२०८२ आश्विन २६ गते आइतवार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ घतान तुसारेपानीमा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा चौध जना घाइते भएका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइने खानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको बोलेरो जीप दुर्घटनामा परेर घाइते भएकाहरूको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ ।
घाइतेमध्ये कुइनेखानीका पूर्ण छन्त्याल, रीता छन्त्याल, नन्दा छन्त्याल र बिना छन्त्याललाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको अस्पतालले जनाएको छ ।
अन्य घाइतेहरुको भने बेनी अस्पतालमा उपचार भैरहेको छ । जीप दुर्घटनामा परेर घाइते हुनेहरुमा धवलागिरि–५ मलम्पारकी २५ वर्षीया रिया छन्त्याल, मल्कबाङका ४६ वर्षीय नवीन छन्त्याल र ७ वर्षीया क्रिष्टिना छन्त्याल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । त्यस्तै रघुगंगा–८ बस्ने २१ वर्षीया अष्मी छन्त्याल, ३ वर्षीय जेनिष छन्त्याल, २० वर्षीया कविता छन्त्याल, १५ वर्षीय नेश्नल छन्त्याल, ३३ वर्षीया तकमाया छन्त्याल, ९ वर्षीय सफल छन्त्याल र जीपचालक धवलागिरि ४ सिमकोटका ३४ वर्षीय चन्द्र पूर्जा रहेको उनले बताए ।
ओरालो बाटोमा ब्रेक फेल भएर जीप दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र जीपका चालक चन्द्र पुर्जालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
जीप सडकबाट करिब ११० मिटर तल बाँझो बारीमा खसेको थियो । दुर्घटनामा परेकाहरूको स्थानीयवासी, जनप्रतिनिधि र नगर प्रहरी र सुरक्षाकर्मीहरूले उद्धार गरी बेनी अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij