२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरोले विनाश गरेको बीपी राजमार्गको अनुगमन गरेका छन् ।
मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको प्राविधिक टोली लिएर घिसिङ अनुगमनमा पुगेका हुन् । उनले आज रोशीको बाढीले बितण्डा मच्चाएको चौकीडाँडा क्षेत्रको निरीक्षण गरे ।
त्यहाँको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन बनाएर सञ्चालन गर्न लागिएको छ । संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने लाइफ लाइन यो सडक जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उनले सडक विभाग र निर्माण व्यवसायीलाई भनेका छन् ।
गत वर्षको बाढीले बीपी राजमार्गको भकुण्डे-नेपालथोक खण्ड क्षति पुर्याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ ।
गत वर्ष नै क्षति पुगेको सडक स्थायी निर्माणका लागि केही खण्डको ठेक्का लागिसकेको छ । केही खण्डको ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij