२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । जेन जी आन्दोलनका कारण भौतिकरूपमा ठूलो क्षति व्यहोरेका चौधरी समूह (सीजी) ग्रुपले आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ ।
सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् । यो आफूहरूको बाचामात्र नभएर गहिरो कर्तव्य र श्रद्धा भएको उनको भनाइ छ ।
यसका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न पनि सीजीले अनुरोध गरेको छ ।
‘आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछौँ । उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ । यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ’, उनले भनेका छन् ।
निर्वाणले थपेका छन्, ‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ ।’
निर्वाणले यसअघि आन्दोलनकारीले निवासदेखि उद्योग, शोरुमसम्म गरिएको लुटपाट, तोडफोड र आगजनी गरेपनि आफूहरूको सपना जिउँदै रहेको भन्दै उच्च मनोबल देखाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij