको थियो ।”
युद्धकार्य निर्देशक थापाका अनुसार, जेनजी प्रदर्शनका क्रममा ६८८ वटा सरकारी कार्यालय, २५९ निजी भवन, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दल पार्टी कार्यालय र ३०७ वटा प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो ।
जेनजी प्रदर्शनका क्रममा २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदीबन्दी र अन्य ४१ जनाको मृत्यु भएको उनले जनाए । उनका अनुसार, जेनजी प्रदर्शनका क्रममा देशभरका कारागारबाट १५ हजार ५८८ जना कैदीबन्दी फरार भएका थिए ।
युद्धकार्य निर्देशक थापाका अनुसार, जेनजी प्रदर्शनका क्रममा सुरक्षार्कीका ९७८ वटा हातहतियार हराएका तथा लुटिएका थिए । तीमध्ये ५८६ वटा हातहतियार बरामद भएको सेनाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij