Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कलंकी मालपोतमा दुई लाखभन्दा बढी श्रेस्ता जले, घरजग्गाधनीले नयाँ विवरण बुझाउनुपर्ने

कलंकी मालपोतमा दुई लाखभन्दा बढी श्रेस्ता जले, घरजग्गाधनीले नयाँ विवरण बुझाउनुपर्ने


  • 876
    Shares

    कलंकी मालपोतमा दुई लाखभन्दा बढी श्रेस्ता जले, घरजग्गाधनीले नयाँ विवरण बुझाउनुपर्ने
    images

    काठमाडौं । जेनजीले भदौ २४ गते गरेको प्रदर्शनका क्रममा कलंकीको मालपोत कार्यालयमा पनि तोडफोड तथा आगजनीका घटना भए । आगजनीका क्रममा सबै श्रेस्ता जलेर नष्ट भएपछि नयाँ विवरण मागिएको छ । दुई लाखभन्दा बढी श्रेस्ता जलेपछि कार्यालयले सम्पूर्ण घरजग्गाधनीसँग विवरण मागेको हो । कार्यालयका सबै प्रमाण जलेर नष्ट भएपछि नयाँ विवरण मागिएको कलंकी मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत रवीन ढकालले बताए । 

    श्रेस्ता जलेपछि कार्यालयले भूमि प्रशासन निर्देशिका २०८१ को दफा २१ अनुसार कागज प्रमाणसहित निवेदन दिन भनेको छ । तर, सबैले एकै समयमा विवरण कार्यालयमा दिनुनपर्ने ढकाल बताउँछन् । विवरण बुझाउनलाई कुनै समय अवधि नतोकिएकाले आफ्नो अनुकूलमा घरजग्गाधनीले विवरण बुझाउँदा हुने उनी बताउँछन् । 

    “श्रेस्ता कायम गर्दा एक चरणमा भिड त बढ्छ । तर, जसलाई अहिले जग्गा खरिदबिक्री तथा रोक्का गर्नु छैन, उहाँहरूले विस्तारै गरे पनि हुन्छ,” ढकालले भने । 

    हाल कार्यालयले काम सुचारु गरेको छैन । आकस्मिक सेवा सुचारु केही दिनमा सञ्चालन गर्ने ढकाल बताउँछन् । आकस्मिक सेवा सञ्चालन गर्न सूचना जारी गरेर स्पष्ट पारिने उनले बताए । आकस्मिक सेवा सञ्चालनपछि मात्र नियमित सेवा सञ्चालनमा ल्याउने प्रमुख मालपोत अधिकृत ढकालले बताए । “श्रेस्ता कायम गर्ने प्रक्रिया नियमित हो । आज सूचना निकालेर ३० दिनभित्र कायम गर्नुपर्छ भन्ने हैन,” उनले बाह्रखरीसित भने, “पहिले श्रेस्ता कायम हुन्छ अनि मात्र अरू काम हुन्छ । एकपटक श्रेस्ता कायम भएपछि फेरिफेरि कायम गर्नुपर्दैन ।” 
    जग्गा रोक्का राखिएको भए रोक्का राख्ने निकायको पनि सहमति चाहिने उनी बताउँछन् । नागरिकता नभए सेवा दिन नसकिने ढकाल बताउँछन् । पुर्जा हराएको खण्डमा सार्वजनिक सूचना निकाल्नुपर्ने उनको भनाइ छ । 

    के–के विवरण बुझाउने त ? 
    हाल अभिलेख जलेर नष्ट भएकाले दैनिक सेवा प्रवाह बन्द रहेको कार्यालयले जनकारी दिएको छ । सेवा प्रवाह पुनः सूचारु गर्न नष्ट भएका जग्गाधनी दर्ता श्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् उपस्थित हुनुपर्नेछ । जग्गाधनीले मालपोतमा बुझाउनुपर्ने विवरण यस्तो छ–

    क. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

    ख. जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गाधनी एकीन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीनपुस्ते फोटो टाँससहितको सिफारिस ।

    ग. जग्गाधनीसँग भएको सक्कल पुर्जा ।

    घ. जग्गा प्राप्तिको स्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति ।

    ङ. प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा ।

    च. चालु आ.व.को मालपोत बुझाएको रसिद ।

    छ. जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति ।

    ज. आवश्यकताअनुसार स्थलगत सर्जमिन ।

    झ. आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना । 

    ञ. गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र ।

    ट. अन्य प्रमाणहरू ।

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १५:५८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij