२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन प्रक्रिया सुरु गरेको छ ।
देशका सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन विभागअन्तर्गतका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई परिपत्र गरिएको विभागले जानकारी दिएको छ ।
विभागअन्तर्गत हाल देशभर १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका र ती कार्यालयले खानेपानी तथा सरसफाइ क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन गरी विभागमा पठाउन परिपत्र गरिएको महानिर्देशक ई कमलराज श्रेष्ठले जानकारी दिएका छन् ।
महानिर्देशक ई श्रेष्ठले सङ्कलन गरिएका विवरणलाई आधार बनाई तत्कालीन राहत तथा दीर्घकालीन पुनः स्थापनाको योजना बनाइने बताएका छन् । विशेष गरी इलाम र तराईमा बाढी पहिरोले खानेपानीमा क्षति पुर्याएको भन्दै उनले विवरण सङ्कलन भएपश्चात् प्रभावित क्षेत्रको पहिचान, क्षतिको प्रकार, अनुमानित लागत तथा पुनः स्थापनाको प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने धारणा राखेका छन् ।
यही असोज १८ र १९ गतेको अविरल वर्षाले पहाडी र भिरालो भू-भागमा रहेका धेरै खानेपानी स्रोत तथा वितरण प्रणालीमा गम्भीर असर पुर्याउनाका साथै पाइपलाइन बगाएका, इन्टेक संरचनामा क्षति, जलाशय ट्याङ्की माटो-ढुङ्गाले पुरेको, मोटर पम्प डुबानमा परेको, सरसफाइ उपकरणहरू क्षतिग्रस्तलगायत समस्या देखा परेका विभागले जानकारी दिएको छ ।
गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षा र बाढी पहिरोबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा चार अर्बभन्दा बढीको क्षति भएको खानेपानी मन्त्रालयले जनाएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij