Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज दिनभरको १५ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको १५ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 1.2K
    Shares

    आज दिनभरको १५ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न माओवादी केन्द्रको आह्वान

    नेकपा (माओवादी केन्द्र) ले विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टीले यस्तो आह्वान गरेको बताउनुभएको हो । उहाँकाअनसार देशभर आएको भारी वर्षाले पु¥याएको क्षतिको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको जिकिर गर्नुभयो । देशभर वर्षाबाट ठूलो जनधनको क्षति भएको र त्यसमा पनि कोशी प्रदेशमा धेरै क्षति भएकोप्रति पार्टी सचेत रहेको बताउनु भयो । राहत उद्धारमा संलग्न पार्टीका वाइसिएल लगायत सबैलाई धन्यावाद दिने निर्णय गरेको बताउनु भयो । 

    २. माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छः पुष्पकमल दाहाल

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा हुने बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेसि डाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभ यो । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने बताउनु भयो । 

    ३. नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक शुरु

    नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक शुरु भएको छ । सोमवार दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै मनसुनजन्य विपद् प्रतिकार्यको तयारी र सरकारको भुमिकाबारे पनि छलफल हुने बताइएको छ । देशलाई मनसुनजन्य विपद्ले तहसनहस पारेको बेलामा पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

    ४. दशैँको बिदा सकिएसँगै सिंहदरबारम चहलपहल बढ्दै

    नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) को बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल शुरु भएको छ । सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल शुरु भएको हो । यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो । त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दशैँको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो । अब दशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल शुरु भएको हो । सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम शुरु गरिसकेका छन् । दशैँमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ । 

    ५. इलामका हिमाली गाउँ र इलाम टि—स्टेटसहित गौर र वीरगञ्जमा वर्षाको रेकर्ड ब्रेकः मनसुन अझै सक्रिय

    गत दुई दिनमा नेपालको इलामस्थित हिमाली गाउँमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार गत असोज १७ र १८ गतेको भीषण वर्षाले हिमाली गाउँको यसअघिको वर्षाको रेकर्ड ब्रेक गरेको हो । यसअघि हिमाली गाउँमा ३ सय २० दशमलव ६ मिलिमिटर वर्षा भएको थियो । तर यस वर्ष भने ३ सय ३२ दशमलव ६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताउनु भयो । उहाँकाअनुसार दोस्रो धेरै वर्षा भएको स्थान रौतहटको गौर हो । गौरमा यसअघि ३ सय १ दशमलव ५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३ सय १५ मिलिमिटर वर्षा भएको छ । 

    ६. आज कोजाग्रत पूर्णिमाः यस वर्षको दशैँ सकिँदै

    आज दशैँको अन्तिम दिन । आजबाट यस वर्षको दशैँलाई बिदा गरिँदैछ । कोजाग्रत पूर्णिमाका दिन दशैँलाई बिदा गरी लक्ष्मीलाई स्वागत गरिन्छ । आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा एवं आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात नेपालीहरूको महान चाड बडादशैँ समाप्त हुन्छ । आश्विन शुक्ल दशमीदेखि शुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन समाप्त हुन्छ । बिहानै दशैँघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । 

    ७. अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको छः एमाले नेता बर्तौला

    नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताउनुभएको छ । उहाँले आम नागरिक र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूले पनि त्रास, भय महशुस गरिरहेको बताउनुभएको हो । सरकारको चरित्र र कार्यप्रणालीबाट नागरिकहरूमा भय र अनिश्चितता हट्न नसकेको उहाँको भनाई छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले राजनीतिक अभियन्ता, कार्यकर्ता, नेता वा शुभचिन्तकहरूले स्वतन्त्र रूपमा सत्यको वकालत गर्नुपर्ने बेला डर महशुस गर्नुपर्ने परिस्थिति बनिरहेको दाबी गर्नुभयो । उहाँले दण्डहीनता फैलन नदिने र विधिको शासन कायम हुनुपर्नेमा जोड दिनुभयो । परिभाषित जिम्मेवारीअनुसार राज्यका अंगहरूले निष्पक्ष, स्वतन्त्र र सहज रूपमा काम गर्न पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने उहाँको भनाई छ । 

    ८. वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहन्छौँः केन्द्रिय सदस्य रायमाझी

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य उमेशजंग रायमाझीले आफूहरुले वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहेको बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले यही असोज २६ गतेदेखि बस्ने काँग्रेस केन्द्रिय समितिको बैठकले पार्टीलाई नयाँ ढंगले परिस्कृत गर्ने निर्णय गर्ने जानकारी दिनुभयो । देश हाल प्रतिकुल र पीडादायी अवस्थामा रहेको बताउँदै उहाँले नयाँ चुनौतीको समाधान गर्न पार्टीलाई नयाँ उर्जा र उत्साहका साथ अगाडी लैजाने बताउनु भयो । उहाले जेन—जी आन्दोलनपछि राजनीतिक, सामाजिक र सुरक्षात्मक अवस्थाले मुलुकलाई गम्भीर संकटतर्फ धकेलिरहेको बताउनु भयो । कठिन अवस्थामा देशको जिम्मेवारी मुख्य राजनीतिक दलको रूपमा नेपाली काँग्रेसकै काँधमा आएको उहाँको भनाई छ ।

    ९.शेयर कारोबार सोमवार पनि बन्द

    शेयर कारोबार सोमवार पनि बन्द भएको छ । काठमाडांै उपत्यकाका सबै सार्वजानिक कार्यलयहरु सोमवारदेखि खुलेका छन् । तर नेप्सेले सोमवार पनि शेयर कारोबार बन्द गरेको हो । सरकारले बाढी पहिरोको कारण शनिवार विज्ञप्ति जारी गरी आईतवार र सोमवार सार्वजानिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार आईतवार सार्वजानिक बिदा भएपनि सरकारले आईतवार अर्को सूचना जारी गरी विपद् जोखिम कम भएका जिल्लाहरुमा सोमवारबाट सार्वजानिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमवारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने सोमवार शेयर कारोबार खुलाएन । शेयर कारोबार मंगलवार (असोज २१ गते) देखि मात्रै खुला हुने जनाइएको छ ।

    १०. इण्डोनेसियाको विद्यालय भवन भत्किँदा मृत्यु हुनेको संख्या ३७ पुग्यो

    इण्डोनेसियाको पूर्वी जाभा प्रान्तमा विद्यालय भवन भत्किँदा मृत्यु हुनेको संख्या ३७ पुगेको क्षेत्रीय उद्धार अधिकारीहरूले बताएका छन् । पूर्वी जाभा खोज तथा उद्धार कार्यालयका प्रमुख नानाङ सिगिटले कार्यालयद्वारा जारी विज्ञप्तिमा पीडितहरू भग्नावशेषमुनि पुरिएकाले उत्खनन कार्य चुनौतीपूर्ण भएको बताएका छन् । करिव २५ जना अझै बेपत्ता छन् र मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । सिदोआरजो जिल्लाको बहुमंजिला अल खोजिनी इस्लामिक बोर्डिङ स्कूलको एक भाग गत सोमवार अनधिकृत मर्मतसम्भारको क्रममा भत्किएको थियो । 

    ११. कायरो सम्झौता अब मान्य छैनः इरान

    इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राष्ट्र संघको आणविक निगरानी निकायसँगको सहकार्य पुनः शुरु गर्ने हालैको सम्झौता अब द्विपक्षीय सहकार्यको आधारको रूपमा काम गर्न नसक्ने बताउनुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै अराघचीले स्न्यापब्याक संयन्त्रको कार्यान्वयनले परिस्थितिहरू परिवर्तन गरेको उल्लेख गर्नुभयो । नयाँ परिस्थितिको सामना गरिरहेको उहाँँको भनाइ छ । सेप्टेम्बरमा इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी इरानको सुरक्षा र सुरक्षा चिन्ताहरूलाई सम्बोधन गर्न सहयोगको नयाँ ढाँचामा कायरोमा सम्झौतामा पुगेका थिए । 

    १२. किर्गिस्तानको सुलेमान–टू पर्वत आकर्षणको केन्द्र बन्दै

    किर्गिस्तानको दोस्रो ठूलो शहर ओशमा अवस्थित सुलेमान–टू पर्वत पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । यसको विशिष्ट आकर्षण र पौराणिक आकर्षणको लागि स्थानीय र पर्यटकहरूले अत्याधिक मन पराएका छन् । २००९ मा, सुलेमान–टू पर्वतलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो । पछिल्लो समय पर्वत हेर्नका लागि आन्तरिक मात्र नभइ विदेशी पर्यटकहरुको पनि आकर्षण बढ्दै गएको बताइएको छ । 

    १३. मुथारिकाद्वारा मलावीको राष्ट्रपतिको शपथ ग्रहण

    मलावीका राष्ट्रपति पिटर मुथारिकाले देशको दोस्रो ठूलो शहर ब्लान्टायरमा शपथ ग्रहण गर्नुभएको छ । आफ्नो उद्घाटन भाषणमा भ्रष्टाचार विरुद्ध चेतावनी दिनुभयो । भ्रष्टाचार र लुटपाटको समय सकिएको बताउँदै यो आफ्नो अन्तिम चेतावनी भएको मुथारिकाले बताउनु भयो । उहाँले सेप्टेम्बर १६ को राष्ट्रपति चुनावमा विजय हासिल गरेपछि आफ्नो भाषणमा यस्तो बताउनुभएको हो । उहाँले आफू नयाँ दृष्टिकोण र नयाँ एजेण्डा लिएर फर्किरहेको बताउनु भयो । मलावीवासीहरूले लामो समयदेखि चाहेको परिवर्तन ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

    १४. सिरियाका संक्रमणकालीन अधिकारीहरूद्वारा नयाँ व्यवस्थापिकाको लागि मतदान

    सिरियाका संक्रमणकालीन अधिकारीहरूले आईतवार पूर्वराष्ट्रपति बसर अल–असदको पतन पछि देशको पहिलो संसदीय चुनाव शुरु गरेका छन् । जनसभा चुनावको लागि उच्च समितिकाअनुसार २ सय १० सिट भएको जनसभाको लागि स्थानीय निर्वाचन निकायका सदस्यहरूले आफ्नो मतदान गर्न अधिकांश प्रान्तहरूमा स्थानीय समयअनुसार बिहान ९ बजे मतदान केन्द्रहरू खोलिएका छन् । समितिका प्रवक्ता नवर नजमेहले मतदान समाप्त भएपछि मतपेटिकाहरू सार्वजनिक रूपमा खोलिने र सोही दिन प्रारम्भिक नतिजा घोषणा गरिने बताउनु भयो । अर्को हप्ताको शुरुमा अन्तिम नतिजा आउने अपेक्षा गरिएको छ । 

    १५. बाढी–पहिरो प्रभावित परिवारलाई शुद्ध खोनपानी र स्वच्छ खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको अपिल

    गत शुक्रवार र शनिवारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट विस्थापित भएका परिवारहरूलाई शुद्ध खानेपानी र स्वच्छ खानाको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तह र सरोकारवालासँग सहकार्य गर्न आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विपद्पछि निम्तिने स्वास्थ्य जोखिमहरू रोक्न सरोकारवाला सबैलाई सक्रिय भुमिका खेल्न आह्वान गर्नुभएको हो । सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले बाढी, डुबान र पहिरोजस्ता विपद्पछि पानीमा डुब्ने, पानीमा बग्ने तथा करेन्ट लाग्ने जस्ता तत्कालीन समस्याहरूको समाधानमा सरकार सक्रिय रहेको उल्लेख गर्नुभयो । उहाँले विपद्का कारण आउने दीर्घकालीन स्वास्थ्य जोखिमतर्फ सबै सचेत रहन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले विपद्पछिको खानपानका कारण स्वास्थ्यमा पर्नसक्ने नकारात्मक प्रभावहरु कम गर्न तथा प्रकोपहरु फैलिन नदिन भाइबर ग्रुप र सामाजिक सञ्जालमार्फत जेनचेतनामूलक सामग्रीहरु प्रशारण तथा प्रकाशन गरिरहेको पनि बताउनु भयो । -न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन २० २०८२ सोमवार - २१:०७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij