२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत राष्ट्रिय सम्पदामाथि आगजनी, लुटपाट र प्रहरी चौकीमा आक्रमण गर्नेमध्ये पहिचान गरेर पक्राउ परेका करिब २५० जना व्यक्ति हाजिरी जमानीमा रिहा भएका छन् ।
महानगरीय प्रहरी कार्यालय मातहतका युनिटबाट पक्राउ परेका २५० जति व्यक्तिलाई गृह मन्त्रालयको निर्देशनमा छाडिएको हो । गृह मन्त्रालयले जाँचबुझ आयोगको प्रतिवेदन नआई कसैमाथि धरपकड नगर्ने भनेर वक्तव्य जारी गरेसँगै दशैँमा उनीहरू छुटेका हुन् ।
विभिन्न घटनामा संलग्न रहेको आधारमा पक्राउ परेकाहरूलाई बयान लिएर छाडिएको परिसरका प्रवक्ता पवन भट्टराईले बताएका छन् । जघन्य अपराधमा संलग्न भएकाहरू भने अनुसन्धानमै रहेका छन् ।
प्रहरीले विभिन्न भिडिओ फुटेज, फोटो र प्रमाणका आधारमा भदौ २४ को उपद्रवमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको थियो । त्यसमा महाराजञ्ज र कोटेश्वरका प्रहरीको हत्यामा संलग्न व्यक्ति समेत छन् । प्रहरीको हत्यामा संलग्नहरुलाई भने रिहा गरिएको छैन ।
आगजनी, लुटपाट र विध्वंसमा संलग्नहरू जो बयान हाजिरीमा छुटेका छन् उनीहरू अनुसन्धानकै क्रममा रहेकाले उन्मुक्ति भने नपाएको प्रहरी अधिकारीहरूले बताएका छन् । उनीहरू जेन-जी आन्दोलनको दबाब र सरकारको निर्देशनपछि प्रहरीले खोजेको बेला आउने गरी रिहा भएका हुन् ।
परिसरका एक प्रहरी अधिकृतले भने- उनीहरू सबैसँग बयान कागज गरिसकेको छ । धेरैको प्रमाण संकलन भएको छ । बयानका क्रममा धेरैजसोले हुलमुल र अन्जानमा संलग्न भएको भन्दै प्रत्यक्ष संलग्नता अश्वीकार गरेका छन् । तर, पनि उनीहरू सबैको बयान लिएर जमानीमा छाडिएकाले अनुसन्धानकै क्रममा छन्, कुनै पनि बेला उनीहरूलाई कानून बमोजिम कारबाही अघि बढाउन समस्या छैन ।
यसैबीच उपत्यका अपराध महाशाखाका प्रमुख रमेश बस्नेतले प्रहरीले आफ्नो नियमित काम जारी राखेको र कतैबाट दबाब नरहेको बताए । उनले अहिले आफूहरूको मुख्य प्राथमिकता भागेका कैदी बन्दीलाई खोजेर बुझाउने, लुटिएका हतियार फिर्ता र जघन्य अपराधको अनुसन्धान रहेको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij