२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । लुम्बिनी प्रदेशमा दसैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन् । असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा १४८ जना गम्भीर घाइते र ५८७ जना साधारण घाइते भएको नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका डीएसपी दीपेश बस्यालले बताएका छन् ।
मृत्यु हुनेमा पुरुष १२ जना, महिला ७ जना र बालबालिका ३ जना छन् । गम्भीर घाइते हुनेमा पुरुष ९६ जना, महिला ३२ जना र बालबालिका १९ जना रहेका छन् । प्रहरीका अनुसार साधारण घाइतेतर्फ ३७४ जना पुरुष, ४८ जना महिला र ७७ जना बालबालिका रहेका छन् ।
नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दसैँको १४ दिनको अवधिमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देही जिल्लामा भएको छ । डीएसपी बस्यालका अनुसार रुपन्देहीमा १३५ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते र ११९ जना साधारण घाइते भएका छन् ।
पाल्पा जिल्लामा २३ सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यी दुर्घटनामा एक जना गम्भीर घाइते र ४० जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । पूर्वी रुकुममा एक सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते र एक जना साधारण घाइते भएका छन् ।
गुल्मीमा १९ सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते र २३ जना साधारण घाइते भएका छन् भने यस्तै अर्घाखाँचीमा १० वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते र २८ जना साधारण घाइते भएका छन् ।
यस्तै बाँके जिल्लामा ९९ सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १६ जना, साधारण घाइते १४० जना भएका छन् । यस्तै नवलपरासी जिल्लामा ५० सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाइते र ५७ जना साधारण घाइते भएका छन् ।कपिलवस्तु जिल्लामा ४४ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनका साथै २६ जना गम्भीर घाइते र ६३ जना साधारण घाइते भएका छन् ।
बर्दिया जिल्लामा ९३ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५५ जना गम्भीर घाइते भएका छन् । यहाँ ५३ जना सामान्य घाइते भएका छन् । दाङमा ५० सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १९ जना र साधारण घाइते ३७ जना भएका छन् ।
प्युठानमा १३ वटा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते, १४ जना साधारण घाइते भएका छन् । रोल्पामा ७ वटा सवारी दुर्घटना हुँदा १३ जना साधारण घाइते भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij